जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्लास्टिक सामग्रीको प्रयोग बढेसँगै माटोका भाँडा लोप हुँदै

तनहुँ – बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहज रुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो ।

आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटमा लामो समयदेखि माटोका भाँडा बनाउँदै आएका चन्द्रकृष्ण प्रजापतिले आधुनिकता तथा सहजताका कारण प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटाको भाँडा प्रयोग गर्ने घटेको बताए । पुर्ख्यौली पेसा भएकाले अहिलेसम्म छाड्न नसकेको उनको भनाइ छ ।

“पछिल्लो समय प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको छ । अहिले धेरै व्यापार घटेको छ । पेसा नै लोप हुन्छ की भन्ने चिन्ता छ ।”

प्रजापतिको परिवार २०४३ सालमा भक्तपुरको ठिमीबाट बसाइँसराइ गरी तनहुँ आएको थियो । बाबु चन्द्रबहादुर प्रजापतिसँगै तनहुँ आएका उनले छ वर्षको उमेरदेखि नै माटाका भाँडा बनाउन सिकेका थिए ।

माटाका भाँडा बिक्री गरी हाल वार्षिक रू पाँच लाखसम्म आम्दानी हुने गरेको प्रजापतिले सुनाए । उनका अनुसार निर्माण गरिएका भाँडा तनहुँका साथै लमजुङ र गोरखामा समेत बिक्री हुँदै आएको छ ।

माटोका भाँडा बनाउने भट्टाबाट रक्सी पार्ने हण्डा, मकै भुट्ने हाडी, पानी राख्ने भुड्का, गाग्री, घैँटा, धुपौरे, खोतउली, फूलका गमला, आरी, डुगुल्की, सुराइ, खुत्रुक्के, कमलदानी, कलश, पाला, दियोलगायत सामग्री बन्दै आएको छ ।

हाडीप्रति गोटा रू दुई सय, गमलाप्रति दर्जन रू नौ सय, गाग्री रू एक सय ५०, आरी रू दुई सय, खुुत्रुक्के रू एक सय ५०, धुपौरे रू ६० मा बिक्री हुने गरेको प्रजापतिले जानकारी दिए । भाँडा तयार गर्नका लागि गोरखाबाट प्रतिट्याक्टर चिम्ट्याइलो माटो रू १५ हजारमा खरिद गर्ने गरेको उनले बताए ।

प्लास्टिकका भाँडा प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने र वातावरणसमेत प्रदूषित हुने भएकाले माटोका भाँडा प्रयोग गर्नुपर्ने प्रजापतिको सुझाव छ ।

“भट्टामा माटो पेल्ने तथा भाँडा बनाउने मेसिन र पोल्ने भट्टा निर्माण गरी पेसालाई निरन्तरता दिँदै आएको छु । म यो पोमा सन्तुष्ट छु”, प्रजापतिले भने। स्थानीय सरकारले केही आर्थिक सहयोग गरिदिए व्यवसायलाई आधुनिक बनाउने योजना रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?