बालबालिकालाई निमोनिया भएको कसरी थाहा पाउने ?

काठमाडौं – अहिले चिसोको समय छ, चिसो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । चिसो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई रुघाखोकी, झाडापखाला, निमोनियाजस्ता समस्या देखिने गर्छ ।

निमोनिया छाती वा फोक्सोमा संक्रमण बढ्दा हुन्छ । निमोनिया भएपछि खोकी, ज्वरो र सास फेर्न गाह्रो हुने संकेत देखिन्छ । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्ने भए पनि नवजात शिशु र साना बालबालिकामा यो गम्भीर हुन सक्छ ।

बालबालिकाले आफ्नो समस्या खुलेर बताउन नसक्ने भएकाले निमोनियाको लक्षण अभिभावकहरूले ख्याल गर्नुपर्छ । बच्चामा निमोनिया भएको छ र समयमा उपचार भएन भने समस्या जटिल बन्न सक्छ ।

किन हुन्छ निमोनिया ?

जन्मिंदा आवश्यक खोप नपाएका बालबालिकालाई निमोनिया हुने सम्भावना बढी हुन्छ । साथै बालबालिकामा निमोनियाका धेरैजसो केसहरू ब्याक्टेरिया वा भाइरल संक्रमणका कारण हुने गर्छ ।

बच्चा र वृद्धवृद्धाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यसैले पनि निमोनियाको समस्या हुन्छ । बाहिरी तथा भित्री वायु प्रदूषण भएको ठाउँमा बच्चा लामो समय बस्छन् भने त्यसले पनि निमोनिया हुन्छ ।

बच्चाको श्वासनलीमा अवरोध भएमा जन्मजात दोष भएमा निमोनिया हुन सक्छ । लामो समयदेखि रुघा लागिरहने बच्चामा पनि निमोनियाको समस्या देखिन सक्छ ।

बालबालिकालाई सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र बच्चाले छिटोछिटो श्वास फेर्दछ भने निमोनिया भएको शंका गरिन्छ। एक वर्ष भन्दा सानो बच्चाले एक मिनेटमा ६० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। दुई वर्ष भन्दा मुनिको बच्चाले ५० पटक भन्दा कम श्वास फेर्नुपर्छ र दुई वर्ष भन्दा माथिको बच्चाले ४० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। शिशुले छिटोछिटो श्वास फेर्यो भने निमोनिया भएको शंका गर्न सकिन्छ।

कस्ता बच्चाहरुमा बडी निमोनियाको जोखिम हुन्छ ?

  • कुपोशित बच्चाहरु
  • निम्न वर्गिय परिवारका बच्चाहरु
  • धुवा, धुलो फोहोरमैला र प्रदुषित वातावरणमा बस्ने बच्चाहरु

रोकथाममा उपायहरु

  • सकेसम्म बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउने
  • बच्चालाई ६ महिनापछि आमाको दूधका साथै पोषिलो खानाको मात्रा पुर्‍याएर खुवाउने
  • सरसफाइमा ध्यान दिने
  • घरभित्र हुने धुवाँ–धुलोबाट बच्ने
  • खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्ररी हात धुने
  • पोषिलो खानेकुरा खुवाएर बालबालिका तथा वृद्धवृद्धाको रोगप्रतिरोधात्मक क्षमता बढाउने
  • चिकित्सकसँग परामर्श गरी खोपको प्रयोग गर्ने

उपचार
ब्याक्टेरियाले गराउने निमोनियामा चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटीकको प्रयोग गर्नुपर्ने हुन्छ। तर कतिपय स्थानमा चिकित्सकसँग परामर्श नगरी भाईरल निमोनियामा पनि औषधि पसलबाटै अनावश्यक एन्टिबायोटीक प्रयोग गर्ने गरेको देखिन्छ। यसले स्वास्थ्यमा थप समस्या बढ्दै गइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?