जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

होली विशेष

सेतो पहिरनमा खुल्दै गएको फागु पूर्णिमा

‘होलीले मेरो रङ्गायो नयाँ चोली’‍‍……..

तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समय सन्दर्भ सुहाउँदो थियो। अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ। अहिले चोली लगाउने चलन हराउँदै गएको छ। होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन्।

बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको घुइँचो छ। 

होली पर्वका लागि टिसर्ट किन्न बानेश्वर आएकी विमला कोइरालाले घरका सानादेखि ठुलालाई मिल्ने टिसर्ट रोजिन्। उनले भर्खरै छ महिना भएकी काखे छोरीका लागि मिल्ने होली टिसर्ट खोज्दै थिइन्।

‘सबैलाई हुने किसिमका पाए पनि सानी छोरीलाई हुने भेटाइन’, कोइरालाले भनिन्, ‘टिसर्ट लाएपछि मात्रै होली आएको अनुभूति हुन्छ।’

भृकुटीमण्डपको कपडा बजार होलीका पहिरनले भरिभराउँछ। युवा पुस्ताले टिसर्ट नै मन पराउँछन् भने बुढापाकाले कुर्था रोज्ने गरेका व्यापारी अशोक भट्टराईले बताए। प्रत्येक होली पर्वमा सेता पहिरन बेचेर प्रशस्त आम्दानी गर्न सकिने उनको भनाइ छ।

कक्षा ११ मा पढ्दै गरेकी कोटेश्वरकी ममता चाम्लिङको मन पर्ने पर्व हो, होली। हाफ जिन्समा टिसर्ट लगाएर साथीसङ्गीहरुसँग रङ्गिन, रङ दल्न र नाचगान गर्न उनी निकै रुचाउँछिन्। 

अरू बेला बोल्दै नबोल्ने साथी होलीमा खुसी हुँदै रङ लगाउन आउने भएकाले यो पर्व विशेष र रमाइलो लाग्ने चाम्लिङले बताउँछिन्। उनले भनिन्, ‘रङ खेल्दा नयाँ साथी बनाउने मौका पनि मिल्छ।’

बबरमहल बस्ने २४ वर्षीय आयुष्मा साहको स्थायी घर सिराहा हो। तराईमा होली सोमबार परेकाले उनले यो पर्व मनाउन घर जान लागेको सुनाइन्। 

घरमा सकेसम्म छोरीले कुर्था नै लगाउने चलन रहेकाले टिसर्टको विकल्पमा सेतो कुर्था किन्ने योजना बनाएको उनले सुनाइन्। ‘काठमाडौँमा टिसर्ट बढी किन्छन्। हामी कुर्था रोज्छौँ। उता अलि सस्तो पर्ने भएकाले घरबाटै किनिदिनुहुन्छ’, उनले भनिन्।

बागबजारका कपडा व्यापारी भुवन क्षेत्रीले होली लक्षित टिसर्ट प्रिन्टको माग अत्यधिक बढेको सुनाए। एक सातामा दैनिक तीनदेखि चार हजार होली लेखिएका टिसर्ट प्रिन्ट गर्ने गरिएको उनको भनाइ छ।

‘माग अनुसारको अझै उत्पादन गर्न सकेका छैनौँ’, भुवनले भन्छन्, ‘होलीको दिनसम्म यस्ता सेता टिसर्टको मागसँगै व्यापार हुन्छ।’ नेवारी, तामाङ, अङ्ग्रेजी, नेपालीलगायत भाषामा अक्षर तथा सङ्केत टिसर्टमा प्रिन्ट गर्ने गरेको उनले बताए। ‘नेवार संस्कृति झल्किने र ‘हेप्पी होली’ लेखिएका टिसर्ट खोज्दै धेरै आउनुहुन्छ’, उनले भने, ‘सकेसम्म सबैको चित्त बुझाएर बजारमा सामान पठाउने गरेका छौँ।’

होली र पहिरनको मनोविज्ञान कहाँबाट आयो ?

होली र पहिरनको मनोविज्ञान कहाँबाट आयो भन्ने ठ्याक्कै भन्न नसकिए पनि पछिल्लो पुस्ता सेतो कपडामा रङ्गीविरङ्गी रङ पोख्न रुचि राख्छन्। संस्कृतिविद् धिरेन्द्र प्रेमर्षिले होलीमा सेतो कपडा खोज्नु भनेको चित्र र क्यानभाससँगको भाव समेटिएको बताए।

 ‘जसरी कुनै सेतो क्यानभासमा अनेक रङका आकृति खुल्छन्, उसैगरि होलीमा सेतो पहिरनले रङ भर्न सहज हुन्छ। यसका लागि नयाँ टिसर्ट वा कुर्था नै चाहिन्छ भन्ने चाहिँ छैन’, उनले भने।

नयाँ नै खोज्नु भनेको पुँजीवाद समाजको प्रभाव रहेको प्रेमर्षिको बुझाइ छ। बाल्यकालको सम्झना गर्दै उनले भने, ‘हामी सानो छँदा नयाँ लुगामा रङ्ग लाग्छ भनेर होलीमा फाटेका र पुराना लुगा लगाउँथ्यौँ।’ अहिले समाज चाहिनेभन्दा बढी देखासिकीमा रमोलिएको उनको भनाइ छ।

सेतो रङको लुगामा होली खेलिनु ठिकै हो भन्दै नयाँ खरिद गर्नै पर्ने बाध्यकारी संस्कृति हुन नहुने प्रेमर्षिले बताउँछन्। पछिल्लो समय चलचित्रहरूले होलीमा सेतो पहिरन नै लगाउनुपर्छ भन्नेतर्फ प्रोत्साहन दिएको उनको धारणा छ। होली पर्व अर्को अर्थमा रङहरूको समानता र एकताको प्रतीक समेत रहेको प्रेमर्षिले बताए। ‘होली पर्वले रङमा समानता महसुस गराउँछ’, उनले भने।

होली पर्वका बारेमा थुप्रै मिथक छन्। हिन्दु धार्मिक कथनअनुसार युवा अवस्थाका चुलबुले कृष्णले एक दिन झुक्क्याएर राधाको मुहारमा रङ दलिदिएछन्। रङ लगाउँदा भाग दौड भएछ। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्ती छ। 

अर्को कथन विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?