जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शताब्दी घरमा एक्काइसौं शताब्दीको चर्चा

पर्वत- कुश्मा कला परियोजना अन्तर्गत पर्वत कुश्मास्थित तीन सय वर्ष पुरानो ’शताब्दी घर’मा शनिबार एक्काइसौं शताब्दीमा मानव, प्रकृति र सिङ्गाे मुलुकमाथि नै कस्ताे प्रभाव र निगरानी बढिरहेकाे भन्ने सन्दर्भमा चर्चा गरिएकाे छ ।

’शताब्दी घर’मा शनिवार साहित्य, सञ्चार तथा लेखन क्षेत्रका विज्ञहरुबीच एक्काइसौं शताब्दीकै केन्द्रमा लेखक-अनुवादक रोहेज खतिवडाको अनुवाद-सम्पादनमा प्रकाशित किताब ‘एक्काइसौँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमाथि नै रहेर चर्चा तथा विमर्श गरिएको थियाे।

पुस्तक प्रभावशाली लेखक तथा चिन्तकहरुले लेखेका १० अङ्ग्रेजी लेखलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो । पुस्तककै सेराेफेराेमा रहेर लेखक खतिवडा र दीपक सापकोटाले परिचर्चा गरेका थिए ।

वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले गरिरहेको संघर्षका बारे सहजकर्ता पत्रकार सापकोटाको प्रश्नमा खतिवडाले यी दुवै समानान्तर रेखामा अगाडि बढ्ने भए तापनि हामीले स्वतन्त्रतालाई थप समृद्ध बनाउन प्रयास गरिरहनुपर्ने बताए । इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको यस पुस्तकमा हरारी, यानिस भारुफाकिस, अरुन्धती रोगलगायतका निबन्ध समावेश छन्।

कुश्मा कला परियोजनाका अध्यक्ष तथा कालीगण्डकी बचाऊ अभियानका अभियन्ता आरके अदीप्त गिरीले भने, ‘कृत्रिम बौद्धिकतामा हुने क्रान्तिका कारण वर्गहरुबीचमा मात्र होइन, देश-देशबीचको असमानता पनि अकल्पनीय रुपमा बढिरहेको सन्दर्भमा सामाजिक रूपान्तरणका लागि हामी बौद्धिक विमर्शका यस्ता कार्यक्रमा आगामी दिनमा पनि गरिरहनेछौँ।’

कार्यक्रमको दोस्रो सत्रमा पत्रकारिता र काव्य कर्मलाई सँगै डोर्याउँदै आएका कवि देवव्रतको कविता वाचन भएको थियो। उनले आफ्नो कविता किताब ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’बाट ‘हामी’, ‘कोठा’, ‘कर्णाली’ लगायत कविताहरू वाचन गरेका थिए। ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ पत्रकार/कवि देवव्रतको पहिलो कविता–किताब हो, जहाँ ३८ थान कविता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?