जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के हो माङ्गलिक दोष ? कसरी भङ्ग हुन्छ वा समाधान के ?

काठमाडौँ – जन्म कुण्डलीमा माङ्गलिक योग छ भने बित्तिकै तर्सिने हाम्रो बानी छ ।

यसले वैवाहिक सम्बन्ध बिग्रिन्छ नै भन्ने मानिन्छ छ भने विवाह भइसकेका दम्पतीको जीवनमा कलह, झैझगडा उत्पन्न भएमा केही ज्योतिषीहरूले माङ्गलिक योगका कारण भएको दाबी गर्छन् ।

माङ्गलिक योगको उचित व्याख्या र परामर्श दिँदैनन् । कतिपय ज्योतिषीले अवसरको फाइदा उठाउँदै कमाइ खाने भाँडो समेत बनाउने गरेको पाइन्छ ।

तर माङ्गलिक योग छ भन्ने सुन्ने बित्तिकै हामी आत्तिनु र झस्किनु आवश्यक छैन । किनभने ज्योतिष शास्त्र अनुसार माङ्गलिक योग अशुभ योग होइन ।  तर जन्म कुण्डलीमा माङ्गलिक दोष छ भने विचार गर्नु भने आवश्यक रहेको ज्योतिषहरू बताउँछन् । 

वैदिक ज्योतिष अनुसार कुण्डलीमा मङ्गल ग्रह जब लग्न, चतुर्थ, सप्तम, अष्टम तथा द्वादश भावमा स्थित हुन्छ भने यसलाई दोषपूर्ण मानिन्छ । कसैले द्वितीय भावमा कुटुम्ब भावमा भएको मङ्गलको उपस्थितिलाई पनि दोष मान्छन् ।

विशेष गरी अष्टम स्थानको मङ्गलले  वैवाहिक जीवनको सुखलाई खाई दिने मानिन्छ ।  अष्टमस्थ मङ्गल मानसिक पीडा एवं कष्टकारक हुन्छ ।

जीवनसाथीको सुखमा बाधक हुन्छ र धन भावमा यसको दृष्टि हुनाले धनको हानी तथा आर्थिक सङ्कट हुन्छ, रोगको कारण दाम्पत्य सुखमा अभाव हुन्छ हुने बताइन्छ ।

ज्योतिष विधानको अनुसार यस भावमा बसेको अमङ्गलकारी मङ्गल शुभ ग्रहहरूको पनि शुभत्व दिनबाट रोकावट हुन्छ ।

यस भावको मङ्गल यदि वृष, कन्या, अथवा मकर राशिको भएमा यसको अशुभतामा केही कमी हुन्छ । मकर राशिको मङ्गल भएमा सन्तान सम्बन्धी कष्ट हुन्छ भनिन्छ । 

तर बुझ्न पर्ने के छ भने माङ्गलिक दोष भङ्ग हुने स्थितिहरू पनि छन् अर्थात् कुण्डलीमा माङ्गलिक योग परेको छ भनेर मङ्गल ग्रहको मात्र विचार गरेर चिन्ता लिनुपर्ने देखिँदैन, किनभने :

यामित्रे च यदा सौरिर्लग्ने वा हिबुके तथा ।

नवमे द्वादशे चैव भौम दोषो न विद्यते ।।

यदि जन्म कुण्डलीमा १, ४, ७, ९ र १२ औँ भावमा शनिश्चर बसेको भए मङ्गल दोष लाग्दैन।

न मंगली चन्द्रभृगुर्द्वितीये  न मंगली पश्यति यस्य जीव :।

न मंगली केन्द्रगते च राहौ न मंगली मंगलराहुयोगे।।

अर्थात् चन्द्रमा र शुक्र कुण्डलीको दोश्रो भावमा भएमा, बृहस्पतिले मङ्गल ग्रहलाई देखेमा,राहु कुण्डलीमा १, ४, ७, १० भावमा बसेमा र कुण्डलीमा मङ्गल तथा राहु एकै स्थानमा भएमा माङ्गलिक दोष भंग हुन्छ भन्ने ज्योतिष शास्त्रको मान्यता छ ।

त्यस्तै २८ वर्ष पछि अधिकांश दोष निष्क्रिय हुने भएकाले माङ्गलिक दोष भएका व्यक्तिले यो उमेरपछि  विवाह गर्दा राम्रो हुन्छ ।

त्यस्तै यसको समाधानको लागि पुरुषहरूको अर्क विवाह र महिलाहरूको कुम्भ विवाह, प्रतिमा विवाह त्यसैगरी मङ्गल चण्डी, शत चण्डी, मङ्गल शान्ति, मङ्गल अनुष्ठान, मङ्गलको रत्न धारण, रुद्राक्ष धारण, मङ्गल चौथीको व्रत आदि अन्य ज्योतिषीय उपाय अपनाउन सकिन्छ भन्ने ज्योतिष शास्त्रको मान्यता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?