जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रविधि

एआईको बढ्दो प्रभावले कसरी खोसिँदैछ लाखौँ मानिसका जागीर?

काठमाडौँ– विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येको एक गुगलले केही समयअघि मात्र दुई दशकदेखि काम गर्दै आएका सफ्टवेयर इन्जिनियरहरूलाई जागीरबाट हटायो ।

गुगलले विभिन्न कारण देखाउँदै हार्डवयर, कोर इन्जिनियरिङ र गुगल सहायक टोलीतर्फका सयौँ कर्मचारीलाई कटौती गरेको थियो ।

सो कम्पनीले अझै पनि हजारौँ कर्मचारी कटौती गर्ने तयारी गरेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । स्वयम् गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२३ को अन्त्यमा थप कर्मचारी हटाउने बताएका थिए ।

गुगलले सन् २०२४ सम्म एक हजारभन्दा बढी कर्मचारी कटौती गरिसकेको छ । त्यस्तै उसकै स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ साइट युट्युबले पनि सयौँ कर्मचारी कटौती गरिसकेको छ । युट्युबले क्रियटर व्यवस्थापन र अपरेशन टोलीबाट कम्तिमा एक सयभन्दा बढी कर्मचारी कटौती गरेको जनाइन्छ ।

त्यस्तै चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङको ‘रियोट गेम्स’ ले पनि विश्वभरबाट करीब ११ प्रतिशत कर्मचारी कटौती गरेको छ ।

रियोट गेम्सले आफ्ना कर्मचारीहरुका लागि एक सूचना जारी गर्दै करीब ५ सय ३० रोजगारी कटौती गर्ने बताएको थियो । कम्पनीका सीईओ डेलन जडेजाले कर्मचारीमा लागत बढेकाले कटौती गर्नुपरेको बताएका थिए ।

पछिल्लो समय गुगलसहित मेटा, अमेजन, ट्विच, ह्युमन एआई, युनिटी, डुओलिंगो र टिकटकलगायत टेक तथा अन्य ठूला प्रविधि कम्पनीहरुले आफ्ना विभिन्न तहहरूमा कर्मचारीहरू कटौती गरिसकेका छन् ।

विश्वका ठूला प्राविधिक कम्पनीले कर्मचारी कटौती गर्नुको कारण थप परिष्कृत बनाउन र कोरोना महामारीपछि विश्वभर देखिएको आर्थिक मन्दीलाई कारण बनाइरहेका छन् ।

तर, प्रविधिका कम्पनीले जुनसुकै कारण देखाए पनि पछिल्लो समय बढ्दै गएको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोगले कर्मचारीको माग नै कम हुँदै गएको विश्लेषकहरूको दाबी छ । एआईले छोटो समयमा धेरै काम गर्न सक्ने भएकाले ठूला कम्पनीहरूले त्यस्ता एआईमा आधारित टूलहरू विकास गर्ने र त्यसका आधारमा विश्लेषण गर्ने अभ्यास थालेका छन् ।

केही समयअघिको एक प्रतिवेदनअनुसार कृत्रिम बौद्धिकता भनिने आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) प्रविधिको विकासले विश्वभरबाट ३० करोडभन्दा बढीको रोजगारी नै विस्थापन हुने देखिएको छ । एआईको प्रयोगले प्रविधि कम्पनीका ठूल्ठूला काम पनि निकै सहजताका साथ गरिरहेको छ ।

सूचना प्रविधिका क्षेत्रमा मात्र नभएर हलिउडका एनिमेटर, डिजाइनर र भिडियो सम्पादकको जागीर समेत धरापमा पर्न सक्ने विभिन्न रिपोर्टले देखाइसकेको छ । केही समयअघि ओपनएआईले ‘टेक्स्ट टु भिडियो’ टूल सोरा सार्वजनिक गरेपछि एनिमेटर, भिडियो सम्पादक र भिडियो गेम डिजाइनरको जागीर निकट भविष्यमै धरापमा पर्ने सक्ने आँकलन गरिएको थियो ।

हुन पनि उक्त टूल ‘सोरा’ शब्द लेखेका आधारमा केही छिनमै भिडियो फुटेज तयार गर्न सक्छ । लामो समय लाग्ने काम एआईले छिनभरमा गर्ने भएपछि यसको लोकप्रियता पनि बढ्दै गइरहेको छ ।

एक रिपोर्टका अनुसार सन् २०२२ मा अमेरिकी प्रविधि क्षेत्रका विभिन्न ठूला कम्पनीहरुले करीब ७३ हजारभन्दा बढी कर्मचारीहरु कटौती गरेका थिए ।

एआई प्रविधिले अमेरिका र युरोपमा कामका क्रियाकलापहरुलाई करीब एक चौथाइसम्मले विस्थापित गरी कामको उत्पादकत्वमा ठूलो वृद्धि गर्ने विश्वास गरिएको छ ।

पछिल्ला केही वर्ष यता प्रविधि कम्पनीहरूले एआईका क्षेत्रमा आफ्नो लगानी बढाइरहेका छन् भने विश्वमा यसका फाइदा र बेफाइदाका बारेमा पनि बहस भइरहेको छ । विश्लेषकहरूले पछिल्लो समय परिष्कृत भएर आएका जेनेरेटिभ एआईले निकट भविष्यमा अझ बढी रोजगारी खोसिने बताउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सबै काममा करीब ४० प्रतिशत प्रभावित गर्न सक्ने विश्लेषण गरेको छ । यस्तै प्रविधिले कम आय भएका देशहरूमा भने मात्र २६ प्रतिशत रोजगारीलाई असर गर्ने आईएमएफले जनाएको छ । एआई प्रविधिले मानिसको दिमागले गर्ने सक्ने भन्दा धेरै छिटो काम गर्न सक्छ ।

मानिसमा जस्तै मेसिनमा पनि बौद्धिकता हुने भएकाले यसले ग्राफिक्स डिजाइन, लेखन, सम्पादन, चिकित्सा, विज्ञान प्रविधि, यातायातका साथै निर्माणका क्षेत्रमा समेत एआईले प्रभाव पारेको छ ।

च्याटजीपीटीका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले आगामी १० वर्षमा जुनसुकै क्षेत्रमा पनि विशेषज्ञका रूपमा काम गर्ने च्याटबटहरू हुने बताएका छन् । उनी भन्छन्, ‘आफूलाई चाहिएको विशेषज्ञ चिकित्सक, शिक्षक, वकिल वा जुनसुकै पेशाको व्यक्तिको सट्टा च्याटबटलाई प्रश्‍न सोध्न सक्नुहुन्छ र तिनले तपाईँले चाहेको काम गरिदिनेछन् ।’

| यो पनि पढ्नुहोस्: मेटाभर्सको ‘भर्चुअल’ दुनियाँ: जहाँ तपाईँले घर किन्न, सपिङ गर्न पाउनुहुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?