जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कला

रामबहादुर माझीको पुरानो डुङ्गामार्फत हराउँदै गएको इतिहासको खोजी

काठमाडौँ– सुनकोसी र इन्द्रावतीको दोभानले संकेत गर्छ, काभ्रेपलाञ्चोकको दोलालघाट । दोलालघाटस्थित सुनकोसी र इन्दावती नदीहरु त्यही नजिकै रहेको माझी बस्तीको आय आर्जनको आधार हो ।

त्यही नदीमा माझी समुदायले वर्षौदेखि माछा मार्ने र डुङ्गा खियाउने काम गर्दै आइरहेका छन् । यही नै उनीहरुको पूख्र्यौली पेशा हो ।

यही काम गर्दागर्दै अचेल भने उनीहरु थाकेका छन् । एक त नदीमा माछा पाउन छोड्नु अर्कोतिर नदी दोहनको चपेटामा माझी बस्ती परेको कुरा बेलाबखतमा सुनिरहन्छन् ।

त्यही चपेटामा परेकामध्ये एक हुन्, रामबहादुर माझी । चेपेटामा परेका माझीलाई भेटे कलाकार रवीन्द्र श्रेष्ठले ।

घुमघामका सिलसिलामा पहिलोपल्ट दोलालघाट पुग्दा रवीन्द्रले नदी दोभानमा डुङ्गा र त्यसैलाई खियाइरहेका माझीहरू नजिकबाट देखेका थिए । त्यतिबेला उनी दोलालघाट परिवेशलाई नियालेर फर्किए । उताबाट फर्के पनि उनको मनमा डुङ्गाको आकृति भने अझ गाढा बनेर बसिरहेको थियो ।

खासमा डुङ्गालाई विभिन्न विषय र घटनासँग तुलना गर्दै प्रतिकात्मक कलाका रुपमा उनले प्रस्तुत गर्दै आइरहेका छन् । उनले डुङ्गालाई मानव सभ्यता, यात्रा र सारथिका रुपमा कलामार्फत् परिभाषित गरेका छन् ।

यसअघि पनि उनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘डुङ्गा चिया घर’ शीर्षकमा डुङ्गा प्रतिस्थापन कला प्रदर्शन गरेका थिए । जसलाई कला पारखीहरुले खुबै रुचाएका थिए ।

डुङ्गामै बसेर चिया खाने, पुस्तक पढ्ने, गीतसंगीतको धुनमा रमाउनेदेखि साहित्य र दर्शनसम्मका चिया गफ त्यतिबेला भएका थिए ।

यसभन्दा पनि अघि उनले म्यानमारमा सैनिक ‘कु’ भएपछि मारिएका बर्मेली जनतालाई श्रद्धा अर्पण स्वरुप क्रमशः माइतीघर र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा डुङ्गा कला प्रदर्शन गरेका थिए ।

त्यतिबेला उनले ‘ह्युम्यानिटीः अल वी आर कनेक्टेड’ शीर्षकमा डुङ्गाभरि फूलहरू राखेर आम सहभागीहरूलाई श्रद्धाञ्जली शब्द व्यक्त गर्न लगाएका थिए ।

डुङ्गालाई मानव सभ्यतासँग जोड्न रुचाउने श्रेष्ठले यसपल्ट भने यसलाई संस्कृति र बाल्यकालको सम्झनामा कैद गरेर प्रस्तुत गरेका छन् ।

ललितकला प्रतिष्ठानमै ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ मा डुङ्गा र सिक्का पैसालाई संस्कृति र सम्झनाका रुपमा उनले राखेका छन् । काठका डुङ्गाभरि पुराना सिक्का पैसाहरुमा उनले नेपाली मौलिक परम्परा र आफ्नो बितेका बाल्य संस्मरणहरु ब्युँताएका छन् ।

त्यही काठको डुङ्गा उनले दोलालघाटबाट ल्याएका हुन् । दोलालघाट घुम्न जाँदा देखेको डुङ्गाको आकृतिलाई पछ्याउँदै उनी सुनकोसी र इन्द्रावतीको दोभानमा पुगेका थिए । त्यही पुगेपछि उनले रामबहादुर माझीको सम्पर्क नम्बर फेला पारेका थिए ।

खोलामा माछा मार्न र वारपार गर्ने मान्छे पाउन छोडेपछि रामबहादुरले डुङ्गा बेच्न चाहेको उनले थाहा पाए । उनले खोज्दै जाँदा रामबहादुरलाई फेला पारे ।

उनका अनुसार बाबुबाजेको पालादेखि नै रामबहादुरले डुङ्गा चलाउने काम गर्दै आएका छन् । पछिल्लो डुङ्गा भने उनले तीन/चार वर्ष अघि मात्र बनाए थिए । रवीन्द्रले ४० हजार रुपैयाँ दिएपछि उनले डुङ्गा जिम्मा लगाएका थिए ।

एकदिन उतै बास बसेर काठमाडौंमा डुङ्गा ल्याइपुर्‍याएको रवीन्द्रले सुनाए ।

‘प्रादेशिक ललितकला प्रदर्शनीका लागि डुङ्गा ल्याउनु भन्ने बित्तिकै हामी दोलालघाट पुगेका थियौं,’ उनले भने, ‘पहिला पनि गएको भएर जान सजिलो भयो तर डुङ्गा दिने मान्छे भेटाउन भने साह्रै गाह्रो भयो, डुङ्गा ल्याउन एक रात दोलालघाटतिरै बस्नुपर्‍यो ।’

रवीन्द्रको डुङ्गामा उनको कला, रामहबहादुरको पेशा, सङ्घर्ष र सपना मात्र जोडिएका छैनन् । त्यहाँ आधुनिकीकरणले मारमा पर्दै गएको परम्परागत प्रणाली, पेशा र सम्पूर्ण मानव जीवनलाई इंगित गर्छन् ।

त्यसैमा भरिएका पुराना सिक्काहरुले त झनै लोपोन्मुख नेपाली संस्कृतिको प्रतिबिम्वित गर्छ । डुङ्गाभरि छरिएका पाँच, दश, २५ पैसाका सिक्काहरु देखाउँदै रवीन्द्र भन्छन्, ‘यही सिक्काहरु लिएर हामी सानोमा चकलेट, चङ्गा र खानेकुरा किन्न जान्थ्यौं, अहिलेको नयाँ पुस्ताले यस्तो पैसा देखेकै छैनन् ।’

हराउँदै गएको कुरालाई सम्झनाकै रुपमा ताजा बनाउन कलाको रुपमा ल्याइएको उनले सुनाए । जतिबेला यातायातको लागि मार्ग र साधन थिएन, त्यतिबेला मानवसँग डुङ्गाको सम्बन्ध निकै गाढा थियो । अहिले जसरी माझिहरुबाट डुङ्गाको साइनो टाढिँदै छ, त्यसरी नै मानव मानसपटलमा डुङ्गा र सिक्काजस्ता हजारौं मूल्यवान संस्कृतिहरु हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

डुङ्गाबाट तरेका मानिसहरु सातसमुन्द्र पार गरेपनि डुङ्गा खियाउने माझीहरुलाई कसैले सम्झँदैनन् । यही बहावमा हाम्रा संस्कृतिहरु लोप हुँदै गइरहेको उनलाई लाग्छ । यस्ता पक्षलाई सचेत नागरिककै दायित्वमा कला मार्फत् उजागर गर्दै संरक्षण गर्नुपर्ने उनको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?