जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएका छन् । 

नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । 

कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लागेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए । 

चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुत्केरो परेकालाई छुन नहुने, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए । 

यसअघि नौ पटक जिब्रो छेडाएर जात्रा चलाएका उनले  जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताए । जिब्रो छेड्न तयार भएका युवक सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रा जोगाउन आफू यस वर्ष पनि जिब्रो छेड्न तयार भएको प्रतिक्रिया दिए । 

सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा म उहाँसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, त्यो मौका गत वर्ष जुर्‍यो, यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे देश घुम्नेछु ।”

जात्राअघि चैत २७ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।

जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवी–देवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने चलन छ ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महाद्वीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाइन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?