जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शुरु भयो विवाहित छोरीले माइतीसँग बह बिसाउने ‘पुतला खेल’

टीकापुर – विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ शुरु भएको छ । 

यहाँका महिलाहरूको यो महत्त्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ । रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन् । 

पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि भोगेको पीडालाई माइतीसँग गीतमार्फत पोख्ने महत्त्वपूर्ण मौलिक परम्परा भएको बताइन।

विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट अभिव्यक्त हुने पुतला खेलमा महिलाले छिटको फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो समाएर सामूहिक रूपमा पङ्क्तिबद्ध भएर गीत गाउँदै पैताला मिलाउँदै नाच्ने गरिन्छ । 

पुतलासँगै महिलाहरूले न्याउल्या खेल पनि खेल्ने गर्छन् । सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक वेशभूषा लुकेकाले यस्ता संस्कृतिलाई जोगाउन आवश्यक भएको स्थानीय गङ्गाराम आचार्य बताउँछन्।

 ‘‘पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ’’, उनले भने , ‘‘स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्छ ।’’

जनश्रुतिअनुसार अछाम र बाजुराको सङ्गम स्थलमा परापूर्व कालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा पुतला नाच शुरु गराएका हुन् । 

मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झँदै पुतला खेल्न लगाएका थिए । त्यो परम्परा अद्यापि कायम रहेको पुतला खेल्दै आउनुभएकी चन्द्रा भण्डारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?