जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जेबी दर्लामी भन्छन्, ‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ’

काठमाडौँ– काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ भर्खैरै सार्वजनिक भएको छ । नेपालय पब्लिकेशनले प्रकाशन गरेको कृतिको हालै सार्वजनिक गरिएको हो ।

विमोचन समारोहमा भावुक हुँदै उनले पब्बिकेशनप्रति आभार व्यक्त गरे । अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले उपन्यास लेख्दाको अनुभव बाँडे ।

‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ,’ उनले भने, ‘मैले केही भोगेको, केही देखेको र केही महसूस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ ।’

लेखक जेबी दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन् । यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची शोधमूलक पुस्तक प्रकाशित छन् ।

लेखक दर्लामीले आफ्नो उपन्यासको कथा–कालमा जन्मिएकी ईभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो ।

काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ईभा काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मे–हुर्केको पुस्ताहरूको हो भन्ने प्रतीकात्मक संकेत पनि थियो ।

नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन् ।

‘समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन’, पठन अनुभव सुनाउँदै ईभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने ? हामी कहाँबाट आयौँ ? अहिले कहाँ छौँ ? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ ।’

आमाबुवाको पढाइको सिलसिलामा बाल्यकाल देशबाहिर बिताएकी र स्वदेश फर्केपछि नेपाली बोल्दा शिक्षालयहरूमा कारबाही भोग्नुपर्ने समयमा हुर्केकी ईभाले विमोचन कार्यक्रममा भनिन्, ‘नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्यो, तर मलाई यो उपन्यासको मीठो भाषाले बोलायो, हात समातेर सँगसँगै डोर्‍यायाे, हाम्रो देशको वास्तविक धड्कन सुनायो ।’

‘घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ ।’ द्वन्द्वकालमा केही समय प्रत्यक्ष सरिक हुन पुगेका दर्लामीको यो कथावाचनलाई ‘फस्र्ट पर्सन अकाउन्ट’का रुपमा महसूस गर्न सकिन्छ ।

‘नेपाली समाजको संघर्ष, सपना र यथार्थ चित्रण गर्ने आख्यान वा गैरआख्यान दुवै विधाका पुस्तक हामीले प्रकाशन गर्दै आएका छौँ, पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘मारीखोलाको ढुंगो जस्तो सुन्दर उपन्यासले हाम्रो प्रकाशन सूचीलाई थप सबल बनाएको छ ।’

सशक्त कथासँगसँगै कथावाचन गर्ने कौतूहलपूर्ण शैलीले उपन्यास विशिष्ट बनेको उनको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?