जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाली नाटकको विचारधारामाथि विमर्श

काठमाडौँ– नेपाली नाटकको यात्रा कहाँसम्म पुग्यो, कस्ता नाटकहरु आए र तिनले कस्तो विचारधारा बोकेर ल्याए भन्ने सन्दर्भमा नेपाली नाटकको विचारधारामाथि विमर्श गरिएको छ ।

आइतवार नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरिएको विचार विमर्शमा प्रतिष्ठानकी कुलपति निशा शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नाटक विधामा नै विधावारिधि गरिरहेकी भारती न्यौपाने, डा.अशोक थापा, केशव अधिकारी लगायतकाले नाटकमाथि चर्चा परिचर्चा गरे ।

डा.थापाले ‘नेपाली नाटकको विचारधारात्मक प्रश्न’ विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले नेपाली नाटकको पृष्ठभुमिको संक्षिप्त चर्चा गर्दै आध्यात्मिकता, प्रगतिशीलता, माक्र्सवादी विचार, मनोवैज्ञानिकता, नारीवाद, अस्तित्व–विसङ्गतिवाद, उत्तरआधुनिक लगायत विचारधाराहरु कसरी नाटकमा प्रवेशमा आए भन्नेबारे चर्चा गरे ।

यसलाई उनले शुरुवाती चरण मात्र भएकोले यसैमा आधारित रहेर ग्रन्थ पुस्तक निकाल्ने जमर्काे गरिएको सुनाए ।
उनको कार्यपत्रमाथि नाटक विषयकै अध्ययन तथा अनुसन्धान गरिरहेका न्यौपाने र अधिकारीले टिप्पणी गरे ।

दुवैले समग्र विचारधाराभन्दा पनि विशिष्टकृत विषयमा साघुँरो बनाएर अनुसन्धान लेखन कार्य अगाडि बढाउन सुझाव दिए । उपस्थिति रंगकर्मीहरु राजेन्द्र रिमाल, आशान्त शर्मा, केदार श्रेष्ठ, प्रभाकर न्यौपाने, गोविन्द सुनार लगायतकाले अहिले चलिरहेको नेपाली रंगमञ्च र यसको आर्थिक पाटोको संघर्षलाई गौण रुपमा हेर्नुपर्ने बताए ।

ललितकला प्रतिष्ठानका कुलपति हार्तम्छालीले पनि नेपाली समाज र युग अनुसार विचार धाराहरु निर्माण र अध्ययन हुनुपर्ने धारणा राखे । कुलपति शर्माले नेपाली समाजको परिपक्ष अनुसार नेपाली नाटकहरुको विचारधाराहरु जन्मेको सुनाउँदै सबै कुरा समयको मागअनुसार आउने बताइन् ।

‘समय अनुसार सबै लेखकहरुको मस्तिष्क र कलम चलिरहेको छ,’ उनले भनिन्, ‘वातावरण हेरेर नाटकको विचार धाराहरु पनि बदलिँदै गए । सबै कुरालाई हेरेर त्यसलाई हामीले अनुसन्धान र व्याख्या गर्नुपर्छ ।’

यसलाई शुरुवाती चरणका रुपमा लिँदै उनले यस कार्य पूरा हुन २० औं वर्ष लाग्न सक्ने सुनाइन् । आगामी दिनमा यस्ता बहस तथा छलफललाई निरन्तरता दिने उनले प्रतिबद्धता समेत जाहेर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?