जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गुरुङले मनाउने ट्होटेँ पर्व के हो ?

गण्डकी – यहाँका गुरुङहरुले आज हर्षबढाइँका साथ ट्होटेँ पर्व मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मंगलबार गुरुङ ‘तमु’ समुदायमा यो पर्व मनाइन्छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप ट्होटेँ पर्वको सुरुआत भएको तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङले बताए ।

उनका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिइन्छ । “कबिला कालदेखि नै तमु ‘गुरुङ’का स-साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ”, अध्यक्ष गुरुङले भने । यो पर्व प्रकृति र संस्कृतिसँग जोडिएको उनको भनाइ छ । यस दिनमा गुरुङहरुले प्रकृति पूजा गर्ने चलन छ । मौलिक सांस्कृतिक पर्वका रुपमा उनीहरुले ट्होटेँलाई मनाउँदै आएका छन् ।

पूर्खाको इतिहाससँग जोडिएको ट्होटेँ पर्वलाई विसं २०५२ देखि व्यवस्थित रुपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताए । तमुवान क्षेत्रका विभिन्न ठाउँबाट पोखरा झरेका गुरुङहरुले ट्होटेँलाई संरक्षण गरेका हुन् । कास्कीको पोखरासहित र आसपासका जिल्लाका गुरुङ बाहुल्य बस्तीमा यो पर्वलाई हर्षोलासका साथ मनाउने गरिएको अध्यक्ष गुरुङको । चैतमा उभौली र साउन उद्यौलीका रुपमा यो पर्वलाई मनाउने गरिन्छ । 

“तमु धिँ को आयोजनामा पोखरामा बहृत् साँस्कृतिक झाँकीसहित विविध कार्यक्रम गरेर यो पर्व मनाउँदै आएका छौँ”, अध्यक्ष गुरुङले भने, “यो पर्वले सामाजिक एकता र भातृत्वको सन्देश दिन्छ ।” हाटेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उनको भनाइ छ । “ऐतिहासिक र सांस्कृतिक पक्षबाट हेर्दा यो पर्वको छुट्टै महत्व छ, यसमा गुरुङहरुको पहिचान झल्कन्छ”, अध्यक्ष गुरुङले भने, “दैवी शक्ति र प्रकृति पूजक आदिवासीको सामाजिक एकतामा यस्ता पर्वले थप मद्दत पु¥याइरहेको छ ।”

विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा समुदाय जागरुक बनेको उनको भनाइ छ । ट्होटेँ पर्वका दिन गुरुङहरु आफ्ना परम्परागत बाजागाजासहित जातीय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातीले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायतका सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका चिजबहादुर गुरुङले पितापूर्खाका पालादेखि ट्होटेँ पर्व मनाउँदै आएको बताए । “यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्ने चलन छ, यसो गर्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ”, उनले भने । गुरुङ समुदायको एकता र सांस्कृतिक पहिचान कायम राख्न पनि यो पर्वले सघाएको उनले बताए । 

ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको गुरुङको भनाइ छ । “गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर ट्होटेँ पर्व मनाउन सुरु गरिएको गुरुङ समुदायको इतिहासमा उल्लेख छ”, उनले भने, “पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास छ ।” 

यस्ता चाडपर्वले मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्ने गरेको डढुवा दुर्छा लमजुङ तमु समाज, पोखराका सचिव कृपाकुमार गुरुङले बताए ।“ट्होटेँले सामाजिक एकताको सन्देश दिन्छ, आफ्नो समुदायका मानिसहरु भेला हुने, एकापासमा चिनजान गर्ने मौका पनि मिल्छ”, उनले भने, “यो पर्व गुरुङहरुको पहिचान, संस्कार र संस्कृतिसँग गाँसिएको छ ।” ट्होटेँ पर्वका अवसरमा कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?