जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

घाटु नाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटु नाच संरक्षणमा जुटेका छन् ।

जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटु नाचको संरक्षणमा जुटेका हुन् ।

गुरुङ समुदायको प्रसिद्ध घाटु नाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटेको नाचका गुरु तेजबहादुर गुरुङले बताए ।

गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन रहेको गुरुङले बताए ।

“‘सती’ र ‘बाह्रमासे’ घाटु नाच नचाइन्छ, बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ, गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक–फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुन्छ”, उनले भने ।

पौराणिक कथाहरूमा आधारित घाटुका विभिन्न प्रकारमध्ये सती घाटु धेरै कम नाच्ने गरिएको छ । यसको सुरुआत र समापन निकै रोचक हुने घाटु नाचका गुरु गुरुङले बताए ।

यस नृत्यका लागि रजस्वला नभएका दुई कन्यालाई आफ्नो वेशभूषामा सजाइ नृत्यको प्रारम्भ गरिन्छ । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, सिकार, खेतीपातीबारे व्याख्या तथा अभिनय गरिने गुरुङ समुदायका अगुवा जङ्गबहादुर गुरुङको भनाई छ ।

परापूर्व कालदेखि घाटु नृत्यको प्रारम्भ भएको गुरुङ समुदायको मान्यता रहेको छ । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा २०७८ सालको जनगणनाअनुसार गुरुङ समुदायको जनसङ्ख्या १० हजार ९ सय ९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?