जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वर्ष २०८०

वर्ष २०८० मा फराकिलो दायरा बनाएको तामाङ सेलो संगीत

काठमाडौँ– २०३७ सालमा गायक चन्द्रकुमार मोक्तानले रेडियो नेपालमा सेलो गीत गाउँदा गैर तामाङ समुदायका लागि सेलो धुन निकै नौलो थियो । मोक्तानले २०४२ साल फागुन १५ गते पहिलो एल्बम ‘दुम्जाला बजार’ बजारमा ल्याए ।

पहिलो एल्बम सार्वजनिक भएकै दिनलाई तामाङ सेलो संगीत जमातले ‘तामाङ एल्बम दिवस’ दिनका रुपमा मनाउँदै आएको छ भने मोक्तानलाई सेलो सम्राटको उपाधिले सम्बोधन गर्ने गरिएको छ । ३० को दशकदेखि हाल प्रविधिको युगसम्म आइपुग्दा सेलो संगीतले लामो यात्रा तय गरिसकेको छ ।

सेलो संगीतका गायक–गायिका मात्र नभएर अहिले गीत तथा संगीत सिर्जना गर्ने, रेकर्ड गर्ने र म्युजिक भिडियोमा देखिने कलाकारहरु समेत स्थापित हुन सक्ने अवस्था सिर्जना भएकाले वर्ष २०८० लाई सेलो गायक, संगीतकार तथा रचनाकार विश्व दोङ निकै उर्वर वर्षका रुपमा लिन्छन् ।

उनका अनुसार यस वर्ष मात्र उनको दुई सयको हाराहारीमा गीतहरु रेकर्ड भए । उनका अधिकांश गीतहरु करोड क्लबमा प्रवेश भएका छन् । उनको गीत ‘मायाभन्दा ठूलो जात होइन’को अडियोले समेत भिडियो बिना नै एक करोड भन्दा बढी दर्शकले सुनेका छन् ।

यो समाचार तयार पार्दासम्म भिडियोसहितको यही गीतमा ११ मिलियन भ्युज रहेको छ ।

त्यस्तै, उनको ‘हेर्दैमा राम्री’ गीतले चार मिलियन भ्युज बटुलेको छ । उनको पछिल्लो गीत ‘धरान घुम्नलाई आउँदा’ गीतमा दुई मिलियन भ्युज छ । तामाङ सेलो संगीतले अहिले देशभित्र समुदायमा मात्र नभएर गैर तामाङ र विश्व बजारमा समेत राम्रै चर्चा कमाएको दोङले जोय नेपालसँगको कुराकानीमा सुनाए ।

‘पहिला त तामाङ सेलोलाई जातीय गीतका रुपमा हेरिन्थ्यो,’ उनले भने, ‘अहिले देश तथा विदेशमा हुने कार्यक्रमहरुमा सेलो गीत अनिवार्य जस्तो नै छ । विदेशतिर पनि निकै सेलो गीतको डिमाण्ड उत्तिकै छ ।’

देश बाहिर हुने महोत्सव तथा सांगीतिक कार्यक्रमहरुमा समेत उनी वर्षभरी नै व्यस्त रहे । यस वर्ष मात्र सांगीतिक प्रस्तुतिका लागि उनी बेलायत, युएई लगायत देशहरुमा पुगे ।

प्रविधिको उच्चतम प्रयोगसँगै सेलो संगीतको यात्रा निकै फराकिलो बनेको उनले सुनाए ।

उनले भने,‘डिजिटल बजारले अझै हामीलाई फराकिलो बनाएको छ । हाम्रो सेलोलाई विश्व बजारले सुन्न र बुझ्न पाएका छन् । अझै यो वर्ष निकै राम्रो भएको जस्तो मलाई लाग्छ ।’

सेलो संगीत देशभित्र मात्र नभएर देशबाहिर पनि गैर तामाङ समुदायमा पुग्नु नै यसको सकारात्मक पक्ष रहेको सेलो गायक तथा नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान सुनाउँछन् ।

पछिल्लो अवस्थालाई मात्र तुलानात्मक रुपमा हेर्दा सेलो संगीतले राम्रो बजार लिएको उनको भनाइ छ । सेलो संगीतको मात्र नभएर सेलोका सर्जकका नाम देश तथा विदेशमा पुग्नु नै तामाङ समुदायले गर्व गर्ने अवस्था रहेको उनले सुनाए ।

स्टेज कार्यक्रमहरुमा समेत पछिल्लो समयमा सेलो संगीतलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

पछिल्लो अवस्थालाई नियाल्दा कार्यक्रमहरुमा मात्र नभए विवाह उत्सव तथा अन्य गतिविधिहरुमा समेत सेलो धुन सुनिन्छ ।

‘म्हेन्दामाया’, ‘फापरे सेलो’, ‘खान्दुके’ जस्ता सेलो भाकाहरु आम मानिसमाझ लोकप्रिय छन् । सेलो संगीतमा आउने नयाँ पुस्ताका सर्जकहरुमा समेत उत्तिकै उत्साह देखिएको अर्का सेलो गायक तथा रचनाकार फूलकुमार बोम्जनले सुनाए ।

देशभित्तै भएका विभिन्न महोत्सवहरुमा उनी सेलो संगीतलाई लिएर पुगे । गीतैमार्फत् देश तथा परदेशमा तामाङ संस्कृति, परम्परा र जीवनलाई पुर्‍याउन सक्नु नै समुदायको उपलब्धिका रुपमा उनले लिएका छन् ।

कलाकार संघले यसै वर्ष मंसिरमा तेस्रो संस्करणको ‘तामाङ मौलिक सेलो संगीत महोत्सव’ सम्पन्न गर्‍यो । संघले मंसिर २९ गते काठमाडौंमा शुरु गरेको महोत्सव ३० गते सम्पन्न गरेको थियो ।

महोत्सवमा तामाङ संगीतदेखि भाषा, भेषभूषा, खाना, जीवनशैली तथा इतिहासबारे चर्चा गरिएको थियो । यसै वर्ष तामाङ भाकाको लिपि र रागलाई समेटिएको पुस्तक ‘सेलो राग’ पुस्तक समेत प्रकाशन भयो । गायक तथा संगीतकार शुभ तामाङद्वारा लिखित पुस्तकलाई तामाङ डाजाङले प्रकाशनमा ल्याएको हो ।

यसभन्दा अघि तामाङ मौलिक भाकाको लिपि तथा लयको लिखित दस्तावेज गरिएको थिएन । यसले तामाङ मौलिक भाकाहरुको बाटो पत्ता लगाउन सहज हुनुका साथै लिखित रुपमै तामाङ मौलिक भाकालाई जोगाइ राख्ने आशा राखिएको छ । यसलाई सेलो संगीतको महत्वपूर्ण उपब्धिका रुपमा लिनुपर्ने गायक बोम्जनले सुनाए ।

शुरुवाती चरणमा विशुद्ध तामाङ भाषामा सेलो गीतहरु आएपनि पछिल्लो समयमा भने नेपाली भाषामा छन् । सेलो संगीतमा आधुनिकताको प्रभावले मौलिकता हरायो भन्ने गुनासो समेत तामाङ समुदायभित्र सुनिन्छ ।

भेगीय रुपमा तामाङ भाषा फरक हुनु, भाषा नै लोप हुँदै गएको अवस्थामा नयाँ पुस्तालाई नेपाली भाषामा नै तामाङको इतिहास, संस्कृति, परम्परा जस्ता पक्षलाई गीतमार्फत् बुझाउन पाएको गायक दोङले सुनाए । अहिले युवा पुस्तामा पूर्वदखि पश्चिमसम्मको तामाङको रीतिथितिहरुलाई सेलो गीतले चिनाएको उनको बुझाइ छ ।

नेपाली भाषाकै कारण पनि सेलो संगीतको दायरा फराकिलो हुन पाएको सेलो संगीतका सर्जकहरुको एकै मत छ ।

सेलो संगीतलाई माथि उठाउन चन्द्रकुमार दोङदेखि, इन्दिरा गोले, रोज मोक्तान, प्रेम लोप्चन, रमला पाख्रिन, लगायतका सर्जकहरुल उत्तिकै योगदान दिएका छन् । सेलो संगीतमा अहिले जितु लोप्चन, शशिकला मोक्तान, निर्मला घिसिङ, सुमिना लो, आश्मान लोप्चन, निमा लामा पाख्रिन जस्ता सर्जकहरु निकै सशक्त रुपमा उदाएका छन् ।

संघले सबै सर्जकहरुको सिर्जनालाई रोकतोक र तथ्यांकमा नराखेपनि सकेसम्म मौलिक सिर्जनालाई नै जोड दिएर तामाङ संस्कृति र इतिहासलाई प्रवर्धन गर्न पहल गरिएको अध्यक्ष काल्तानले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?