जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बहसमा नेपाली सिनेमा

नेपाली सिनेमा भन्ने कि बेच्ने?

राम्रा भनिएका सिनेमा किन दर्शकको रोजाइमा पर्दैनन्?

काठमाडौँ– वरिष्ठ अभिनेता नीर शाहले सातौँ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को उद्घाटन सत्रमा बोल्दै मूलधार भनिएका नेपाली सिनेमाप्रति प्रश्न उठाए । र, नेपालमा कस्ता सिनेमालाई मूलधार भनिरहेका छौँ भनेर समीक्षा गर्न समेत सिनेमाकर्मीलाई आग्रह गरे ।

उनले त्यतिबेला भनेका थिए– दक्षिण भारतीय र कोरियन सिनेमाको नक्कल गरिएका सिनेमाले हाम्रो सिनेमाको उन्नति हुँदैन ।

उनले नामै तोकेर मीन भाम, अविनाश शाह, फिडेल देवकोडा जस्ता अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमा पुर्‍याएका फिल्मीकर्मीहरुको प्रशंसा समेत गरे भने ती फिल्मको मेकिङको पनि खुलेर तारिफ गरे ।

उनको ताप्तर्य नेपाली मौलिकता र माटोको सुगन्धलाई नबोक्ने हो भने नेपाली सिने क्षेत्रको विकास हुन सक्दैन भन्ने थियो । नायक, नायिका, दुई/चार वटा गीत, नायक र खलनायकको भिडन्तलाई देखाउने सिनेमाले नभई अन्तर्राष्ट्रिय स्तरमा गएका केही थान सिनेमाले मात्र उद्योगलाई चिनाएको उनले दाबी समेत गरे ।

शाहको भनाइ र धारणालाई मात्र आधार मान्ने हो भने अब नेपाली सिने बजारमा मसालेदारभन्दा पनि गुणस्तरीय मौलिक सिनेमाको निर्माण हुनुपर्छ ।

जुन सिनेमाले नेपाली रैथाने मौलिक संस्कृति र जनजीवनलाई जीवन्त रुपमा चित्रण गरोस् भन्ने अग्रज फिल्मीकर्मीहरुको चाहना देखिन्छ ।

त्यसो त, बौद्धिक र अपेक्षित मानिएका सिनेमाले घरेलु दर्शकको साथ पाउन मुस्किलको अवस्था छ । कमेडी तथा एक्सन जनराका सिनेमाहरुमा नै दर्शकको बढी आकर्षण देखिन्छ ।

यसको गतिलो उदाहरणका रुपमा अहिलेको सिनेमा बजारको अवस्थालाई मूल्याङ्कन गर्ने हो भने धेरै पर जानै पर्दैन ।

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘महाजात्रा’ले दर्शकको राम्रो साथ पायो । अर्कातिर फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ ले विश्व प्रतिष्ठित भेनिस जस्ता ठूला फिल्म फेस्टिभलमा छनोट भयो ।

तर, ‘द रेड सुटकेस’ ले घरेलु दर्शकको आशाजनक साथ पाउन भने सकेन । यद्यपि निर्माण टिमले भने ‘लगानी सुरक्षित गरिसकेको’ बताएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेर बौद्धिक तहबाट प्रशंसा बटुलेको सिनेमाले कतै दर्शक त कतै शो नै नपाउने झमेला बेहोरेको छ भने त्यसको तीन हप्ताअगाडि प्रदर्शन भएको सिनेमा ‘महाजात्रा’ ले चौथो हप्तामा पनि दर्शकको हलमा ओसारेको छ ।

समीक्षात्मक दृष्टिले ‘द रेड सुटकेस’ ले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । तर, ‘महाजात्रा’ लाई औसत मानिएको थियो ।

अघिल्लो वर्ष सिनेमा ‘महानगर’ प्रदर्शनमा ल्याएका निर्देशक मोहन राई यस्ता मौलिक सिनेमाले नेपालमा मात्र नभएर विश्वभर नै तुलनात्मक रुपमा कम दर्शक पाउने बताउँछन् ।

उनका अनुसार सीमित दर्शक र व्यावसायिक रुपमा नजोडिएकै कारण फरक तहबाट कलात्मक सिनेमाहरु निर्माण गर्न निकै चुनौती छ । मेकरले सबै कुरा बजार र व्यवसायभन्दा पनि आ–आफ्नो इच्छा र झुकाव अनुसार फरक सिनेमा निर्माणका लागि आँट गर्ने उनको बुझाइ छ ।

‘महानगर बनाउँदा पनि हामीले व्यवसायको पाटोमा सोचेका थिएनौं,’ उनले भने, ‘यो व्यावसायिक रुपमा पनि सफल भएन, तर यसमा हामी निराश पनि छैनौं,’ निर्देशक राई भन्छन् ।

सिने क्षेत्रमा कहाँसम्म दिगो भएर जान सकिन्छ र कसरी राम्रा सिनेमा दर्शकलाई दिने भन्ने पक्षमा भने मेकरहरु सधैं चनाखो हुनुपर्ने उनको भनाइ छ ।

‘महानगर’ मात्र नभएर सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली,’ विक्रम सापकोटाको ‘हल्कारा’ जस्ता सिनेमाहरुले दर्शकको उत्साहजनक साथ पाएनन् ।

त्यसो त नेपालमा ‘कमर्सियल’ भनेर निर्माण गरिएकामध्ये औँलामा गन्न सकिने सिनेमाले मात्रा मुनाफा कमाउँछन् । बाँकी सिनेमाको हालत पनि उस्तै छ ।

‘आर्ट सिनेमा’ कम निर्माण हुने र अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो पशंसा पाउने तर घरेलु बजारमा दर्शक नपाउँदा तिनको बढी चर्चा हुने गर्छ ।

त्यस्ता सिनेमाको मार्केट अझै संवेदनशील नै रहेको निर्देशक सुजित बिडारी सुनाउँछन् । यस्ता सिनेमाहरु हेर्ने दर्शकको सोचमा विस्तारै परिवर्तन आउने उनको बुझाइ छ ।

‘आर्ट सिनेमाको मार्केट अहिले अलि गाह्रै छ, यसमा सिनेमा मेकरहरु मात्र परिवर्तन भएर केही हुन्न जस्तो मलाई लाग्छ, अडियन्स लेभलमा नै परिवर्तन आउन जरुरी छ,’ उनी जोय नेपालसँगको कुराकानीमा भन्छन् ।

यस्तो अवस्थामा अडियन्सको बौद्धिक तहलाई नै परिवर्तन गर्न आर्ट तथा बौद्धिक तहबाट सिनेमाहरुको संख्या बढ्नुपर्ने उनी बताउँछन् । यसमा व्यक्तिगत तबरबाट भन्दा पनि संस्था वा राज्यकै तहबाट जाँदा अझै सहज हुने उनको तर्क छ ।

निर्देशक फिडेल देवकोटा भने सबै दर्शकहरुप्रति सम्मान व्यक्त गर्छन् । सिनेमा मेकरले आफ्नो कथा ‘भन्ने हो कि बेच्ने’ उनी यही कुरामा स्पष्ट छन् ।

देवकोटाले निर्देशन गरेको सिनेमा ‘द रेड सुट्केस’ले अपेक्षित दर्शक पाएन भन्ने कुरामा उनलाई कुनै गुनासो छैन ।

‘हाम्रो हातको औंला त बराबरी छैन भने, दर्शकको रोजाइ पनि एकै खालको हुँदैन, दर्शकलाई सिनेमा हेर्नैपर्छ भनेर लाद्ने कुरा पनि हुँदैन,’ उनी भन्छन् ।

नेपालमा सबैखाले दर्शकलाई समेट्न सक्ने सिनेमामा विविधताको अभाव भने रहेको उनले सुनाए । सबै खाले सिनेमाहरु बनाएर दर्शकलाई नयाँ स्वाद दिँदै गएमा सिनेमा क्षेत्रमा बौद्धिकता समेत माथि उठ्ने उनको ठहर छ ।

‘हामी त सिनेमा क्षेत्रमा इट्टा थप्ने काम गरिरहेका छौं, सबै विधा सबै खालका सिनेमा बनेमा दर्शकले महाजात्रा, छक्कापञ्जा, ऐना झ्यालको पुतली जस्ता सबै भेराइटीका मुभी हेर्न पाउँछन्,’ देवकोटा भन्छन् ।

सबै खालका सिनेमाहरु बनाउने संख्या भएमा मेकरलाई समेत सिर्जनशील बन्ने मौका भएको उनको मत छ । 

अर्का निर्देशक दिपेन्द्र लामा पनि बहुल समाजमा एकै खालका र उही तहका मानिस नरहने हुँदा सबैलाई मन पर्ने खालका सिनेमा निर्माण हुनुपर्ने बताउँछन् ।

प्रेमकथा, एक्सन तथा कमेडी जानराका सिनेमामा त्यही अनुसारको प्रविधि र शैली ध्यान दिन सकेमा राम्रो सिनेमा बनाउन सकिने उनी बताउँछन् । बौद्धिक र राम्रा भनिएका सिनेमाहरुले नेपालमा दर्शकको साथ नपाए पनि मेकरहरु तर्सिहाल्नुपर्ने अवस्था नरहेको उनको बुझाइ छ ।

‘कालो पोथी, सेतो सूर्य जस्ता सिनेमा पनि नेपालमा भयङ्कर चलेको होइन, यी सिनेमाहरुले अन्तर्राष्ट्रिय प्लाटफर्ममार्फत आफ्नो लगानी सुरक्षित गरेको हुन्छ,’ लामाले भने ।

यस्ता सिनेमाको क्षणिकभन्दा पनि लामो समयसम्म प्रभाव र यसबाट लगानी उठाउन सकिने उनको मत छ ।

नेपालमा कस्ता वर्गका दर्शकहरु बढी छन्, भन्ने कुरा उनीहरुको रोजाइले नै पत्ता लाग्ने लामा बताउँछन् ।

 ‘मःम, चाउमिन मन पराउने मान्छेले यो कतिको स्वस्थकर खाना हो भन्ने नछुट्टाउन्जेल गुणस्तरीय खानाबारे बुझ्दैन,’ उन अगाडि भन्छन्, ‘जब गुणस्तर खानाबारे बुझ्छन्, तब न त्यही अनुसारको खाना खोज्छन्, सिनेमामा पनि यही कुरा हुने हो, दर्शक बुझ्ने भएपछि मौलिक सिनेमाको मार्केटको खोजी हुन्छ ।’

आम दर्शकमा सिनेमा साक्षरता नहुनु पनि अहिलेको अवस्था आइरहेको देवकोटाको बुझाइ छ । सम्बन्धित तहबाट नै यसका लागि पहलकदमी भएमा नेपाली सिनेमाको भविष्य राम्रो हुने उनको अनुमान छ ।

व्यापारका आधारमा सिनेमाको चर्चा गरिनु पनि सही नभएको लामाको भनाइ छ । कुनै पनि सिनेमा बजारमा बिक्नु मात्र त्यसको गुणात्मक परिपक्कता नभएको उनी बताउँछन् ।

बजारमा कमेडी जानराको सिनेमा बिक्ने बित्तिकै त्यस्तै खालका सिनेमा निर्माणमा मेकरहरुलाई नलाग्न उनको आग्रह छ ।

‘कुनै पनि सिनेमाले कति कमाइ गर्‍यो भन्ने कुरा पनि चाहिन्छ, तर त्यो मात्र सिनेमाको पक्ष होइन । सिनेमाको कलात्मक पक्षको समेत लेखाजोखा भएमा दर्शकमा समेत सिनेमाबारे लिटरेसी बढ्न सक्छ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?