जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

गोदावरी– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ ।

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहासको पुस्तक शुक्रबार विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा प्राडा टङ्क न्यौपाने, प्राडा सोमनाथ खतिवडा, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सह–प्राध्यापक डा जनक राई, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो र राससका महाप्रबन्धक सिद्धराज राईले सामूहिक रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकको परिचर्चा गर्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा जनक राईले किरात राई समुदायका आम मानिसले मुन्दमी ज्ञानलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने पुस्तकमा उल्लेख गरिएको बताए ।

“साल्पा सिलिचुङको मुन्दुमी मिथकलाई अध्ययन गर्दा जतिखेर किरातका पुर्खाहरु साल्पा सिलिचुङ पुगेका थिए, त्यतिखेर मातृसत्तात्मक समाज भएको प्रस्ट हुन्छ,” उनले भने ।

प्राडा सोमनाथ खतिवडाले विश्वका धेरै विश्वविद्यालयले मौखिक इतिहास पढाउने गरेको बताए । उनले नेपालमा मात्र लेख्य इतिहास पढाउने गरेको तर किरात सभ्यता र संस्कृतिसँग धेरै ठूलो मौखिक इतिहास भएको बताए । उनले त्यस्ता मौखिक इतिहासलाई लिपिबद्ध गर्ने काममा यो पुस्तक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

किरात संस्कृतिका अध्येता प्राडा टङ्क न्यौपानेले कुनै एउटा मात्र जाति र व्यक्तिको देश नहुने बताए । विविध जाति समुदाय रहेको नेपालमा किरात धर्म संस्कृतिका अनेकौँ मुन्दुम लेखिनुपर्ने उनको जोड थियो ।

“यस पुस्तकले मिथकहरुको माध्यमबाट किरात राईहरुको एकताको सन्देश दिन खोजेको छ”, उनले भने, “अहिलेको नेपाल राज्य निर्माण गर्ने प्रमुख शक्ति किरात हो, त्यसैले साल्पा र सिलिचुङको मिथक पनि जनइतिहास भएकामा कुनै विवाद छैन ।”

आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष दिवस राईले किरात राई समुदायमा खुवालुङ, तुवाचुङ र सिलिचुङ सभ्यताको प्रतीक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले मुन्दुमी मिथकलाई पुस्तकका माध्यमबाट प्रकाशन गरिनु प्राज्ञिक काम भएको भन्दै प्रशंसा गरे।

“जसको लेख्य इतिहास हुँदैन, त्यसको मिथक मात्र बाँकी रहन्छ”, उनले भने, “कुनै कालखण्डमा राज्यले किनाराकृत गरेको समुदायको मिथक मात्र बाँकी रहन्छ, त्यसैले यो पुस्तक एउटा लिखित र प्राज्ञिक आक्रोश पनि हो ।”

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन राईले यसपटक साल्पा सिलिचुङमा सुम्निमा पारुहाङ र नछुङ/नाक्सो (धामी) को प्रतिमा स्थापनासँगै मिथक खण्डको पुस्तक प्रकाशन गरिएको बताए । अर्को खण्डमा मुन्दुम सङ्कलनसँगै थप इतिहास संरक्षणको काम गर्ने बताए ।

दुई सय २७ पृष्ठको पुस्तकमा मिथक र विश्लेषण गरी दुईवटा खण्ड छ । २१ वटा मिथक सङ्कलित छन् । पुस्तकको सम्पादन भोगिराज चाम्लिङ, डा तारामणि राई, चन्द्रकुमार हतुवाली र शालिकराम राईले गरेका छन् । पुस्तक विमोचन कार्यक्रमपश्चात् किराती सङ्गीतमा आधारित भई मुन्दुमी महिमागान र साङ्गीतिक कार्यक्रम गरिएको थियो ।

साल्पा सिलिचुङ साल्पा सिलिछो गाउँपालिका भोजपुरमा पर्दछ । यो स्थान भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु र खोटाङको सीमासँग जोडिएको छ । साल्पा पोखरी समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाइमा छभने सिलिचुङ चार हजार एक सय ५५ मिटर अग्लो शिखर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?