जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

देवघाटलाई मुलुककै पवित्र धार्मिकस्थलको रुपमा घोषणा गर्न माग

तनहुँ – तनहुँको देवघाटलाई देवघाटलाई प्रमुख तीर्थस्थलका रुपमा विकास गर्नका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ । देवघाटका जनप्रतिनिधि, स्थानीयवासी र राजनीतिक दलका प्रतिनिधिले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर देवघाटलाई मुलुककै पवित्र धार्मिकस्थलको रुपमा घोषणा गर्न माग गरेका हुन् ।

देवघाटधाम विश्वका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यस ठाउँलाई धार्मिक तीर्थस्थलको घोषणा गर्नुपर्ने माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ देवघाट गाउँ कमिटीका अध्यक्ष केशवचन्द्र न्यौपानेले देवघाटधामको विकासका लागि आवश्यक बजेट व्यवस्थापनका लागि केन्द्र सरकारलाई पहल गरिदिन मुख्यमन्त्रीलाई भेटेर आग्रह गरिएको जानकारी दिए ।

उनले भने, “यस स्थानमा रहेका पुराना मठमन्दिर, मणिमुकुन्देश्वर चक्रवर्ती मन्दिर, सिन्च्याङगढी, प्याउलीगढी, घण्टाचुली, भर्जन कालिका माई मन्दिरको संरक्षण गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि बजेट व्यवस्थापनका लागि सङ्घीय सरकारसँग पहलका लागि आग्रह गरेका छौँ ।”

उक्त टोलीले देवघाटका विभिन्न विकासका आयोजनाका लागि आगामी बजेटमा स्रोत सुनिश्चित गरिदिन आग्रह गरेको छ । न्यौपानेका अनुसार गाइघाट जोड्ने त्रिशूली नदीमाथि पक्की पुल निर्माण, देवघाटको साराङघाटमा सेतीनदीमाथि पक्की पुल, देवघाटको प्रवेशद्वारमा रहेको झोलुङ्गे पुल आसपास पक्की पुल निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरिएको छ ।

भरतपुर महानगरपालिका–२९ भतेरी र देवघाट गाउँपालिका–५ भुवनटारमा शिलान्यास भइसकेको झोलुङ्गे पुल अलपत्र रहेकाले त्यसलाई पूरा गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न, बृहत् त्रिशूली नदी दासढुङ्गा सिँचाइ आयोजनाका लागि बजेट व्यवस्थापन गर्न, कालीगण्डकी लिफ्ट सिँचाइ योजनामा बजेट व्यवस्थापन गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

साथै मदन आश्रित बहुआयामिक उद्यान, मुग्लिन देवघाट वैकल्पिक राजमार्गका रुपमा डिपिआर भएको सडकलाई आवश्यक बजेट, दासढुङ्गा बगन्दी हुँदै गाइघाटसम्मका नयाँ बाटोको ट्रयाक खोल्न, गाइघाट सिन्च्याङ काफलडाँडा भिरकोट सिर्जना मार्गको स्तरोन्नति, देवघाट साउने कर्ताब जोडने फाष्टट्रयाक कार्यलाई निरन्तरता दिन, दासढुङ्गादेखि माथिल्लो कालीमाटी हुँदै मधुवन चोकसम्मको अधुरो कालोपत्र पूरा गराउन आवश्यक बजेटका लागि ध्यानाकर्षण गराइएको न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?