जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पालुङटारका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा – पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत महिलाको सीप विकास र क्षमता अभिवृद्धिका लागि सोमबारदेखि नौमती पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए । 

“नौमती पञ्चेबाजाको संरक्षण र सम्वर्द्धनसँगै लोप हुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो”, उनले भने, “यसबाट एकातर्फ महिलामा सीप विकास हुँदै जानेछभने अर्कोतर्फ हाम्रो संस्कृतिको पनि जगेर्ना हुनेछ भन्ने विश्वास रहेको छ ।” 

पछिल्लो समय विवाह, व्रतबन्ध, चाडबाड तथा मेलापर्व र उत्सवहरुमा नौमती पञ्चेबाजाको माग बढी हुने गरेको भए पनि बाजा बजाउन सक्ने दक्ष जनशक्तिको भने अभाव रहँदै आएको छ । पञ्चेबाजा बजाउने सीपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।

“बाहिरबाट भित्र्याइएका अन्य खालका आधुनिक बाजाको प्रभावले हाम्रो मौलिकता हराएर जाने अवस्था पनि बढ्दै गएको छ”, नगरप्रमुख चिन्तनले भने, “परम्परागत समाजमा कुनै एक समुदायले मात्र पञ्चेबाजा बजाउँछन् भन्ने सोचको पनि परिवर्तन गर्दै सीप सबैले सिक्नुपर्छ र काम गर्नुपर्छ भन्ने सन्देश पनि यसखालको तालिमले दिएको छ ।”

तालिममा विभिन्न जातजाति र समुदायबाट प्रतिनिधित्व गर्ने महिलाको सहभागिता रहेको उनले जानकारी दिए । नगरपालिकाले ‘सीप सिकौँ र रोजगार बनौँ’ भन्ने नाराका साथ वडा नं ७ मा तालिम सञ्चालन गरेको हो । एक महिनासम्म सञ्चालन हुने नौमती पञ्चेबाजा बजाउने तालिममा २० महिलाको सहभागिता रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?