जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चित उक्त ताल मालिका–६ र मङ्गला–२ को सिमानामा पर्दछ । गाउँपालिकाका रोजगार सहायक मिलन शर्माले रु १३ लाख ५० हजार लागतमा दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण भएको जानकारी दिए ।

“पदमार्ग नहुँदा जोखिम मोलेर ताल र मन्दिरमा जानुपर्ने अवस्था थियो”, उनले भने , “पदमार्ग बनेपछि हिँडेर सहजै ताल भएको स्थानसम्म पुग्न सकिन्छ ।”

चालु आर्थिक वर्ष २०८०–८१ मा विनियोजन भएको रु चार लाख ५० हजार बजेटबाट सात जना सूचीकृत बेरोजगारसहित ५० जना कामदार परिचालन गरेर भिरमा सिँढीसहित पाँच सय ५० मिटर लामो पदमार्ग निर्माण भएको छ । यसअघि आव २०७७–७८ र आव २०७८–७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु नौ लाख बजेटबाट १।५ किमी पदमार्ग निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ । झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ । यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ । दुवैतिर घना जङ्गल छ ।

झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका–६ दुखुबेँसीका बासिन्दा एवं पदमार्ग निर्माण समितिका अध्यक्ष गङ्ग रोकाले बताए ।

“यो तालको सिरानमा रहेको मन्दिर वरिपरिको जङ्गली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ बास्छ अनि उज्यालो भएपछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी छैन”, उनले भने, “मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ ।”

“किंवदन्तीअनुसार दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन् । ताल नजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन् । बिहान कुखराको भाले बासेकोे आवाजले उनीहरु ब्युँझिँदा दुवै जना ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाएछन् । आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएपछि सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ । ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइ छ”, समितिका अध्यक्ष रोकाले बताए ।

बेनीबाट करिब एक घण्टामा सवारीसाधनमार्फत सहस्रधारा पुगिन्छ । सहस्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट करिब एक घण्टा पैदलयात्रा गरेपछि यो ताल पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?