जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हामीले मेहनत गरेका छौँ, दर्शकको प्रतिक्रियाले ‘फर्की फर्की’ को व्यापार निर्धारण गर्छ: रोहित अधिकारी

काठमाडौँ– अभिनेता अनमोल केसी र जसिता गुरुङको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा अनमोल र जसिता शीर्ष भूमिकामा देखिएका छन् ।

टाइम ट्राभलको कथामा निर्माण भएको यो फिल्ममा दर्शकले अनमोल र जसिताको रोमान्टिक लभस्टोरी देख्न पाउनेछन् । निर्माण टिमले यसअघि सार्वजनिक गरेका पोस्टर र ट्रेलरले दर्शकको ध्यान तानेका छन् । युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीको फिल्म लामो समयपछि पर्दामा आउन लागेकाले पनि यो फिल्मले रिलिज भएको दुई दिनमा आक्रामक ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच फिल्मका निर्माता रोहित अधिकारीले ‘फर्की फर्की’ लाई स्तरीय बनाउन कुनै कसर बाँकी नराखिएको बताएका छन् । जोय नेपालसँगको कुराकानीमा उनले फिल्ममा कथादेखि छायाङ्कन, पार्श्वध्वनि र मेकिङमा निकै मेहनत गरिएको बताए ।

‘हामीले यो फिल्म निर्माणमा लामो समय खर्च गरेका छौँ, स्किृप्टदेखि नै फिल्मलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर निकै मेहनत गरेका छौँ, हाम्रो कामलाई कसरी लिनुहुन्छ भन्ने दर्शकको हातमा छ,’ उनले भने ।

साथै उनले यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने विश्वास पनि गरे । ‘हामीले फिल्म निर्माण गरेर दर्शकलाई सुम्पिने हो, अब उहाँहरुको प्रतिक्रिया नै हाम्रो फिल्मको कमाइ हो,’ उनले जोय नेपालसँगको कुराकानीमा भने ।

अहिलेका दर्शक निकै अपग्रेड भएको र अब औसत फिल्म निर्माण गरेर फिल्म नचल्ने लागेकाले निर्माण टिमले पहिलेका फिल्ममा भन्दा पनि बढी मेहनत गरेको रोहितको भनाइ छ ।

‘दर्शकको रुचिअनुसारको फिल्म बनेको छ, हाम्रा लागि उहाँहरु नै सबथोक हो, अब फिल्मको तारिफ गर्नेभन्दा पनि दर्शकलाई नै सुम्पिने हो,’ उनले थपे ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओमप्रकाश अग्रवालको लगानी छ । फिल्ममा अनमोल र जसिताका अलावा रवि काफ्ले र समृद्धि अर्यालको समेत शीर्ष भूमिका रहेको निर्माण टिमले बताएको छ । यस्तै फिल्मको छायाङ्कन नरेन्द्र मैनालीको टिमले खिचेको हो ।

निर्देशक गुरुङकै कथा लेखन रहेको यो फिल्म अनमोलको क्रेजका कारण पनि यस वर्षको प्रतीक्षित फिल्मका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?