जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालकै लामो पोखरा–मुक्तिनाथ केबलकारको डीपीआर तयार

काठमाडौँ– नेपालकै लामो पोखरा–मुक्तिनाथ केबलकारको अध्यावधिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा बुझाइएको छ ।

मुक्तिनाथ दर्शन प्रालिले बुधबार अध्यावधिक डीपीआर बोर्डमा बुझाएको हो । बोर्ड स्रोतका अनुसार सुरुमा कास्कीको बिरेठाँटीमा तल्लो स्टेसनको प्रस्ताव गरेको आयोजनाले अब कास्कीकै नयाँपुलमा तल्लो स्टेसन रहने गरी प्रस्ताव गरेको छ ।

प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर रहेको छ । अध्यावधिक डीपीआर बोर्डले अध्ययन गरी कम्पनीसँग परियोजना कार्यान्वयन सम्झौता (पीआईए) गर्नुपर्छ ।

‘यो निजी लगानीमा बन्ने आयोजना हो, बोर्डका एक उच्च अधिकारीले भने, ‘सोहीकारण बोर्डले अध्यावधिक डीपीआर अध्ययन गरी पीआइए सम्झौता गर्छ, त्यसपछि आयोजना कार्यान्वयनको बाटो खुल्छ ।’

साथमा आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम भने सक्नु पर्छ । आयोजनाले गर्ने ईआईएलाई वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेमात्र आयोजनाको काम अगाडि बढ्छ । सोहीकारण यो आयोजना कार्यान्वयनमा जान अब ईआईए प्रतिवेदन समेत मन्त्रालयबाट पारित हुनुपर्छ ।

कास्कीको नयाँपुलबाट घोरेपानी–तातोपानी–जोमसोम–कागबेनी हुँदै मुक्तिनाथसम्म केवलकार जडान गर्ने योजना छ ।

आयोजनाको कुल लागत ५५ अर्ब १८ करोड रुपैयाँ अनुमान गरिएको छ । यो केवलकारको विभिन्न स्थानमा स्टेसन जडान गरी झर्ने र चढ्ने व्यवस्था गर्ने योजना छ । यो आयोजनाको सर्वेक्षणलगायतका काममा अहिलेसम्म ४० करोड रुपैयाँ खर्च भइसकेको दाबी मुक्तिनाथ दर्शन प्रालिले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?