जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतीय संगीत जगतका बादशाह उस्ताद राशिद खानको निधन

काठमाडौँ– भारतीय संगीत जगतका बादशाह उस्ताद राशिद खानको मंगलबार निधन भएको छ । उनी ५५ वर्षका थिए । कोलकाताको एक निजी अस्पतालमा दिउँसो ३ बजेर ४५ मिनेटमा उनको निधन भएको हो ।

उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरसँग लडिरहेका थिए ।

मंगलबार उनको स्वास्थ्य अचानक बिग्रिएपछि भेन्टिलेटरमा राखिएको थियो तर बचाउन नसकिएको अस्पतालले जनाएको छ । बिरामी भएपनि खानको दिनचर्यामा कुनै परिवर्तन देखिएको थिएन । उनी अस्पतालमा समेत रियाज गर्थे ।

खानको जन्म १ जुलाई १९६८ मा उत्तर प्रदेशको बदाउँमा भएको थियो । उनी रामपुर-सहस्वान परिवारका थिए । यस घरानाका संस्थापक उस्ताद इनायत हुसैन खान थिए, जो राशिदका हजुरबुवा थिए ।

राशिदले ११ वर्षको उमेरमा पहिलो कन्सर्ट प्रस्तुत गरेका थिए । १४ वर्षको उमेरमा उनी कोलकाताको आईटीसी म्युजिक रिसर्च एकेडेमीमा सामेल भए । उनी आफ्नो गायन शैलीका लागि परिचित थिए ।

पण्डित भीमसेन जोशीले खानलाई ‘भारतीय संगीतको भविष्य’ भनेका थिए । खानलाई बाल्यकालमा संगीतमा उतिसाह्रो रुचि थिएन । उनले निसार हुसेन खान र गुलाम मुस्तफा खानबाट गायन कला सिके ।

खानलाई सन् २००६ मा ‘पद्मश्री’ र ‘संगीत नाटक एकेडेमी अवार्ड’ र सन् २०२२ मा ’पद्मभूषण’ पुरस्कार प्रदान गरिएको थियो । उनले बलिउड फिल्ममा पनि धेरै चर्चित गीत गाएका छन् । उनले सन् २००७ मा रिलिज भएको चलचित्र ‘जब वी मेट’ को लोकप्रिय गीत ‘आओगे जब तुम सजना’ मा स्वर दिएका थिए ।

उनले फिल्म ‘किस्ना : द वारियर पोएट’ का कहे उजादी मोरी नन्द, तोरे बिना मोह छैन नही, फिल्म ‘माई नेम इज खान’को अल्लाह ही रहम, फिल्म ‘शादी मे जरुर’को ‘तू बन्जा गली संग’जस्ता चर्चित गीत गाएका थिए ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उनको निधनमा शोक व्यक्त गरेकी छन् । बनर्जीले भनेकी छन्, ‘यो सिंगो देश र सिंगो संगीत जगतको लागि ठूलो क्षति हो । म धेरै पीडामा छु किनकि म अझै पनि राशिद खान रहेनन् भनेर विश्वास गर्न सक्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?