जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै

काठमाडौँ – विश्व बौद्ध धर्म संघले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष योगिनी भीम सुवाल २५ सय ६८औँ बुद्ध जयन्तीका अवसरमा विश्व शान्तिको कामनासहित लुम्बिनीमा ती मूर्तिहरु प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार बुद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गरी मानवअधिकार हनन् तथा व्यक्ति–व्यक्तिबीचको मनमुटाव, लोभ, मोह, तथा राष्ट्रबीच युद्धले मानव जीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न विश्व शान्ति पूजा गर्न लागिएको हो ।

अध्यक्ष सुवालले समृद्ध विश्व समाज निर्माणका लागि शान्ति कायम गर्नुपर्नेमा जोड दिँदै यस्ता पूजामा वाचन गरिने मन्त्र र तन्त्रबाट उत्पन्न हुने कम्पनले सकारात्मक ऊर्जा ल्याउने विचार व्यक्त गरे ।

शान्ति स्तम्भ स्थापना गर्ने कार्ययोजना रहेको संघले विगत वर्षमा करिब २० राष्ट्रमा यस्तो प्रदर्शन तथा पूजा सम्पन्न गरेको जनाएको छ । विभिन्न मुलुकबाट धार्मिक गुरू तथा भक्तजन सहभागी हुने उक्त कार्यक्रममा विश्वका सबै मानव एवं समग्र प्राणीको कल्याणका लागि पूजा गरिनेछ ।

करिब तीन दशकअगाडि प्रथम विश्व बौद्ध शिखर सम्मेलन सम्पन्न गरिएको नेपालमा बुद्ध जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । विभिन्न परम्पराका बौद्ध अनुयायीले नेपालसहित भारत, चीन, श्रीलङ्का, भूटान, थाइल्यान्ड, म्यान्मा, मङ्गोलिया, कम्बोडिया र लाओसमा विशेष उत्सवका रुपमा बुद्ध जयन्ती मनाइन्छ ।

नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको अभिलेख पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?