जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म

नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति, फिल्मकर्मीको विरोध

काठमाडौँ– नेपाली चलचित्र क्षेत्रको आधिकारिक नाम सिनेमाण्डु राख्ने सहमति भएपछि यसको विरोध भएको छ । सिनेमा क्षेत्रका व्यक्तित्वले फिल्म क्षेत्रको नाम नै नराखे पनि हुने भन्दै विरोध जनाएका हुन् ।

चलचित्र विकास बोर्डको सिफारिसमा नेपाली चलचित्र क्षेत्रको नाम सिनेमाण्डु राख्न सहमति भएको समाचार बाहिर आएको थियो । विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै संघसंस्थाले सोही नाममा सहमति जनाएको बताएका थिए ।

नामाकरणका लागि सबै संस्थाका प्रतिनिधिले हस्ताक्षरसमेत गरेका छन् । सो नामका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने बताइएको छ ।

यदि सो नाम मन्त्रिपरिषद बैठकले पारित गरेको खण्डमा नेपाली चलचित्र क्षेत्रको नाम सिनेमाण्डु रहनेछ ।

विकास बोर्डको यो निर्णयपछि सामाजिक सञ्जालमार्फत फिल्मकर्मीहरूले विरोध जनाएका छन् । फिल्म निर्माता रामकृष्ण पोखरेलले ‘भिजन’ नभएका व्यक्तिलाई संघसंस्थाको नेतृत्वमा पुर्‍याउँदाको परिणाम भनेका छन् ।

यस्तै अर्का समीक्षक सामीम्यराज तिमिल्सिनाले पनि सो नामको विषयलाई लिएर असहमति जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुनियाँलाई नचाहिने अनि हामीलाई मात्र बेग्लै नाम किन चाहिने होला? नेपालको चलचित्र उद्योगलाई नेपाली चलचित्र उद्योग भन्दा के नमिलेको छ र?’

कतिपय फिल्मकर्मीले भने बरु नेपाली चलचित्र क्षेत्रको नाम नै राख्ने भए ‘नेपाली फिल्म उद्योग’ नामाकरण गर्न सुझाव दिएका छन् ।

अर्का लेखक तथा निर्देशक परिच्छेद सेनले ‘सिनेमाण्डु’ समाचार पोर्टलजस्तो भएको भन्दै व्यङ्ग्य गरेका छन् ।

त्यस्तै अर्का कलाकार निर्मलराज उप्रेतीले सामाजिक सञ्जाल फेसबूकमार्फत व्यङ्ग्य गरेका छन्, ‘भर्खैरै सिनेमाण्डुमा काम सकेर फुडमाण्डुले ल्याएको खाना खाँदै ।’

यो नामको डोमेन (सिनेमाण्डु डटकम) सन् २०२३ मा नै रजिस्टर गरिएको छ । यसलाई तीन महिनाअघि रिन्यू गरिएको छ । उक्त डोमेन आइसल्याण्डबाट दर्ता भएको हुइज डटकमले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?