प्लाष्टिकले विस्थापित हुँदै कुमालेको पेशा, व्यवसायी भन्छन्, दैनिकी चलाउनै धौधौ छ

भक्तपुर– भक्तपुरका रामसुन्दर प्रजापतिको दैनिकी हरेक बिहान ५ बजे शुरु भएर राति ८ बजे सकिन्छ । भक्तपुर नगरपालिका–८ लिवालीमा बस्दै आएका उनी माटोको भाडो बनाउँछन् ।

आफूले सानैदेखि माटोका भाँडो बनाएको र अहिले पनि पुर्ख्यौली पेशाकै रुपमा सोही काम गर्दै आएको उनको भनाइ छ ।

सानैदेखि सोही काम गर्दै आएका उनीसँग अरु कुनै सीप छैन । सामान्य खेतीपातीबाहेक उनको रोजीरोटीको माध्यम भनेकै भाडो बनाएर बिक्री गर्नु हो ।

माटो भाडो बनाएर परिवार धान्दै आएका प्रजापतिले बत्ती बाल्ने पाला र सली बनाउँछन् ।

उनी भन्छन्, ‘सानैदेखि सली र पाला बनाउन सिकेको थिए । अहिले पनि यही बनाउँछु ।

आफूले सोही काम गरेर नै दुई छोरी र एक छोरासहित पाँच जनाको परिवार धान्दै आएको उनको भनाइ छ । आफू भाडा बनाउने, श्रीमती र छोरीले मिलाउने, रङ्ग लगाउने र सुकाउन काम गर्ने उनले बताए ।

उनी भन्छन्, ‘माटो पेलेर भाँडो बनाइसके पछि मिलाउनु पर्छ । सुकाएर रङ्ग लगाउनुपर्छ । मैले भाँडो बनाएपछि श्रीमतीले मिलाउनेदेखि बाँकी काम गर्छिन् ।’

उनका अनुसार पुरुषहरुले भाँडा बनाउने र महिलाहरुले त्यसलाई मिलाउने, सुकाउने र रङ्ग लगाउने काम गर्छन् । भाँडो बनाउनको लागि पहिले कालीमाटीले पेल्नु पर्ने उनले सुनाए ।

सुकिसकेको भाँडोलाई आगोमा पोलेर भण्डार गरेर राख्ने र आवश्यकता अनुसार लिन आउने गरेको उनको भनाइ छ । करीब चार दशक टेकेका उनी विगतको तुलनामा माटोको भाँडो कम मात्रै विक्री हुने गरेको सुनाउँछन् ।

पछिल्लो समय प्लाष्टिकको भाँडोको प्रयोग बढेकाले माटो भाँडोको माग कम भएको उनको बुझाइ छ ।

आफूले बनाएको सली बिहे, वर्तमान, तथा विभिन्न समारोहमा भोज खुवाउनको लागि प्रयोग हुने उनले सुनाए ।

तर पछिल्लो समयमा भोज भतेरमा प्लाष्टिकको गिलास बढी प्रयोग हुने भएकाले माग घटेको उनकी श्रीमती लक्ष्मीकुमारी प्रजापतिले बताइन् ।

प्लाष्टिकको भाडोले गर्दा आफ्नो पेशा नै विस्थापित हुन लागेकोमा उनले दुखेसो पोखिन् ।

‘सली भोजमा मात्रै प्रयोग हुन्छ । तर अधिकांशले सहजता र सस्तो हुने भएकाले प्लाष्टिकको भाडो प्रयोग गर्छन्’, उनले भनिन्, ‘केहीले मात्रै सली प्रयोग गर्ने गर्छन् ।’

भोजमा सलीलाई जाँड, रक्सी पिउनको लागि प्रयोग गरिने उनको भनाइ छ । तर दियो तिहारमा मात्रै बिक्री हुने उनले बताइन् ।

भोजको सिजनको समयमा मात्रै सली बनाए पनि माग नहुने भएकाले अरु बेला दियो नै बनाउने गरेको उनले सुनाइन् ।

‘दियो पनि सबै बिक्री हुँदैन । केही मात्रामा बाँकी हुन्छ,’ उनले भनिन् ।

भाँडाको माग नभएकोले परिवार धान्न नै मुस्किल हुँदै आएको उनको दुखेसो छ ।

‘जेठी छोरी कक्षा ११ मा पढ्छिन्, कान्छी ८ कक्षा र छोरा एक कक्षामा पढ्छन्,’ उनले भनिन्, गत वर्षसम्म कान्छीलाई बोडिङ स्कूलमा पढाए पनि पैसा अभावले यो वर्षदेखि सरकारी विद्यालयमा पढाउन थालेका छौँ ।’

छोरालाई मात्रै जेनतेन बोर्डिङ स्कूलमा पढाए पनि शुल्क तिर्ने समस्या भएको उनले सुनाइन् । सरकारले प्लाष्टिकको भाँडोलाई विस्थापित गरे आफूहरुलाई केही सहज हुने उनको भनाइ छ ।

विगतको तुलनामा पछिल्लो समयमा माटोको भाँडोको माग कम भएकाले पेशा नै विस्थापित हुने अवस्था पुगेको बताउँछन् रामकुमार प्रजापति । छ दशक पुगेका रामकुमार दहीको लागि माटोको मट्का बनाउँछन् । तर पहिलेको तुलनमा माग निकै कम भएको उनको अनुभव छ ।

माटोका भाँडा बेचेरै तीन छोरी र दुई छोरा हुर्काएको उनले सुनाए । अहिले आफूसँगै कान्छो छोरा र श्रीमतीले माटोको काम गर्ने उनले बताए । तर पनि सोचेअनुसारको आम्दानी नभएको उनको भनाइ छ ।

‘पहिले भाँडो लिन आउनेहरुको लाइन लाग्थ्यो । भाँडो तयार नभएसम्म साहु आएर कुरेर बस्थे । तर आजभोलि त्यस्तो छैन,’ उनले भने, ‘अहिले त भाँडोलाई स्टोर गरेर राख्नुपर्छ । तयार भइसकेपछि लिन आउनु भन्नुपर्छ ।’

बनाएका भाँडा पनि बिक्री हुने वा नहुने भन्ने अन्योल हुने उनले सुनाए । आफूले बनाएको भाँडा प्रतिगोटा १५ देखि ७० रुपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ ।

पहिले अरुले बनाएको भाडोलाई संकलन गरी बिक्री गर्ने उनी अहिले व्यवसायिक रुपमै बनाउन थालेका हुन् । भाँडो बनाउनकै लागि लिवालीमा उनले करिब आधा रोपनी जग्गा भाडामा लिएका छन् ।

उनले भाँडो संकलन गरी भक्तपुर, काठमाडौँ, बनेपा तथा विभिन्न स्थानमा लैजाने गरेको थिए । तर अहिले भक्तपुरका केही व्यक्तिले मात्रै लिन गरेको उनले सुनाए । उनी थप्छन्, ‘भक्तपुरका तीन जना नियमित ग्राहक छन् । वर्षको एक पटक बनेपाबाट लिन आउँछ ।’

आफूले बनाएको भाँडो सिजनमा मात्रै बिक्री हुने उनले बताए । विशेषगरी गर्मीयाम, दशैँ, तिहार र भोजको सिजनमा मात्रै भाँडोको माग बढ्छ । यो बेला दहीको माग बढ्ने भएकाले भाँडाको पनि माग बढ्ने गरेको उनले सुनाए ।

पछिल्लो समयमा भाँडो बिक्री नहुनुका साथै आवश्यक माटो कै समस्या हुने गरेको पोटरी स्क्वायरका रोशन प्रजापतिले बताए । उनका अनुसार भाँडो बनाउनका लागि कालीमाटी चाहिन्छ ।

जमिनबाट करीब १५ देखि २० फिट तलको चिम्ट्यालो माटोबाट भाँडा बनाउने गरिन्छ । माटो पहिले भक्तपुरकै सिपाडोल, गुन्डु, सुडाल र ताथलीबाट ल्याउने गरेको उनले सुनाए ।

तर जग्गाको प्लटिङ र घर बनाउनेले गर्दा भाँडा बनाउनको लागि माटो नै नपाउने अर्काे समस्या छ । अहिले महङ्गो रकम तिरेर गोर्कर्णेश्वर, साँखुलगायत विभिन्न ठाउँबाट माटो आउने उनले बताए । तर ती माटोमा पनि बालुवा तथा स–साना ढुङ्गा मिसिने गरेको उनले सुनाए ।

माटोलाई केलाएर मात्रै काम गर्नुपर्ने अवस्था हुने उनको भनाइ छ । नत्र हात फुट्ने, घाँउ लाग्ने जस्ता समस्या हुने उनले सुनाए ।

भक्तपुरमा प्रजापति समुदायले लिवाली, पोटरी स्क्वायर, तौलाछैँ लगायतका स्थानमा माटोको भाँडो बनाउँदै आएका छन् ।

यो पेशामा पछिल्लो समयमा युवा पुस्ताको भने आकर्षण खासै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?