शुरु भयो ‘म्याडफेस्ट २०२४’, शनिवार नाटक ‘नुग्धा’ र ‘शिल्पिनी’ मञ्चन हुने

काठमाडाैँ- थापागाउँ मण्डला थिएटरका रङ्ग महोत्सव ‘म्याडफेस्ट २०२४’ शुरु भएको छ ।

शुक्रवार काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, ‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपाने, रङ्गकर्मीहरु पशुपति राई, साेमनाथ खनाल, केदार श्रेष्ठ लगायत रङ्गप्रेमीहरुकाे सहभागितामा महोत्सव शुरु गरिएकाे हाे ।

मण्डला पूर्व विद्यार्थीहरुकाे आयोजना शुरु गरिएकाे महाेत्सवमाकाे उद्घाटन सत्रमा संयोग गुरागाईंद्वारा निर्देशित नाटक ‘रेलवे टू नो ह्वेयर’ मञ्चन गरियाे ।‍ यस लगतै सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन गरिएकाे थियाे ।

उपमेयर डंगोल काठमाडौंसँग रंगमञ्चको सम्बन्ध नजिकको रहेकाे खुलाउँदै किसिमको नाटक महोत्सव भइरहनुपर्ने कुरामा जाेड दिइन् ।

‘काठमाडौंमा पहिल्यैदेखि डबलीमा नाटक हुने गर्थ्यो । त्यसकारण काठमाडौंसँग रंगमञ्चको सम्बन्ध नजिकको छ । यस्ता नाटक महोत्सव भइरहनुपर्छ,’ उनले भनिन् । महोत्सवमा सहकार्य गर्न काठमाडौं महानगरपालिका सधैं तयार समेत रहेकाे उनले सुनाइन् ।

‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपाने महोत्सवको शीर्षक झैं युवाहरुको जोश/जागरले नै महोत्सव संभव भएकाे सुनाए । युवा जाेसले रङ्ग क्षेत्रमा केही प्रभाव छाेडाेस् भन्ने उनी चाहन्छन् । अभिनेत्री राईले युवा रंगकर्मीलाई यस किसिमको महोत्सवलाई निरन्तरता दिन उत्साह दिइन् ।

मण्डलाका थुप्रै कलाकारलाई वर्षौं खाना/खाजा/चिया खुवाएका ‘मामा’ टेकनाथ पराजुलीलाई सम्मान स्वरुप कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो ।

शनिवार र आइतवार देखाइने नाटकहरुमा प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ , अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर’ छन् ।

२३ गतेसम्म चल्ने यो महोत्सवमा नाटकसँगै गीत, कविता तथा नाटककै विषयमा छलफल तथा बहस समेत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?