जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गीतमा समेटिएको कर्णालीको कथा

‘बित्या महिना साल फर्की आइज हिरुलाल’

काठमाडौँ–

‘मुगु रारा ताल, कर्णालीका छाल

बित्या महिना साल फर्की आइज हिरुलाल

मेरा मुगा माला, कर्णालीका छाल

गया महिना साल फर्की आइज हिरुलाल ।’

कर्णालीमा गुनगुनाइने ठाडी भाका र देउडाको समिश्रणमा तयार पारिएको गीत ‘हिरुलाल’ हालै सार्वजनिक गरियो । सार्वजनिक हुनासाथ खुबै रुचाइएको यो गीतको भिडियोमा नेपालको दुर्गम भेग कर्णालीको ग्रामीण जीवनलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ ।

निर्देशक रतन देवकोटा यो गीतले कमाएको चर्चाबाट पुलकित छन् । लामो समय लगाएर तयार पारिएको उक्त गीति भिडियोले कर्णालीको कथा त बोलेको छ नै, नेपालका अन्य ठाउँबाट कर्णाली नियाल्ने दर्शकलाई कर्णालीको वास्तविक चित्र देखाएको छ ।

गीतका प्रत्येक शब्दमा रतन देवकोटाकी आमा मात्र नभएर परदेशिएकाहरुलाई कुरी बस्ने तमाम नेपाली महिलाहरुको पीडा मिसिएका छन् ।

सुखका सपना बुनेर दुई चार पैसा कमाइ गरी फर्कुँला भनेर गएका परदेशीहरुलाई घरदेशीहरु कुरी बसेको मर्मस्पर्शी भाव यसमा समेटिएका छन् ।

त्यसो त यी कथाहरू कर्णालीका मात्र नभएर नेपालकै साझा कथाहरू हुन् ।

कालीकोटका निर्देशक देवकोटालाई ती दिनहरु अझै स्मरणमा छन् । उनी सानै छँदा बुवा रोजगारीकै लागि भारत पसेका थिए । बुवा एकैपल्ट एक/दुई वर्षपछि मात्र घर फिर्थे । सञ्चारको माध्यम उही एउटा चिठ्ठीपत्र थियो । बुवाले बल्लतल्ल पठाएको चिठ्ठी अरुले पढ्दा उनकी आमा धुरधुरु रुन्थिन् र त्यसै एकोहोरिन्थिन् ।

त्यही समयलाई निर्देशक रतन देवकोटाले पर्दामा देखाउने निर्णय गरे ।

रतनलाई आमाले मध्यरातमा आफ्नो बह पोख्न ठाडी भाका गुनगुनाएको अझै पनि याद छ । त्यतिबेला आमाले किन राति गीत गाएकी थिइन्, भन्ने कुरा उनले अलि उमेर बढेपछि मात्र बुझे ।

श्रीमान् विदेशिनुको पीडा, एक्लैले घरवार र सन्तानको हेरचाह गर्नुपर्दाका सबै वेदनाहरु उनकी आमाले समाजको सामुन्ने दिउँसो रोएर भन्दा राति गीतैमार्फत पोखेकी रहेछिन् ।

उनले सानोमा कर्णालीमा उनकी आमा जस्तै थुप्रै आमाहरुलाई देखे । कर्णालीका लागि भारतको कालापहाड जस्ता स्थानहरु रोजगारीका लागि गन्तव्यहरु थिए । आज समय फेरियो, तर अवस्था फेरिएको छैन । कर्णालीबाट भारत जानेहरुका सन्तान आज कतार, मलेसिया, दुबई, साउदी जस्ता खाडी मुलुकमा जाने भएका छन् ।

खाडी मुलुकमा जाने कर्णालीबासी मात्र नभएर सिङ्गो देशका युवा पुस्ताहरु छन् । घर कुरी बसेका आमाहरु र श्रीमतीहरु पुकारी रहेका छन्, ‘बित्या महिना साल फर्की आइज हिरुलाल ।’ यही पीडालाई देवकोटाले साङ्गीतिक फिल्म ‘हिरुलाल’ मार्फत पस्केका छन् । जसमा उनी जस्ता थुप्रै युवाहरु र आम महिलाहरुको कथा समेटिएका छन् ।

‘हिरुलाल’मा कर्णालीको जनजीवन, परिवेश र संस्कृति मात्र नभएर सिङ्गो मुलुकले भोगिरहेको वैदेशिक रोजगारीमा युवा पलायनको मुद्दालाई देवकोटाले जीवन्त रुपमा देखाएका छन् ।

उनकै प्रस्तुति, परिकल्पना तथा निर्देशनमा साङ्गीतिक फिल्म निर्माण गरिएकाे हाे । फिल्मका लागि गीतको शब्द रचना उनले नै गरेका हुन् ।

साङ्गीतिक फिल्मको कथा, क्रियटिभ निर्देशन तथा प्रोडक्सन डिजाइन भने रङ्गकर्मी गोविन्द सुनारले गरेका छन् । साङ्गीतिक फिल्मको कथामा कर्णाली जुम्लाका हिरुलाल वैदेशिक रोजगारीकै निम्ति भिजिट भिसामा खाडी मुलुक गएका छन् । श्रीमान् विदेश गएपछि यता घरमा सानो छोरा र श्रीमती मात्र हुन्छिन् ।

विदेश गएपछि हिरुलालको सम्पर्क परिवारसँग हुँदैन । श्रीमानको अत्तोपत्तो नभएपछि हिरुलालकी श्रीमतीमा देखिएको मानसिक पीडा उक्त गीतमा देख्न सकिन्छ । आमाको एक्लोपन, निराशालाई तोड्न छोराले इन्टरनेटकै माध्यमबाट बुवालाई जोड्न गरेको सङ्घर्ष यसमा समेटिएको छ ।

छिमेकमा आएको इन्टरनेट लुकी लुकी प्रयोग गर्दा अपमान खेपेका उनले ढुङ्गा बटुलेर बिक्री गरी आएको रकमले घरमा इन्टरनेट जोड्छन् र आमालाई बुवासँग सम्पर्क गराइदिन्छन् । सुनारले पनि यसमा आफ्ना देखे/भोगेका कथाहरु नै जोडेका छन् ।

जुम्ला निवासी सुनारका अनुसार ब्ल्याक इन ह्वाइट टिभीको जमानाको कथालाई उनले यसमा उनले ल्याएका छन् । जतिबेला गाउँमा ब्ल्याक इन ह्वाइट टिभी एकाधको घरमा मात्र हुन्थे ।

टिभी हेर्नकै लागि गाउँमा भौतारिने बालापनका रहरहरु कथामा समावेश भएको उनी सुनाउँछन् । उनका अनुसार टिभी धनीले ब्ल्याक इन ह्वाइट टिभी हेर्न नदिएपछि गाउँका एकजना(महेन्द्र कार्की)ले जुम्लास्थित जुगाडा खोलाको ढुङ्गा ओसारेर बिक्री गरेको रकमले टिभी किनेको घटनाले उनको मन बिझाएको थियो । त्यहीबाट प्रेरित भएर उनले कथा लेखेका हुन् ।

उनी भन्छन्, ‘घरमा टिभी, इन्टरनेट नहुँदा खेरी जसको घरमा हुन्छ, त्यही गइन्थ्यो । त्यही कथाहरु यसमा छन् । अर्कोकुरा घरका श्रीमान् विदेशिएपछि श्रीमतीहरुमा हुने मानसिक पीडा र एक्लोपनालाई मनोवैज्ञानिक पक्षबाट हामीले देखाएका छौं । कर्णालीको भूभाग मात्र देखाइएको हो, यो कथा त हामी सबैको हो ।’

कर्णालीको देउडा, ठाडी भाका, भेषभुषा, परिवेश, कर्णालीका कुनाकन्दरा, संस्कृति, परम्परा र माटोको भूगोललाई समेत टपक्क टिपेर फिल्ममा देखाइएकै कारण कर्णालीलाई बुझ्नकै लागि सबैसामु फिल्म पुगोस् भन्ने निर्देशक देवकोटा चाहन्छन् ।

‘हामीले गीत र फिल्मका दृश्यहरुमा कर्णालीलाई एक्सपोज गरेका छौं । त्यहाँको परिवेश र युवाहरुको माइग्रेसनलाई देखाएका छौं । कर्णालीमा मात्र नभएर युवाहरुलाई प्रत्येक आमा र श्रीमतीहरुले फर्की आइज हिरुलाल नै भनिरहेका छन्,’ उनी भन्छन् ।

दृश्यहरुमा जुम्लाका विभिन्न स्थानहरुलाई समेटिएको देख्न सकिन्छ । विशेषत प्रविधि र सञ्चारले जोडिदिएको खुसी र सम्बन्धहरुलाई कथामा देख्न सकिन्छ ।

यद्यपि प्रविधिले पारेको नकारात्मक पक्षलाई भने देखाइएको छैन । कर्णालीको परिवेश मात्र नभएर त्यहाँको वर्ग सङ्घर्ष, सामाजिक यथास्थितिलाई साङ्गीतिक फिल्ममा देखाइएकोले आम दर्शकको माया र समर्थन पाउने देवकोटाको आशा छ ।

फिल्ममा रेणुनाथ योगी, चक्र बम र बाल कलाकारको रुपमा सञ्जय परियारको अभिनय देख्न सकिन्छ । ठाडी भाकामा बरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर दिएकी छिन् । गीतमा बम र रचना रिमालको पनि स्वर समावेश छ । म्युजिक कम्पोजमा बम नै छन् । सौरभ लामिछानेको छायाङ्कन र सम्पादन रहेको भिडियोमा गीतको संगीत निर्माण कोविद बज्रको रहेको छ ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?