जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्व

यी हुन् विश्वका शीर्ष दश धनी फुटबल क्लब, रियल मड्रिड र म्यान्चेस्टर युनाइटेडमा कसको सम्पत्ति कति?

काठमाडौँ– हालै युरोप र अमेरिकी महादेशका सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताहरु युरोकप र कोपा अमेरिका सम्पन्न भइसकेका छन् । युरोकपको उपाधि स्पेन र कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेर इतिहास रचिसकेका छन् ।

महादेशीय प्रतियोगिता सकिएसँगै अब केही समयपछि फुटबल लिगको नयाँ सिजन शुरु हुँदैछ । नयाँ सिजन शुरु भएसँगै युरोकप र कोपा अमेरिकामा राष्ट्रिय जसी लगाएर खेलेका खेलाडीलाई विभिन्न क्लबका जर्सीमा देख्न पाइनेछ ।

पछिल्लो समय बढ्दो लोकप्रियता र तीव्र प्रतिस्पर्धाका कारण फुटबल क्लबको आय र बजार मूल्य पनि बढ्दै गएको छ । अमेरिकी अखबार फोर्ब्सले संसारका सबैभन्दा धनाढ्य क्लबको सूची जारी गर्दै आएको छ । आखिर संसारकै सबैभन्दा धेरै बजार मूल्य भएका १० क्लब कुन होलान् ?

साँच्चै भन्दा हामीले सुन्दै र टेलिभिजनमा हेर्दै आएका क्लबहरु नै यो सूचीमा समेटिएका छन् । संसारकै सबैभन्दा धेरै बजार मूल्य भएका १० क्लबमा समावेश सबै क्लब युरोपेली लिगमा खेल्छन् । यो सूचीमा सबैभन्दा धेरै इङिग्लश क्लब समेटिएका छन् ।

यो सूचीमा ६ वटा क्लबले इङ्ग्लिश प्रिमियर लिग खेल्छन् । त्यसैगरी, यो सूचीमा स्पेनका दुई तथा जर्मनी र फ्रान्सका समान एउटा क्लब परेका छन् ।

आखिर संसारका सबैभन्दा धेरै बजार मूल्य भएका १० फुटबल क्लब कुन होला ? आज हामी यसबारे चर्चा गर्न चाहन्छौँ

रियल मड्रिड

विश्वका सबैभन्दा धेरै बजार मूल्य भएका फुटबल क्लबको शीर्ष स्थानमा स्पेनको रियल मड्रिडको नाम आउँछ । यो क्लबले स्पेनी ला लिगाको उपाधि ३५ पटक जितिसकेको छ । फोर्ब्सका अनुसार यो क्लबको बजार मूल्य ६ अर्ब ६० करोड अमेरिकी डलर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।

मड्रिडमा रहेको सान्टियागो बर्नाबाउ रंगशालामा घरेलु खेल खेल्दै आएको रियल मड्रिडमा केलियन एम्बाप्पे, जुड बेलिङ्घम, भिनिसियज जुनियर, ड्यानी कार्भाहाल, थिबाउ कोरत्वा, एडुआर्डो कामाभिङ्गाजस्ता खेलाडी रहेका छन् । क्लबका प्रशिक्षक भने इटालीका कार्लो एन्सेलोटी हुन् । रियलले गत सिजनको ला लिगा र युएफा च्याम्पियन्स लिग जितेको थियो ।

म्यान्चेस्टर युनाइटेड

विश्वका सबैभन्दा धेरै बजार मूल्य भएका क्लबको सूचीमा दोस्रो स्थानमा म्यान्चेस्टर युनाइटेडको नाम आउँछ । फोर्ब्सका अनुसार इङ्ग्लिश प्रिमियर लिग खेल्ने म्यान्चेस्टर युनाइटेडको कुल बजार मूल्य ६ अर्ब ५५ करोड अमेरिकी डलर रहेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी रहेको फोर्ब्सले जनाएको छ । यो क्लबले इङ्ग्ल्याण्डको घरेलु लिगमा २० वटा उपाधि जितिसकेको छ ।

 म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा घरेलु खेल खेल्ने यो क्लबमा मार्कस राशफोर्ड, कासेमिरो, आन्द्रे ओनाना, ब्रुनो फर्नान्डेज, कोबी माइनो, क्रिस्टियन एरिकसन, मासन ग्रिनउड, ह्यारी मगवायर, आरोन वान बिसाकाजस्ता खेलाडी रहेका छन् । डच प्रशिक्षक एरिक टेन हागले यो क्लबको व्यवस्थापन गर्दै आएका छन् । गत सिजन यो क्लब लिगको आठौँ स्थानमा रहेको थियो ।

बार्सिलोना

विश्वका सबैभन्दा धनी फुटबल क्लबको सूचीमा बार्सिलोना तेस्रो स्थानमा आउँछ । यो सूचीमा समावेश बार्सिलोना दोस्रो स्पेनी क्लब हो । फोर्ब्सका अनुसार बार्सिलोनाको कुल बजार मूल्य ५ अर्ब ६० करोड अमेरिकी डलर रहेको छ । फोर्ब्सका अनुसार यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले धेरै हो ।

बार्सिलोनाले क्लबले हालसम्म २७ वटा घरेलु लिग जितिसकेको छ । बार्सिलोनामा रहेको क्याम्प नोउमा घरेलु खेल खेल्ने बार्सिलोनामा रोबर्ट लेवान्डोस्की, पेड्री, जोआओ फेलिक्स, राफिन्हा, रोनाल्ड अराउहो, लामिन यामाल, गाभी, अन्शु फाती, फ्राङ्की डि योङ, इल्काए गुन्डुवान, क्लेमेन्ट लेङ्ग्लेजस्ता खेलाडी रहेका छन् ।

यस क्लबलाई जर्मनीका हान्सी फ्लिकले प्रशिक्षण दिँदै आएका छन् । बार्सिलोना गत सिजनमा यो क्लब अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो ।

लिभरपुल

यो सूचीको चौथो नम्बरमा अर्को इङ्ग्लिश क्लब लिभरपुल रहेको छ । लिभरपुलको कुल बजार मूल्य ५ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ । फोर्ब्सका अनुसार अघिल्लो वर्षका तुलनामा २ प्रतिशतले धेरै हो । लिभरपुलले १९ पटक घरेलु लिग जितिसकेको छ ।

लिभरपुलको घरेलु मैदान एन्फिल्ड हो । यस क्लबमा भर्जिन भान डाइक, अलिसन बेकर, मोहम्मद सलाह, लुइस डियाज, डियोगो जोटा, एन्ड्रियु रोबर्टसन, जो गोमेज, ट्रेन्ट अलेक्जाण्डर अर्नोल्ड, फाबियो कार्भाल्हो, जेम्स मक्कोनेलजस्ता खेलाडी रहेका छन् ।

 डच प्रशिक्षक आर्ने स्लट यो क्लबमा आबद्ध छन् । अघिल्लो सिजन यो क्लब इङ्ग्लिश प्रिमियर लिगको तेस्रो स्थानमा रहेको थियो ।

म्यान्चेस्टर सिटी

विश्वका सबैभन्दा धेरै बजार मूल्य भएका फुटबल क्लबको सूचीमा म्यान्चेस्टर सिटी पाचौँ नम्बरमा रहेको छ । फोर्ब्सका अनुसार सन् १८८० मा स्थापना भएको म्यान्चेस्टर सिटीको कुल बजार मूल्य ५ अर्ब १० करोड अमेरिकी डलर रहेको छ ।

यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले धेरै हो । म्यान्चेस्टर सिटीले हालसम्म ९ पटक घरेलु लिग जितिसकेको छ । म्यान्चेस्टर शहरकोे इत्तेहाद रंगशालामा यो क्लबले घरेलु खेल खेल्ने गरेको छ । म्यान्चेस्टर सिटीमा एर्लिङ हाल्याण्ड, केभिड डि ब्रुएन, ज्याक ग्रियलिश, कायल वाकर, बर्नाडो सिल्भा, रुबेन डियास, जोआओ कान्सेलो, एडरसन, फिल फोडनजस्ता खेलाडी आबद्ध छन् ।

स्पेनी प्रशिक्षक पेप ग्वार्डिओलाले यो क्लबको व्यवस्थापन सम्हाल्दै आएका छन् । गत सिजन म्यान्चेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो ।

बायर्न म्युनिख

विश्वको सबैभन्दा धेरै बजार मूल्य भएका १० फुटबल क्लबको छैटौँ नम्बरमा बायर्न म्युनिखको नाम आउँछ । यो सूचीमा पर्न सफल यो एकमात्र जर्मन क्लब हो । सन् १९०० मा स्थापना भएको बायर्न म्युनिखको कुल बजार मूल्य ५ अर्ब अमेरिकी डलर रहेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले धेरै रहेको फोर्ब्सले जनाएको छ । यो क्लबले म्युनिखमा रहेको आलियान्ज एरिनामा आफ्ना घरेलु खेल खेल्दै आएको छ । क्लबमा ह्यारी केन, थोमस मुलर, म्यानुएल न्युअर, जमाल मुसियाला, मथिएस डे लिट, लियोन गोरेज्का, जोशुवा किमिच, लिरोय साने, अल्फोन्सो डेभिस, सर्ज गनाब्रीजस्ता खेलाडी आबद्ध छन् ।

बेल्जियमका भिन्सेन्ट कोम्पनीले बायर्न म्युनिखमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । अघिल्लो सिजन बायर्न बुण्डेस्लिगाको तेस्रो स्थानमा रहेको थियो ।

पेरिस सेन्ट जर्मेन

विश्वका सबैभन्दा धेरै बजार मूल्य भएका १० फुटबल क्लबको सातौँ नम्बरमा पेरिस सेन्ट जर्मेन रहेको छ । पेरिस यो सूचीमा पर्न सफल एकमात्र फ्रेन्च क्लब हो ।

सन् १९७० मा स्थापना भएको यो क्लबको बजार मूल्य ४ अर्ब ४० करोड अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढी हो । पेरिसको पार्क डे प्रिन्समा यो क्लबले घरेलु खेल खेल्ने गरेको छ ।

क्लबमा जियालुइजी डोनारुमा, ओसुमान डेम्बेले, रन्डाल कोलोे मुआनी, लुकास हर्नान्डेज, अशरफ हकिमी, मार्को असेन्सियो, प्रेस्नेल किम्पेम्बे, फबियान रुइज, मार्किन्होस, कार्लोस सोलेर, रेनाटो सान्चेजजस्ता खेलाडी रहेका छन् । स्पेनका लुइस इनरिकेले यो क्लबमा प्रशिक्षण गर्दै आएका छन् । अघिल्लो सिजन यो क्बलले लिग १ को उपाधि नै उचालेको थियो ।

टोटनहम हट्स्पर

संसारका सबैभन्दा धेरै बजार मूल्य भएका १० फुटबल क्लबको सूचीमा अर्को इङ्ग्लिश क्लब टोटनहम हट्स्पर पनि परेको छ । यो क्लब सूचीको आठौँ स्थानमा छ ।

फोर्ब्सका अनुसार सन् १८८२ मा स्थापना भएको यो क्लबको कुल बजार मूल्य ३ अर्ब २० करोड अमेरिकी डलर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले धेरै हो । लण्डनको टोटनहममा रहेको रंगशालामा यो क्लबले घरेलु खेलहरु खेल्ने गरेको छ ।

क्लबमा सोन ह्युङ मिन, रिचार्लिसन, जेम्स मेडिसन, रोड्रिगो बेन्टान्कुर, क्रिस्टियन रोमेरो, टिमो वेर्नर, पेद्रो पोरो, जियोभानी लोसेल्सो, बेन डेभिसजस्ता खेलाडी आबद्ध छन् । यो क्लबलाई ग्रिसका एङ्गे पोस्टेकोग्लुले प्रशिक्षण दिँदै आएका छन् । अघिल्लो सिजन यो क्लब प्रिमियर लिगमा पाचौँ स्थानमा रहेको थियो ।

चेल्सी

विश्वका सबैभन्दा धेरै बजार मूल्य भएका फुटबल क्लबको नवौँ स्थानमा चेल्सी परेको छ । यो सूचीमा पर्न सफल यो पाचौँ इङ्ग्लिश क्लब हो । फोर्ब्सका अनुसार चेल्सीको कुल बजार मूल्य ३ अर्ब १३ करोड अमेरिकी डलर रहेको छ ।

अघिल्लो वर्षको तुलनामा यो १ प्रतिशतले धेरै हो । लण्डनको फुल्हममा रहेको स्टामफोर्ड ब्रिजमा यो क्लबले घरेलु खेलहरु खेल्ने गरेको छ ।

यो क्लबमा रोमेलु लुकाकु, रहिम स्टर्लिङ, एल्फी गिलक्रिस्ट, वेस्ली फोफाना, डेभिड वाशिङ्टन, बेन चिलवेल, केपा आरियाबालागा, रिस जेम्स, मार्क कुकुरेल्ला, कोल पाल्मार, रोमेयो लाभियाजस्ता खेलाडी रहेका छन् ।

यो क्लबलाई इटालीका एन्जो मारेस्काले प्रशिक्षण दिँदै आएका छन् । गत सिजन चेल्सी प्रिमियर लिगको छैटौँ स्थानमा रहेको थियो ।

आर्सनल

संसारका सबैभन्दा धेरै बजार मूल्य भएका १० फुटबल क्लबको सूचीमा अर्को इङ्ग्लिश क्लब आर्सनल दशौँ स्थानमा छ । फोर्ब्सका अनुसार आर्सनलको कुल बजार मूल्य २ अर्ब ६० करोड अमेरिकी डलर रहेको छ ।

अघिल्लो वर्षको तुलनामा यो १५ प्रतिशतले बढी हो । आर्सनलले लण्डनको होलोवेमा रहेको इमिरेट्स रंगशालामा घरेलु खेलहरु खेल्दै आएको छ । सन् १८८६ मा स्थापना भएको यो क्लबमा मार्टिन ओडेगार्ड, बुकायो साका, विलियम सलिबा, डेभिड राया, काइ हाभर्ज, बेन ह्वाइट, गाब्रियल जिजस, डेक्लन राइस, जोर्गिन्हो, आरोन राम्सडेल, फबियो भिएराजस्ता खेलाडी आबद्ध छन् ।

यो क्लबलाई स्पेनका मिकेल आर्टेटाले प्रशिक्षण दिँदै आएका छन् । गत सिजन आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?