जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

व्यक्ति

संसारकै सबैभन्दा सफल शेयर लगानीकर्ता वारेन बफिट यस्तो जीवन बाँच्छन्, अर्बौँको सम्पत्ति दान गर्न चाहन्छन्

काठमाडौँ– नेपालमा धितोपत्र बजारले २४ अंक पार गरेसँगै शेयर लगानीकर्ताबारे चासो बढेर गएको छ । पछिल्ला केही दिनयता तीव्र गतिमा बढिरहेको शेयर बजार मापक नेप्से परिसूचक बिहीबार ५९.६८ अंकले बढ्दै २४३४.३२ विन्दुमा पुगेको हो ।

यससँगै नेपालका लगानीकर्तामा नयाँ उत्साहको सञ्चार भएको छ । यससँगै शेयर बजार, यसका लगानीकर्ता र कारोबारका बारेमा चासो बढ्दै गएको हो ।

आखिर संसारका सबैभन्दा सफल शेयर लगानीकर्ता को होलान् ? उनले कति कमाएका होलान् ? र, उनको जीवनशैली कस्तो होला ? आखिर संसारका सबैभन्दा सफल शेयर लगानीकर्ता को हुन् ?

पक्कै पनि संसारका सबैभन्दा सफल लगानीकर्ता भनेर अमेरिकी लगानीकर्ता वारेन बफिटलाई चिनिन्छ । लगानी व्यवस्थापन कम्पनी ब्रेकशर हाथावेमा उनी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हुन् ।

हाल उक्त कम्पनीको कुल सम्पत्ति ११ खर्ब डलर छ । यो वर्ष मात्रै कम्पनीले ३ खर्ब ६९ अर्ब डलरको आम्दानी गरेको छ । नेब्रास्का राज्यको ओमाहामा मुख्यालय रहेको यो कम्पनीले लगानी व्यवस्थापनसँगै, बीमा, पुनर्बीमा, ऊर्जा, घरजग्गाजस्ता क्षेत्रमा पनि हात हालेको छ । ब्रेकशर हाथावेको पूर्ण स्वामित्वमा ६० भन्दा धेरै कम्पनी छन् ।

त्यसबाहेक अरु थुप्रै कम्पनीमा पनि हाथावेको आंशिक स्वामित्व रहेको छ । अमेरिकी अखबार फोर्ब्सका अनुसार बफिटले सन् १९६५ मा खरिद गरेको यो कम्पनीको खुद नाफा भने यस वर्ष ७३ अर्ब ४० करोड डलभन्दा धेरै छ ।

कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी बफिटसँग कम्पनीको १६ प्रतिशत मताधिकारसहितको स्वामित्व रहेको छ ।

ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार बफिटको कुल सम्पत्ति १ खर्ब ३५ अर्ब अमेरिकी डलर रहेको छ । उनी सांसरका १० औँ धनाढ्य व्यक्ति समेत हुन् । उनी अहिले ९३ वर्षका छन् । आगामी अगस्ट ३० का दिन उनी ९४ वर्ष लाग्दैछन् ।

सन् १९३० मा ओमाहामा जन्मेका उनले सानै उमेरदेखि लगानी गर्न थालेको बताइन्छ । ११ वर्षको उमेरमा उनले आफ्नो जीवनकै पहिलो लगानी गरेका थिए । त्यस लगानीबाट उनले ४.६ प्रतिशत नाफा आर्जन गरेको थिए ।

फोर्ब्सका अनुसार उनले १३ वर्षको उमेरमा नै सरकारलाई पहिलो पटक कर तिरेका थिए । किशोरावस्थामा उनले पत्रिका बेच्ने गरेका थिए । उनले पत्रिका बेचेर महिनाको १७५ डलरसम्म कमाउने गरेका थिए । १६ वर्षको उमेरमा उनले ५३ हजार डलर कमाइसकेका थिए ।

उच्च शिक्षा अध्ययनका क्रममा उनले आफ्ना लगानीबाट धेरै प्रतिफल प्राप्त गरिसकेका थिए । नेब्रास्का विश्वविद्यालय र पेन्सिलभेनिया विश्वविद्यालयको ह्वार्टन विद्यालयमा अर्थशास्त्रको अध्ययन गरेका उनले लगानीबारे सैद्धान्तिक ज्ञान भने कोलम्बिया विश्वविद्यालयमा अध्ययन गर्दा पाएका थिए ।

कोलम्बियामा उनलाई लगानीमा ‘भ्यालु इन्भेस्टमेन्ट’ सिद्धान्तका प्रतिपादक बेन्जामिन ग्राहमले पढाएका थिए । गुरुको सोही ‘भ्यालु इन्भेस्टमेन्ट’ को सिद्धान्तलाई उनले आफ्नो लगानी करिअरमा सफलतापूर्वक प्रयोग गरे । सन् १९५० को दशकका केही वर्ष आफ्नै बाबुको बफिट–फाल्क कम्पनीमा लगानी बिक्रेताको काम गरेका उनले सन् १९५४ मा उनै बेन्जामिन ग्राहमको ग्राहम–न्युम्यान कम्पनीमा सुरक्षा विश्लेषकको कामसमेत गरेका थिए ।

आफ्नो लगानीयात्राका शुरुवाती चरणमा बफिटले सरकारी कर्मचारीको बीमा संस्था (गेइको) र रकउडजस्ता कम्पनीको शेयर खरिद गरेका थिए । शेयरमा लगानी सफल हुँदै जाँदा उनले सन् १९५६ मा बफिट एसोशिएट्स नामक लगानी व्यवस्थापन कम्पनी स्थापना गरेका थिए ।

कम मूल्यांकन भएका कम्पनी छनोट गरी लगानी गर्ने बफिटको कला नै हो । ‘भ्यालु इन्भेस्टमेन्ट’ को सिद्धान्तमा आधारित रहेर उनले भविष्यमा ठूलो लाभ दिने कम्पनी छनोट गर्छन् । त्यस कम्पनीमा केकस्ता जोखिम छन् भन्ने विश्लेषण गर्छन् ।

कम्पनीको व्यवस्थापन कसरी चलेको छ, बजारमा त्यस कम्पनीको प्रतिस्पर्धात्मक अवस्था कस्तो छ, विगतमा कम्पनीले के कति वृद्धि हासिल गरेको छ र भविष्यमा त्यस कम्पनीले कति लाभ दिन सक्छ ?

सूक्ष्म विश्लेषणपछि ती कम्पनीले राम्रो लाभ दिने देखेमा बल्ल लगानी गर्छन् । उनी धेरै जोखिम भएका वा जोखिम मोलेर धेरै आम्दानी हुने किसिमका कम्पनीमा लगानी गर्न हिचकिचाउँछन् । उनी दीर्घकालीन प्रकृतिका लगानी गर्न माहिर नै मानिन्छन् ।

ब्रेकशर हाथावेको खरिद

सन् १९६० को दशकसम्म आइपुग्दा बफिटको लगानी पोर्टफोलियो राम्रैसँग विस्तार भइरहेको थियो । सन् १९६२ सम्म आइपुग्दा उनको सम्पत्ति १० लाख डलरभन्दा धेरै भइसकेको थियो । त्यसबेला उनले ब्रेकशर हाथावे नामक टेक्सटाइल उत्पादन कम्पनीको पनि शेयर खरिद गरेका थिए । त्यसबेला कम्पनीको अवस्था भने खासै गतिलो थिएन । तैपनि केही समयपछि उक्त कम्पनी टाट पल्टिने र नयाँ व्यवस्थापनले शेयरधनीलाई लगानी फिर्ता गर्ने बफिटको सोचाइ थियो ।

कम्पनीका अध्यक्ष सिबरी स्टान्टनले कम्पनी टाट पल्टेपनि ब्रेकशर हाथावेमा बफिटले लगानी गरेको शेयरको पैसा फिर्ता दिने आश्वासन दिएका थिए । श्ुरुमा दुईबीच ११.५० डलर प्रतिकित्ता बफिटलाई दिइने सम्झौता भएको थियो । तर, स्टान्टनले बफिटलाई केबल ११.३७५ डलर प्रतिकित्ता मात्र दिए । यसबाट क्रुद्ध बनेका बफिटले सस्तो दरमा पैसा फिर्ता नलिने बरु कम्पनीका थप शेयर किन्ने र कम्पनीलाई आफ्नो बनाउने विचार गरे । सन् १९६५ मा आयोजित कम्पनीको सभामा बफिटले कम्पनीमा आफ्नो नियन्त्रण कायम गरी स्टान्टनलाई पाखा लगाए ।

त्यसअघिसम्म टेक्सटाइल उत्पादनमा सक्रिय हाथावेले बफिटको आगमनसँगै बीमा, घरजग्गा तथा अन्य वित्तीय कारोबारमा हात हाल्यो । सन् १९८५ सम्म आइपुग्दा हाथावेले आफ्नो टेक्सटाइल कारखाना बन्द गरिसकेको थियो ।

पछिल्लो प्रतिवेदनअनुसार बफिटले कम्पनी खरिद गरेयता ब्रेकशर हाथावेले आफ्ना लगानीकर्तालाई ४३ लाख ८४ हजार ७ सय ४८ प्रतिशत नाफा दिलाइसकेको छ ।

जुन अमेरिकाको प्रतिष्ठित एसएण्डपी ५०० स्टक एक्सचेन्जको ३१ हजार २ सय २३ प्रतिशतभन्दा १४० गुणा धेरै हो । पछिल्लो समय बफिटले एप्पल, बैंक अफ अमेरिका, अमेरिकन एक्सप्रेस, कोका कोलाजस्ता कम्पनीमा लगानी गरेका छन् ।

संसारकै सबैभन्दा धनाढ्यको सूचीमा आउने भएपनि बफिट सामान्य जीवनशैलीका लागि परिचित छन् । उनी सन् १९५० को दशकमा खरिद गरेको घरमै बस्छन् । आफू बस्ने घर उनले सन् १९५८ मा ३१ हजार ५ सय डलरमा खरिद गरेका थिए ।

उनी चढ्ने कार पनि अति विलासी वा महङ्गो छैन । उनी म्याकडोनाल्ड्समा नास्ता खान्छन् भने कोकाकोला पिउन औधी रुचाउँछन् । एचबीओलाई बताएअनुसार उनी दिनमा पाँचवटा कोक पिउँछन् ।

उनले प्रयोग गर्ने फर्निचर पनि पुराना छन् । धेरै घर किन्ने, धेरै कार चढ्ने रहर आफूलाई कहिल्यै नलागेको उनले सीएनबीसीलाई बताएका छन् ।

उनी पहिले लिंकन टावर कार २००१ चढ्थे । त्यो कार उनले लिलाम गरिदिए । त्यसपछि काडिलाक डीटीएस २००६ चढ्न थाले । पछि सन् २०१४ मा उनले काडिलाक एक्सटीएस किने । वार्षमा केबल ३५ सय माइलमात्र यात्रा गर्ने भएकाले आफूलाई महङ्गो कार किन्नुपर्ने जरुरी नै नरहेको उनले फोर्ब्सलाई बताएका छन् ।

उनले लामो समय २० डलरमा किनेको सामसुङको फ्लिपफ्लप फोन चलाउँथे । पछि मात्र उनले आईफोन बोक्न थालेका थिए । उनी उकुलेले बजाउन रुचाउँछन् । उकुलेले बजाउने उनको सोख बाल्यकालदेखिकै हो । उनले सन् २०२० मा खुलासा गरेअनुसार उनीसँग २२ वटा उकुलेले छन् ।

उनी अर्का अर्बपति बिल गेट्सका मिल्ने साथी हुन् । उनीहरुबीच लामो समयदेखि दोस्तीयारी रहेको बताइन्छ । उनी संसारकै सबैभन्दा मनकारी अर्बपति पनि मानिन्छन् । सन् २००६ मा उनले ब्रेकशरमा रहेको आफ्नो ८५ प्रतिशत शेयर बराबरको सम्पत्ति दान गर्ने घोषणा गरेका थिए । सन् २०१० मा उनले बिल गेट्ससँग मिलेर ‘द गिभिङ प्लेज’ को घोषणा गरेका थिए । उनले आफ्नो सम्पत्तिको ९९ प्रतिशत जीवनकालमै वा आफ्नो शेषपछि परोपकारी कार्यमा दान गर्ने बताएका थिए ।

सन् २०२३ सम्म आइपुग्दा उनले ५० अर्ब डलर बराबरको सम्पत्ति परोपकारी कार्यका लागि दान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?