जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्वास्थ्य

मेहन्दीले स्वास्थ्यमा कस्तो असर पार्छ ?

साउन महिना लागेसँगै बजारमा मेहेन्दी लगाउने महिलाहरुको चहलपहल शुरु भइसकेको छ । यस महिनामा महिलाले हरिया रङ्गका कपडामा सजिएर हातभरि हरियो नै चुरा र मेहन्दी लगाएर सजिने गर्छन् ।

यसपछि आउने तीजमा पनि महिलाहरु मेहेन्दी, चुरा लगाएर सजिने गर्छन् । हातमा लगाउने मेहेन्दीले महिलाहरुको सौन्दर्य बढाएपनि यसको नकारात्मक प्रभावबारे भने हामीले बेवास्ता गरिरहेका हुन्छौं । अझ पछिल्लो समय कसको हातमा मेहन्दीको रङ गाढा बस्यो भन्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । तर गाढा बस्ने मेहेन्दीले हाम्रो स्वास्थ्यमा कतिको प्रतिकुल असर पार्छ भन्ने कुरामा हाम्रो ध्यान पुगेको छैन ।

संस्कारकै पक्षमा हेर्दा हातमा मेहेन्दी लगाउने चलनको शुरुवात भारत र मध्यपूर्वमा भएको मानिन्छ । नेपालमा पनि यसको चलन देखिएपनि बजारिया मेहन्दी आउनुपूर्व घरमै मेहन्दी बनाएर लगाउने चलन थियो । नेपालमा अहिले युवा पुस्तामा बढ्दो मेहेन्दी क्रेज देखिन्छ ।

विभिन्न विवाह जस्ता विभिन्न समारोह पनि मेहेन्दीको लगाउने प्रचलन बढेको छ । संस्कृतिका विज्ञहरुका अनुसार साउन महिनामा विशेष गरी प्रकृतिसँग तालमेल मिलाउन हरियो पहिरन, हरियो चुरा र मेहेन्दी लगाइने प्रचलन सिको गरेको पाइन्छ । तर प्रकृतिसँग तालमेल मिलाउन अप्राकृतिक केमिकलयुक्त मेहेन्दीको प्रयोगले भने मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छालारोग विशेषज्ञहरु बताउँछन् ।

‘मेहन्दी लगाउनु स्वास्थ्यका लागि कति हानिकारक छ,’ ‘कस्ता खालका मेहेन्दी प्रयोग गर्नुपर्छ,’ मेहेन्दी लगाउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ’ लगायत प्रश्नहरुमा केन्द्रित रहेर पाटन अस्पतालमा कार्यरत वरिष्ठ चर्म, यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. विकास पौडेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

मेहेन्दीले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्दछ?

यो कुरा मुख्यतया तपार्इंको छाला कत्तिको संवेदनशील छ भन्ने कुरामा पनि भर पर्छ । अर्को भनेको तपाईं कुन मेहेन्दी, कति केमिकल मिसाइएको लगाउँदै हुनुहुन्छ भन्ने कुरा मुख्य हो । पहिलो कुरा के बुझ्न आवश्यक छ भने अहिले बजारमा बिक्रिका लागि राखिने सबै प्रकारका मेहेन्दीमा अनेकौँ केमिकल मिसाइएको हुन्छ । हाम्रो छालामा केमिकलले नकारात्मक असर गर्छ ।

यसकारण मेहन्दी लगाएका दिदीबहिनिहरु हातभरी फोका लिएर अस्पताल आउनुहुन्छ । मेहेन्दीले हातमा फोका आउने, चिलाउने, पानी बग्ने जस्ता साइड इफेक्ट निम्त्याउन सक्छ । यसकारण पहिला थोरै मेहन्दी हातमा लगाएर ट्राई गर्दा केही असर देखिएन भने मात्रै पूरा मेहन्दी लगाउन सकिन्छ । केही साइड इफेक्ट देखिएमा साबुन पानीले तुरुन्त हात धुनुपर्छ र समस्या बढ्दै गएमा चिकित्सकको परामर्श समेत लिनुपर्दछ ।

के मेहन्दीको प्रयोग गर्नै नहुने हो ?

प्राकृतिक मेहन्दी आफैँमा नराम्रो होइन । तर, मेहन्दी गाडा बनाउन प्रयोग हुने विभिन्न केमिकलले भने विशेष गरी हाम्रो छालामा असर गर्दछ । कृत्रिम रुपमा बनाइने मेहेन्दीमा विशेष गरी ‘पारा फेनाइलेने दायमाइन’ नामक रसायन मिसाइएको हुन्छ । जुन केमिकल स्वास्थ्यका लागि निकै हानिकारक तत्त्व मानिएको छ । त्यस्तै, प्राकृतिक मेहेन्दीका रुपमा लसनिया इनर्मिस भन्ने बोटको पात प्रयोग गरिन्छ ।

यो प्राकृतिक भएकाले यसले खासै असर गर्दैन । तर प्राकृतिक मेहेन्दीले पनि केही व्यक्तिमा असर गर्ने हुँदा एलर्जीको समस्या देखिन सक्छ । अहिले बजारमा पाइने तयारी मेहन्दीमा रङ गाढा बनाउन तथा लामो समयसम्म टिकाउन प्रयोग हुने केमिकलले भने असर पार्छ ।

मेहेन्दी गाढा बस्यो भने हामी राम्रो मान्छौं, स्वास्थ्यका हिसाबले यो कतिको राम्रो हो ?

मेहेन्दी गाढा बस्यो भने राम्रो मान्ने र गाढा बनाउन अन्य रसायनिक कलरहरुको प्रयोग गर्नु बिलकुलै गलत हो । एक त मेहन्दी आफैंमा हानिकारक रसायनहरु मिसाएर बनाइएको हुन्छ । गाढा बनाउन त्यसमा झन् अन्य रसायनहरुको प्रयोग गर्दा कम्बाइन इफेक्ट अर्थात् रसायनहरुको मिश्रित असरले झन स्वास्थ्यमा असर पार्छ । यसकारण यस्तो काम गर्नुहुँदैन ।

मेहेन्दी लगाउने आम महिलाहरुलाई तपाई के सुझाव दिन चाहनुहुन्छ ?

प्राकिृतक रङहरुको प्रयोग गरेर मेहेन्दी लगाउनु सबैभन्दा राम्रो हो । तर अहिले बजारमा त अनेकथरीका मेहेन्दी जस्तै बाटोहरुमा मेहन्दीको छाप लगाउन बरिरहनुभएको पनि हामीले देखिरहेका हुन्छौं । त्यस्ता मेहेन्दीहरुमा विभिन्न प्रकारका केमिकलहरुको प्रयोग गरिएको हुन्छ ।

यसकारण एकपटक लगाउँदा केही साइड इफेक्ट देखिएन भने ढुक्कसँग लगाउन सकिन्छ । यसका लागि पहिला थोरै लगाए टेस्ट गर्नु उत्तम हुन्छ । शुरुवातमै तपाईंको छालामा चिलाउने, पोल्ने भएन भने त्यसपछि पूरै लगाउन सक्नुहुन्छ । सकेसम्म बजारमा पाइने केमिकल मिसिएका मेहन्दीहरुको प्रयोग नगर्दा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?