क्युएफएक्सले गर्‍यो सबैभन्दा बढी कमाइ गर्ने पाँच नेपाली फिल्मका निर्मातालाई सम्मान

काठमाडौँ– नेपालको ठूलो चेन भएको ‘क्युएफएक्स’ले गत आर्थिक वर्षमा आफ्ना हलमा सबैभन्दा उत्कृष्ट व्यापार गर्ने नेपाली चलचित्रका निर्मातालाई सम्मान गरेको छ ।

आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी क्युएफएक्सले निर्माता र वितरकलाई विशेष अवार्ड सम्मान गरेको हो ।

क्युएफएक्स चेनमा गत आर्थिक वर्षमा महाजात्रा, बोक्सीको घर, दिमाग खराब, पुजार सार्की र भष्मे डनले सबैभन्दा बढी कमाइ गरेका हुन् ।

कार्यक्रममा चलचित्रका निर्माता निर्देशक र कलाकारलाई समेत अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा निर्माता सुवास भुसालले ‘पुजार सार्की’ का लागि अवार्ड ग्रहण गरे भने ‘बोक्सीको घर’ का लागि निर्माता तथा अभिनेत्री केकी अधिकारीले अवार्ड थापिन् ।

यस्तै निर्देशक प्रदीप भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले ‘महाजात्रा’ का लागि अवार्ड थापे भने ‘दिमाग खराब’ का लागि निर्देशक निश्चल बस्नेतले अवार्ड ग्रहण गरे ।

यस्तै दीपेन्द्र के खनालले ‘भष्मे डन’ का लागि अवार्ड ग्रहण गरे ।

कार्यक्रममा क्युएफएक्सले एप्पल इन्टरटेनमेन्ट, एएट डिस्ट्रिब्युसन, ब्याङ्कटेस इन्टरटेनमेन्ट, एफडी कम्पनी र डीसीएनलाई पनि सम्मान गरेको थियो ।

क्युएफएक्स चेन अन्तर्गत अहिले १७ वटा मल्टिप्लेक्स हलमा ४० पर्दा छन् । नेपाली फिल्म मेकरले यी हलमा धेरै शो पाए भने फिल्मको आम्दानी सुरक्षित हुने विश्वास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?