जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘रेड नोटिस’ जारी गरिएका तीन जनालाई दुबईबाट पक्राउ गरी ल्याइयो

काठमाडौँ – नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

यसरी पक्राउ पर्नेमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ काठमाडौँ ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।

यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७० साउन २४ गते कबिर बुढाथोकी र विसं २०८१ असार १२ गते रोमन कार्की विरुद्ध रेड नोटिस जारी भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि आज बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?