जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सेलिब्रेटी

नेपालीमा आफू सफल हुनेभन्दा अरुलाई पछारेर बराबर बनौँ भन्ने प्रवृत्ति छ: दीपकराज गिरी

सामाजिक सञ्जालमा साइबर आक्रमण गर्छन्, तर मलाई खासै फरक पर्दैन

काठमाडौँ– निर्माता तथा कलाकार दीपकराज गिरीले नेपालमा हरेक क्षेत्रमा नकात्मक कुरा मात्र हाबी भएको बताएका छन् । उनले सिनेमा क्षेत्रमा मात्र नभएर राजनीति र सामाजिक हरेक विषयमा नकारात्मक टिप्पणी हाबी भएको बताएका हुन् ।

साथै उनले सामाजिक सञ्जाल प्रयोगकर्ताले बिहानदेखि बेुलकासम्म नकारात्मक कुराको मात्र टिप्पणी गर्ने बताए । जोय नेपालसँगको कुराकानीमा उनले भने, ‘बिहान उठेदेखि रातिसम्म नै सामाजिक सञ्जाल हेरिसाध्य छैन, जे विषयमा पनि नकारात्मक कुरा मात्र भइरहेको देख्छु, फिल्म क्षेत्रमा पनि यसको प्रभाव नपर्ने कुरै भएन ।’

गिरीले फिल्म रिलिजका क्रममा रहेका बेला कतिपयले आफूमाथि साइबर आक्रमण गरेको पनि बताए । उनले सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये कतिपयले नक्कली खाता बनाएर आफू र आफ्नो टिमलाई गाली गर्ने गरेको बताए ।

‘अहिले साइबरको जमाना छ, सामाजिक सञ्जालमा उचाल्ने र पछार्ने धेरै छन्, तर मलाई यो विषयमा त्यति बोल्नु आवश्यक लाग्दैन, यसलाई मैले सामान्य रुपमा लिन्छु,’ उनले भने ।

आफूले तीस वर्षदेखि फिल्म उद्योगमा काम गरेको र व्यक्तिगत रुपमा कसैलाई पनि आरोप नलगाएको समेत दाबी गरे ।

‘मैले व्यक्तिगत रुपमा कसैलाई पनि जानेर या नजानेर कसैलाई पनि केही भनेको छैन । तर फिल्म रिलिजका बेला कतिपयले हामीविरुद्ध बोलेको देख्छु,’ उनले अगाडि भने, ‘नेपालीमा म सफल बनौँ भन्नेभन्दा अरुलाई पछारेर बराबर बनौँ भन्ने प्रवृत्ति छ । तर, मलाई के लाग्छ भने यसले खासै प्रभाव पार्दैन ।’

उनले अरुले पछार्न खोजे पनि आफ्नो काम बोल्ने तर खासै प्रभाव नपर्ने समेत बताए । आफूले लामो समय लगाएर दर्शकलाई उत्कृष्ट फिल्म दिन कोशिश गरेको र त्यही कामले नै सबै कुरा बोल्ने पनि बताए ।

‘म बोल्नुभन्दा पनि सिनेमाले बोल्नुपर्छ, गीतले बोल्न थालिसक्यो,’ उनले भने ।

केही समयअघि रिलिज भएका ‘छक्का पञ्जा ५’ मा समावेश दुई गीतको नै विरोध भएपछि उनले भने, ‘सुर्के थैली खै हिट हुँदा कसैले केही बोलेनन्, अहिले गीतको भावमा आपत्ति जनाएको पनि पाएँ, तर म के भन्छु भने सबै गीत एकै खालका हुँदैनन्, कुनै श्रृङ्गारिक हुन्छन्, कुनै विरहका हुन्छन् ।’

उनले समाजमा भएका सकारात्मक पक्ष या एउटा मात्र भावनालाई फिल्ममा समावेश गर्न नहुने तर्क समेत गरे ।

‘संसारमा एउटै मात्र रस छैन, कलाले सबै पक्षलाई समेट्न सक्नुपर्छ, नजरअन्दाज गर्नु हुँदैन भन्ने लाग्छ, तर यहाँ त के छ भने जताततै घृणा छ, एउटा नेताले अर्को नेतालाई गाली गरिरहेको छ,’ उनले भने, ‘यहाँ त सबै कुरा नकारात्मक मात्र छ तर गीत चाहिँ राम्रो मात्र चाहिन्छ, यहाँ त के छ भने फिल्मको गति चलेन भने पनि किन चलेन भनेर प्रश्न उठ्छ, कुनै गीत चल्यो भने पनि गाली गरेर चलायो भन्छन् ।’

उनले युवायुवतीमा माया मात्र नहुने र एकले अर्कालाई गाली गर्ने गरेको पनि बताए । ‘बूढीले बूढालाई माया गरेको मात्र फिल्ममा देखाउने कुरा त भएन नि,’ उनले भने ।

आफूले सबैभन्दा पहिले फिल्म ‘छक्का पञ्जा ५’ को प्रदर्शन मिति तोकेको र त्यो मितिमा अरुले फिल्म जुधाउन ल्याएको पनि उनले बताए । साथै उनले ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ ले आफ्नो फिल्मको पनि प्रचार गरिदिएको बताए ।

‘मलाई कतिपय साथीहरुले प्रचारमा हिँड्नु हुँदैन भन्छन्, तर म चुप लागेर बसेको छु, साथीहरुले प्रचार गरिदिएका छन्,’ उनले अगाडि थपे, ‘कतिले मलाई जितु नेपालको बारेमा पनि केही बोल्नुस् न भन्नुहुन्छ, म त उहाँ पनि मेरो आफ्नो मान्छे हो मेरो प्रचार गरिदिएका छन्, जहाँ आफ्नो फिल्मको कुरा गर्छन्, त्यहाँ मेरो फिल्मको पनि नाम आएकै छ ।’

आफूले ‘छक्का पञ्जा ५’ मा उत्कृष्ट बनाएको र फिल्म चल्नेमा ढुक्क भएको समेत बताए । दीपाश्री निरौलाले निर्देशन गरेको यो फिल्म कमेडी शैलीमा निर्माण गरिएको छ ।

बडादशैँको अवसर पारेर असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको सो फिल्ममा वर्षा शिवाकोटी, केदार घिमिरे, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय छ । फिल्मको स्क्रिप्ट गिरीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?