जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक

काठमाडौँ – भगीराज इङ्नामद्वारा सङ्कलित लिम्बुवानका अभिलेख सङ्ग्रह नामक पुस्तक सार्वजनिक भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्राडा दीनेशराज पन्त, प्राडा बालकृष्ण माबुहाङ, डा कमल तिगेला, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो र लेखक इङनामले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

इतिहास अन्वेषक इङ्नामको विसं २०७७ मै मदन पुरस्कार प्राप्त पुस्तक ‘लिम्बुवानको दस्तावेज सङ्ग्रह’ प्रकाशित छ । उक्त दस्तावेज सङ्ग्रहमा छुटेका तथा त्यसपछिका खोज अध्ययनमा पाइएका महत्त्वपूर्ण अभिलेखहरु यस पुस्तकमा समेटिएको प्रकाशक मुन्धुम एकेडेमीले जनाएको छ ।

विमोचन कार्यक्रममा अभिलेख सङ्ग्रहबारे डा कमल तिगेला, प्राडा दीनेशराज पन्त र बालकृष्ण माबुहाङले टिप्पणी गरेका थिए। डा कमल तिगेलाले आठ सय ४० पृष्ठको यस पुस्तक ऐतिहासिक दस्तावेज रहेको बताए ।

टिप्पणीकार प्राडा बालकृष्ण माबुहाङले लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामिलाको अध्ययन गर्नेका लागि महत्त्वपूर्ण काम भएको उल्लेख गरे । यस सङ्ग्रहमा लिच्छवीकाल सम्मका दस्तावेजहरु अध्ययन गर्न पाइने उनले बताए ।

प्राडा दीनेशराज पन्तले इतिहासमा मूल सामाग्रीसम्म इतिहासकारहरु पुग्न नसकेको समयमा सङ्कलक तथा लेखक इङ्नामले गरेको कामको प्रशंसा गरे । “यो अत्यन्तै महत्त्वपूर्ण काम भएको छ”, उनले भने, “अझै हामी इतिहास खोज्ने क्रममा किरातकालसम्म राम्रोसँग पुग्न सकेका छैनौँ ।”

लेखक इङ्नामले यस सङ्ग्रह अभिलेखहरुको सङ्कलनमात्र भएको बताए । कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले यस पुस्तकबाट तीन सय वर्षयताको हाम्रो समाजबारे थाहा हुने बताए । “यो अभिलेख सङ्कलन गर्नु चानचुने कुरा होइन”, उनले भने, “अनुसन्धाताका लागि यस्ता झ्याउलाहरु पार गर्नु कुनै ठूलो कुरा होइन ।”

पूर्वप्रशासकसमेत रहेका लेखकले यस सङ्ग्रहमा तीन सय ८८ वटा विभिन्न लालमोहर, रुक्का, सनद, पुर्जी, इस्तिहार, स्याहा मोहर, कास्यपत्र, शिलालेखलगायतका दस्तावेज र तिनका अनुवादसहितका टिप्पणी उल्लेख गरे । पुस्तक आजैदेखि बजारमा उपलब्ध हुने प्रकाशकले जनाएको छ । पुस्तकको मूल्य रु दुई हजार राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?