जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कवि रानाको कवितासङ्ग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक

काठमाडौँ– कवि सुरज रानाको कवितासङ्ग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक भएको छ ।

शनिबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि रानासहित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, कवि श्रवण मुकारुङ, कवि तथा समालोचक डा.विन्दु शर्मा र अध्येता गणेश खनियाँले संयुक्त रुपमा कृतिलाई सार्वजनिक गरेका हुन् ।

कवि रानाको यो पहिलो एकल कवितासङ्ग्रह हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सङ्ग्रहमा ‘अक्षरहरु,’ ‘ओ बाहुनी,’ ‘किताबमा देश,’ ‘कोही गएको छ’ लगायत चवालीस कविताहरु सङ्ग्रहित छन् ।

सार्वजनिक समारोहको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिँदै उपसभामुख रानाले कविताहरु प्रतिरोधी चेतयुक्त भएको बताइन् । ‘हाम्रो समाजमा विभेदहरु विद्यमान छन् । ती यावत विभेदहरुको अन्त्य गर्नका लागि हामी सबैले सचेत प्रयत्न गर्न जरुरी छ,’ उनले भनिन्, ‘अहिले विश्वभरका सीमान्तकृत समुदायहरु विभेदविरुद्ध लडिरहेका छन् । सुरजले पनि आफ्ना कवितामार्फत युवा प्रतिरोधका लागि आव्हान गरेका छन् ।’

सङ्ग्रहमाथि बोल्दै कवि मुकारुङले रानाका कविताहरु आफैंले पाठकसँग सिधा संवाद गर्ने गर्ने भएकाले तिनमाथि कुनै अतिरिक्त व्याख्या गरिराख्न आवश्यक नभएको टिप्पणी गरे । ‘सुरजले कवितामार्फत स्पष्टसँग आफ्नो विचार राखेका छन् । काव्यचेतसहित वैचारिक रुपमा चोटिलो प्रहार गर्नसक्नु उनको सबल पक्ष हो,’ उनले भने । मुकारुङले रानाका कविताहरुमा प्रशस्तै राजनीतिक व्यङ्यचेत प्रयोग भएको बताए ।

उनले थपे, ‘भूपी शेरचनजस्ता लोकप्रिय अग्रज कविहरुमा यस्तो चेत पाइन्छ । उनीहरुका कविताले नेपाली समाजको मनोविज्ञानलाई पक्रिन सकेकैले ती कविहरुलाई आज पनि पाठकले ससम्मान पढिरहेका छन् । कविताहरुमा आफ्नो परिवेशको रैथाने सुगन्ध पनि पाइन्छ ।’

आफ्नो समुदायभन्दा फरक समुदायको बारेमा समानुभूतिप्रधान कविता लेख्नसक्नु कवि रानाको लेखनको सबल पक्ष रहेको उनले सुनाए ।

कवि तथा समालोचक डा.शर्माले विगतमा रानाद्वारा लेखिएका कविताहरुभन्दा मौलिक र स्तरीय कविताहरु यस सङ्ग्रहमा रहेको बताइन् । उनका अनुसार रानाका कविताहरुमा पछिल्लो समय भएका राजनीतिक परिवर्तनहरुले स्थापित गरेका मुद्दाहरुको निरन्तरता पाइन्छ ।

पहिचान, बहुभाषिक संवेदना, समावेशीकरण, सांस्कृतिक जागरणजस्ता पक्षमा उनले काव्यिक बिम्बहरुको निर्माण गरेका छन् । उनले भनिन्, ‘कवितामार्फत आफ्नो अस्तित्वको दाबी पनि गरेका छन् । उनका कवितामा समसामयिक वस्तुस्थितिमाथि आलोचना, व्यङ्य र विद्रोह एकसाथ पाइन्छ ।’

अध्येता खनियाँले रानाका कविताहरुमा विविधता झल्किएको र तिनमा वैश्विक विषयहरुको प्रतिनिधिमूलक उठान भएको बताउँदै मौलिकता, प्राङ्गारिकता र स्थानिकतामा जोड दिँदै रानाले कवितामा नयाँ बिम्बहरुको प्रयोग गरेको सुनाए ।

कवि राना आबद्ध संस्था सम्भव समूहद्वारा आयोजित कार्यक्रममा अन्शु खनाल, इँगिहोपो कोँइच सुनुवार, भूमिका थारु, राधिका परियार, रिमा केसी र वेदनिधि पौडेलले सार्वजनिक कविता सङ्ग्रहका कविताहरु वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?