जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने

काठमाडौँ – भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।

त्यस क्रममा मन्त्री पौडेलले राखेको प्रस्तावअनुसार ट्रमा सेन्टरको स्तरोन्नति तथा डायलासिस सेवा थप्न र सर्पदंशका बिरामीको उपचार र ‘डिजिटल हेल्थ’ अभियान कार्यान्वयनका लागि सघाउन पनि भारतीय समकक्षी नड्डाले प्रतिबद्धता जनाउनुभएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

आवश्यक तयारीपछि चाँडै यसबारे द्विपक्षीय समझदारी गर्ने सहमतिसमेत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकारेको उनले बताए । “नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ”, भेटपछि मन्त्री पौडेलको भनाइ उद्धृत गर्नुहुँदै महानिर्देशक देवकाटाले भने, “भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।”

विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनका लागि भारतमा रहेका स्वास्थ्यमन्त्री पौडेलले आज साँझ कार्यक्रममा सम्बोधन गर्ने तह भएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?