गायिका मीरा राणालाई ‘दीर्घ साधना’ सम्मान

काठमाडौँ –  विन्ध्यवासिनी फाउन्डेसनको १०औँ वार्षिक भेलाले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०८०’ मा सम्मानित तथा पुरस्कृत हुने स्रष्टाको नाम अनुमोदन गरेको छ ।

शनिबार सम्पन्न भेलाले ‘विन्ध्यवासिनी सङ्गीत दीर्घ साधना सम्मान २०८०’ बाट गायिका मीरा राणालाई रु एक लाख राशिसहित सम्मान गर्ने निर्णय लिएको फाउन्डेसनकी अध्यक्ष लीना रेग्मीले जानकारी दिइन।

‘सङ्गीतमा जीवन समर्पण गर्नुभएका र भविष्य देख्नुभएकालाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ हामीले यसको सुरुआत गरेका हौँ”, अध्यक्ष रेग्मीले भनिन।

उनका अनुसार ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०८०’ बाट सङ्गीतकार भूपेन्द्र रायमाझीलाई रु ५० हजारसहित र ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार शान्तिप्रियलाई रु २५ हजारसहित सम्मान गरिनेछ । भेलाको निर्णयअनुसार सबै पुरस्कार आगामी चैत १ गते प्रदान गरिनेछ । 

फाउन्डेसनका सल्लाहकार तथा स्वर्गीय गायक प्रेमध्वज प्रधानप्रति श्रद्धा सुमनसहित उनको नाममा स्थापित ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान २०८०’ बाट रुपक डोटेल र स्वर्गीय गायक झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–सङ्गीत सम्मान २०८०’  बाट लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय उक्त भेलाले गरेको छ ।

उनीहरू दुवैलाई जनही नगद राशि रु २५ हजारसहित सम्मान गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?