जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रुसका लागि प्रस्तावित राजदूत प्रा.डा. चौहानलाई अभिनन्दन

काठमाडौँ– रुसका लागि प्रस्तावित राजदूत प्रा.डा.जङ्गबहादुर चौहानलाई अभिनन्दन गरिएको छ ।

कमलपोखरीस्थित रुसी सदनमा साेमबार गरिएको समारोहमा रुसी सदन र शैली थिएटरले संयुक्त रुपमा चौहानलाई अभिनन्दन गरेका हुन् ।

अग्रज लेखक तथा साहित्यकार मोहन दुवाल, शैलीका अध्यक्ष तथा रङ्गकर्मी नवराज बुढाथोकी, रङ्गकर्मी तथा चलचित्र निर्देशक बद्री अधिकारी, रङ्गकर्मी सुनील पोखरेल, रेडियोकर्मी रघु मैनाली लगायत व्यक्तित्वहरुको उपस्थितिमा मनोनित राजदूत चौहानलाई सम्मानपत्र, दोसल्ला र माला अर्पण गरी अभिनन्दन गरिएको हो ।

विगत लामो समयदेखि रुसी साहित्यलाई नेपाली भाषामा अनुवाद गरेर नेपालमा साहित्यप्रेमीहरुमाझ ल्याएका चौहानले रुसको भाषा, संस्कृति, परिवेश र मौलिकतालाई नेपालसम्म ल्याएका छन् ।

राज्यले राजदूतका लागि प्रस्तावित कुरा नै आफ्नो लागि बलियो शक्ति भएको चौहानले बताए । उनले भने, ‘मैले राज्यको तर्फबाट बलियो शक्ति प्राप्त गरेको छु । त्यसमाथि स्रष्टाहरुको आत्मीय साथले मेरो मन खुसी भएको छ ।’ दुई देशको मैत्रीपूर्ण सम्बन्धका लागि सांस्कृतिक र साहित्यिकसँगै हृदयदेखिको यात्रा हुनुपर्ने उनले सुनाए ।

नेपाली साहित्यको चिन्तक तथा लेखक नै राजदूतका रुपमा नियुक्त हुनु साहित्य क्षेत्रका लागि अत्यन्तै गर्वको कुरा रहेको साहित्यकार एवं समालोचक महेश पौड्यालले बताए ।

‘हाम्रो परिवारको सदस्य नै राजदूतका रुपमा नियुक्ति हुनु हाम्रा लागि निकै गर्वको कुरा हो,’ उनले भने, ‘हाम्रो भाषा र सांस्कृतिक सम्बन्धको सेतु निर्माण गर्न प्रगाढ सम्बन्धका लागि उहाँको कार्यकाल स्मरणीय रहोस् ।’

एकजना साहित्यकार र साहित्यका चिन्तक राजदूत भएर अन्य देशमा पुग्दा नेपालको इतिहास र नेपालको मुख्य कुरा चिनाउन सक्ने उनले सुनाए ।

लेखक तथा साहित्यकार दुवालले चौहानलाई नेपालीलाई रसियन साहित्य पढाउने र बुझाउने व्यक्तिका रुपमा परिभाषित गरे । सुहाउँदो मान्छे सुहाउने ठाउँमा पुगेको बताउँदै उनले राजदूतका रुपमा चौहान जतिको उपयुक्त व्यक्ति अरु नभएको ठहर गरे ।

त्यस्तै, चौहानलाई बधाई तथा शुभकामना व्यक्त गर्दै शैलीका अध्यक्ष बुढाथोकीले चौहानसँग १५/१६ वर्षदेखि सहकार्य गर्दै उनीसँग पेसागत रुपमा मात्र नभएर भावनात्मक सम्बन्ध समेत कायम रहेको सुनाए ।

चौहानसँगको सहकार्यमा रसियन साहित्यकै आधारमा नाट्य सिर्जना गरेको सुनाउँदै उनले शैलीको कार्ययोजना र हरेक गतिविधिमा चौहानको साथ एवं सहयोग रहेको बताए ।

कार्यक्रममा बोल्दै उनले काभ्रे, भैंसेपाटीस्थित रहेको आफ्नो जमीनमा छिट्टै नै नाटकघर र नाट्य अध्ययन केन्द्र स्थापना गर्ने घोषणा समेत गरे । त्यसै अवसरमा उनले शैलीले गर्दै आएको राष्ट्रिय बाल नाटक महोत्सवको १६ औं संस्करण माघमा गरिने सुनाउँदै शैलीका आगामी नाटक, सर्टमुभी जस्ता योजनाहरुबारे जानकारी दिए ।

कार्यक्रममा चौहानद्वारा नेपाली भाषामा अनुवादित अलेक्जेण्डर पुस्किन र फ्योडोर ट्युटचेभका कविताहरुलाई रंगकर्मी तथा कलाकार कर्मा शाक्य, रंगकर्मी तथा कलाकार मेनुका प्रधान, रंगकर्मी एवम् निर्देशक केदार श्रेष्ठ, साहित्यकारहरु भवानी खतिवडा, सुशीला खड्का र महेश कार्की क्षितिजले वाचन गरेका थिए ।

कलाकार आशिष केसीले किशोर अनुरागको निर्देशनमा पुस्किनका दुई कविताको भावमा नाट्य प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?