जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘सिन्धुली कलाघर’को कलाकार टोली ‘मेचीकाली अभियान’मा

काठमाडौँ– सिन्धुली, कमलामाई नगरपालिका ३ स्थित चपौलीमा अवस्थित ‘राष्ट्रिय कला संग्रहालय सिन्धुली कला घर’का कलाकार टोलीले ‘मेचीकाली अभियान’को यात्रा शुभारम्भ गरेको छ ।

कलामार्फत विश्वलाई जोडेर विश्व सङ्ग्रहालय बनाइ कलाघरलाई सांस्कृतिक विद्यालय तथा कला आश्रम बनाउन झण्डै दशकदेखि समयदेखि लागिपरेका कलाघर टोली अहिले ‘मेचीकाली अभियान’मा लागेका हुन् ।

तिहार पर्व शुभ दिपावलीकै छेकोमा सोमबार सिन्धुली जिल्ला समन्वय समितिको शुभयात्रा कार्यक्रमपछि टोलीले यात्रा शुरुवात गरेको कलाकार, कला अभियन्ता तथा कला घरका अध्यक्ष सुमन थापा मगरले बताए ।

उनका अनुसार टोलीले कात्तिक १३ र १४ गते पाल्पा, तिनहु र तानसेनमा आफ्नो सांस्कृतिक प्रस्तुति गर्नेछन् । त्यस्तै, टोली कात्तिक १५ र १६ गते बुटवलमा पुग्नेछन् भने १७ गते चितवन, सौरहामा, त्यसैगरी १८ र १९ गते हेटौडामा पुग्नेछन् ।

टोलीले मादल, बासुरी र पन्चेबाजाको साथमा देउसी भैलोसँगै लागुपदार्थ दुव्यर्सनी सम्बन्धी नाटक, खैजडी भजन, भष्टाचार विरुद्धको सचेतना लगायत थुप्रै साङ्गीतिक प्रस्तुतिहरु तयार गरेका छन् ।

तिहारको छेकोमा देउसी भैलो कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर त्यसपछि भने अन्य सांस्कृतिक प्रस्तुतिहरु गर्ने अध्यक्ष थापामगरले सुनाए ।

‘एक–ढेड वर्षभित्रमा नै ७७ वटै जिल्लामा पुग्ने हाम्रो अभियान छ, उनले भने, ‘अहिलेको तिहारको बेला देउसी भैलो कार्यक्रमहरु गरेपनि तिहारपछि अरु सांस्कृतिक कार्यक्रमहरु पनि गर्नेर्छौं ।’


मेची महाकाली अभियानमा कलाकार टोलीले प्रतिनिधिमुलक रुपमा ७७ जिल्लामा पाइला टेकी माटो छोएर सांस्कृतिक कार्यक्रम सहित सिन्धुली कला घर र त्यसको परियोजना सुनाउनेछन् । यसले सिन्धुली कला घरको परियोजनामा केवल कुनै सीमित व्यक्ति संघ संस्थाको मात्र श्रेय नभएर कला घर निमार्णमा सँगै सिङ्गो नेपालीहरुको सहभागिता छ भन्ने विश्वमा सन्देश जान्छ भन्ने टोलीको अपेक्षा छ ।

एक विघाहा जमीन खरिद गरी राष्ट्रिय झण्डाको आकारमा निर्माण हुने ‘कलाघर सिन्धुलीको मात्र नभएर हाम्रो पनि हो’ भन्ने भावना सबैमा ल्याउन ‘मेचीकाली अभियान’ले सघाउने कुरामा टोली विश्वस्त छ । विश्वको १९५ देशलाई कलामार्फत प्रस्तुत गरी कलाघरलाई ‘वल्र्ड आर्ट हाउस’को रुपमा ल्याउन टोली अहोरात्र रुपमा लागिपरेको छ ।

यसले मौलिक कला संस्कृतिलाई प्रवद्र्धन न हुन्छ नै सांस्कृतिक विद्यालयको स्वरुपमा ढालेर असहाय, दुखी, पीडित र बृद्धबृद्धा कलाकारहरुको लागि कलाकार आश्रमको रुपमा कलाघर विकास गर्ने समेत कलाघर टोलीको योजना छ । यही अभियानबाट जमीन खरिदका लागि आर्थिक सहायता आउने आशा टोलीले गरेका छन् ।

पछिल्लो अभियानलाई केवल आर्थिक संकलनका रुपमा भन्दा पनि सांस्कृतिक अभियानका रुपमा अध्यक्ष थापामगरले लिएका छन् ।

‘हाम्रो यो अभियान आर्थिक रुपमा मात्र अपेक्षा होइन । ५० प्रतिशत भन्दा बढी त हामी कला, संस्कृतिसँगै जोडिन्छौं । हामी हाम्रो कला प्रस्तुत गरेर मेचीदेखि महासम्मको कलाबारे पनि बुझ्नेछौं र त्यसलाई सङ्गाल्ने प्रयास गर्नेछौं,’ उनले भने ।

राष्ट्रको कला संस्कृतिको उत्थानका लागि लाग्छौं भन्ने सङ्कल्प लिएका कला घरका १५ जना युवा कलाकारहरुको टोली यस अभियानमा छन् ।

अभियानमा सांस्कृतिक कार्यक्रम र प्रस्तुतिका लागि सम्बन्धित स्थानीय सरकार र जनताहरुसँग समन्व गरेर अभियान अगाडि बढ्ने उनले सुनाए । उनका अनुसार एउटा जिल्लामा बढी एक देखि दुई दिनसम्म कलाकार टोली रहनेछन् । यसमा स्थानीयको माग अनुसार केही समयावधि पनि थपिन सक्छ ।

उनीहरुले सांस्कृतिक प्रस्तुतिहरुमा आवश्यक परेको खण्डमा स्थानीय कलाकार तथा मानिसहरुसँग समेत समन्वय तथा सहकार्य गर्नेछन् । कलाघरको सांस्कृतिक अभियानमा १० प्रतिशत कार्यलाई आम मानिसले अवलम्बन गरिसकेकाले पछिल्लो अभियानलाई सकारात्मक रुपमा लिएको थापामगरको भनाइ छ । अबको यात्रा सहज रुपमा अगाडि बढ्नेछ भन्नेमा उनी लगायत अन्य कलाकार टोलीको विश्वास छ ।


वि.सं. २०७१ साल देखी कला सृजनामा लागेको कलाघर टोली २०७५ सालदेखि संस्थागत रुपमा अगाडि बढेको हो । स्थापना कालदेखी यो टोलीले निकै सङ्घर्ष र कठिन यात्राका साथ नेपाली मौलिक कलाको प्रचार, प्रस्तुति, अध्ययन, अनुसन्धान, प्रवद्र्धन, नवीन कलाको आविष्कार र कला सिर्जना मार्फत जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

हाल चार रोपनी क्षेत्रफल जमीनभित्र नेपालकै नक्सामा समेटिएको कलाघरमा धार्मिक, सांस्कृतिक, मौलिक कला, परम्परागत मौलिक चीजबीचहरु सङ्कलन गरी सङ्ग्रहालयको स्वरुपमा ढाली अवलोकनको व्यवस्था गरिएको छ ।

मौलिक पञ्चेबाजा लगायतका सांस्कृतिक प्रस्तुतिहरु लिएर कलाकार टोली देश तथा विदेशसम्म पुगिरहेका छन् भने आम मानिसहरु सिन्धुली कला घरलाई हेर्न त्यहाँसम्म पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?