जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माछा खान जाऔँ माझीकुना

पोखरा- बेगनास आफैँमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना ।

पन्ध्र वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ । बस्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो ।

अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको मान्छन्, स्थानीय रेष्टुराँ व्यवसायी टेकबहादुर जलारी । “माझीकुनाले बढी चर्चा पाएको यस्तै पाँच/छ वर्षजति भयो”, ५२ वर्षीय जलारीले भने, “मुख्य रुपमा यहाँको पोलेको माछा ग्राहक र पर्यटकमाझ प्रख्यात छ ।” युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका माध्यमबाट पनि माझीकुनाको व्यापक प्रचार भएको उनले बताए ।

माझीकुनाको पोलेको माछा र अरु परिकारबारे नेपाली खाना प्रवर्द्धन गर्ने टिकटिक प्रयोगकर्ताले बनाएका भिडिओ सामग्री अहिले पनि सामाजिक सञ्जालतिर भेटिन्छन् । विशेषगरी आन्तरिक पर्यटक त्यसमा पनि युवा पुस्तामाझ माझीकुना माछाका परिकारको स्वादसँगै घुमफिर गर्ने गन्तव्यका रूपमा लोकप्रिय बनेको हो ।

“यहाँ धेरै आउने भनेको आन्तरिक पर्यटक नै हो, पर्यटकीय याममा विदेशी पाहुना पनि आइरहनुहुन्छ”, दी फिसरम्यान रेष्टुराँका सञ्चालक जलारीले भने, “चाडबाड, नयाँ वर्ष र बिदाका समयमा त पर्यटकको भीड नै लाग्छ, रेष्टुराँमा भ्याइनभ्याइ हुन्छ ।” जलारीले विसं २०७२ को गोरखा भूकम्पपछि रेष्टुराँ व्यवसाय थालेका थिए । उनको रेष्टुराँमा पनि पोलेको माछा नै मुख्य परिकार हो । तिलापिया जातको माछालाई आगोमा पोलेर स्थानीय स्वादमा पाहुनालाई चखाउने गरेको जलारीले सुनाए ।

“मरमसला, च्याउ, धनिया, लसुन आदि राखेर मेरिनेट गरिएको माछालाई आगोमा सेकेपछि परिकार तयार हुन्छ”, उनले भने, “पाहुनाले पोलेको माछा नै बढी रुचाउनुहुन्छ ।” पोलेको माछालाई स्वादिष्ट बनाउन घरेलु छोप र ससको प्रयोग गर्ने गरिएको जलारीले बताए । तिलापियाबाहेक अरु जातको माछा भने पोल्न नमिल्ने उनको भनाइ छ ।

“बगेनास, रुपालगायत तालमा पाइने कमन, ग्राफ, राहु आदि जातका माछाको झोल, करी, फ्राइड, साँधेर पाहुनालाई खुवाउने गर्छौँ, माग भएमा कुखुराका परिकार पनि उपलब्ध गराउँछौँ”, जलारीले भने । तीस वर्षसम्म बेगनास तालमै माछा मारेर परिवार धानेका उनी अहिले माझीकुनाको सफल रेष्टुराँ व्यवसायीका रूपमा चिनिएका छन् ।

माझीकुनामा २५ भन्दा बढी रेष्टुराँ तथा होटल खुलेका छन् । तिनमा करोडौँको लगानी छ । सयौँले रोजगारी पाएका छन् । जलारीको रेष्टुराँमा काम गर्ने पाँच जना छन् । बेगनासमा रहेको जलारी समुदायले माछाबाटै आर्थिक उपार्जन गर्ने गरेको उनले बताए ।

“मत्स्य अनुसन्धान केन्द्रबाट अनुमतिपत्र लिएर मात्र माछा मार्न पाइन्छ, वार्षिकरूपमा शुल्क तिर्नुपर्छ”, उनले भने, “मैले पनि पहिला माछा मारेर बेच्ने काम गर्थे, अहिले रेष्टुराँ व्यवसातिर लागेँ, यसमै सन्तुष्ट छु ।” कोभिड–१९ महामारीले सुस्ताएको व्यापारले पछिल्लो समय गति लिएपछि माझीकुनाका व्यवसायी खुसी छन् ।

मुलुकले झेलिरहेको आर्थिक मन्दीको प्रभाव छिटो अन्त्य भए व्यवसायले अझ फड्को लिनेमा उनीहरु आशावादी छन् । माझीकुना नजिकैको सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले माझीकुना बेगनास क्षेत्रको आकर्षक गन्तव्यस्थलका रुपमा विकास भएको बताए । पहिले खासै चर्चामा नआएको सो क्षेत्र अहिले आगन्तुकको रोजाइमा पर्ने गरेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?