जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

जुम्ला – सदरमुकाम खलङ्गा बजारमा आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुने भएपछि तयारीमा जुटेको जिल्ला फुटबल संघका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए।

जुम्लामा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता फागुन १५ गते सुरु भएर १९ गते सम्पन्न हुने छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको एन्फा जुम्लाका अध्यक्ष भरतबहादुर बुढाथापाले बताए ।

आगामी २०८१ मा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरको खेलाडी टोली छनोट हुने छ । आउँदो फागुन २४–३० गतेसम्म बागमती प्रदेशको आयोजनामा हुने पुरुष फुटबल प्रतियोगितामा समेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने छ । प्रतियोगितामा प्रदेशका १० जिल्लाका खेलाडी सहभागी रहने आयोजकले जनाएको छ ।

जिल्ला फुटबल संघले एक सूचना जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको छ । फागुन ११ गते बेलुका ४ बजेसम्म टोलीको दर्ता गरिसक्नुपर्ने छ । दर्ताका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटरप्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावलीसहितको पत्र संघको इमेलमा पठाउनुपर्ने महासचिव हमालले बताए ।

जिल्लामा फागुन १०–१४ गतेसम्म प्रदेशस्तरीय ‘रेफ्री’ तालिम पनि हुने भएको छ । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिमसमेत आयोजना गरिएको संघका महासचिव हमालले जानकारी दिए । तालिमका लागि प्रत्येक जिल्लाबाट तीन जनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति वा फुटबल संघले सिफारिस गरी फागुन ६ गतेसम्म पत्र पठाइसक्नुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?