जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वरिष्ठ आख्यानकार एवम् गायिका सिंहलाई ‘देवकोटा गीतकार सम्मान–२०८१’

काठमाडौँ– वरिष्ठ आख्यानकार एवं गायिका पद्मावती सिंहलाई ‘देवकोटा गीतकार सम्मान–२०८१’ पुरस्कार अर्पण गरिएको छ ।

मङ्गलबार कार्तिक २७ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीको अवसरमा सखी प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटा सङ्ग्रहालयमा एक कार्यक्रम गर्दै सिंहलगायत स्रष्टाहरुलाई पुरस्कारसहित सम्मान गरिएकाे हो ।

लेखक एवम् फिल्म निर्देशक प्रकाश सायमी, प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिललगायतको उपस्थितिमा सिंहसँगै वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई ‘देवकोटा नियात्रा सम्मान–२०८१,’ वरिष्ठ कलाकार एवम् साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठलाई ‘देवकोटा कलाकारिता सम्मान–२०८१,’ साहित्यकार एवम् सूचना आयोगका आयुक्त कमला ओलीलाई बाल साहित्य एवम् समाजसेवा सम्मान–२०८१’ र डायस्पोरामा सक्रिय भए बापत् विनोद स्पन्दनलाई ‘देवकोटा साहित्य पुरस्कार–२०८१’ प्रदान गरिएको छ ।

सम्मानित, पुरस्कृत प्रतिभाहरूलाई टीका लगाएर ,पस्मिनाको सल ओढाएर, फूल माला र रुद्राक्षको माला सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

महाकविको प्रतिमालाई माल्यार्पण गरेर शुरुआत गरिएको कार्यक्रममा महाकविका रचना(गीत कविताहरू पनि प्रस्तुत गरिएका थिए । निबन्धकार, कवि मोमिलाले देवकोटामाथि लेखिएको आफ्नो निबन्ध वाचन गरेकी थिइन् भने शब्दपथका प्रधान सम्पादक, कथाकार,कवि एवम् नाट्यकर्मी किशोर पहाडीले ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत गाएका थिए ।

यसैगरी इन्दिरा ढकाल, मथुरा प्रधान, कमला रिसालले महाकविका रचनालाई गाएर श्रद्धा भाव व्यक्त गरेका थिए ।
नियात्राकार प्रतीक ढकाल, पत्रकार एवम् राजनीतिकर्मी देवप्रकाश त्रिपाठीले महाकविको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।
महाकविका छोरा डा.पद्मप्रसाद देवकोटाले अङ्ग्रेजी रचना वाचन गरी आफ्ना पिताको स्मरणमा गरिएको कार्यक्रमप्रति खुसी भाव व्यक्त गरे ।

कार्यक्रममा अनिलनाथ उप्रेतीको स्वर र सङ्गीत रहेको ‘मेरो जीवन कस्तो’ गीत पनि सार्वजनिक गरिएको थियो ।
प्रतिष्ठानकी उपाध्यक्ष गायिका कमला रिसालले देवकोटाको रचनालाई मधुर स्वरबाट गायन गरी उपस्थित पुरस्कृत, सम्मानित सबै अतिथिहरूलाई धन्यवाद दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?