जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यौन क्षमता बढाउने ‘यार्सा किङ’ लगायत नक्कली औषधी छ्यापछ्याप्ती

काठमाडौँ- यार्सागुम्बाट उत्पादित भनेर दाबी गरिएका कतिपय औषधि नक्कली भएको पाइएको छ । यार्सागुम्बाबाट उत्पादित भन्दै नक्कली औषधिजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगा सिद्धिचरण नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे रहेका छन्।

गौतम र खड्कालाई मध्यपुर ठिमी नगरपालिका-२ गठ्ठाघर र घिमरेलाई महालक्ष्मी नगरपालिका-८ लुभु ललितपुर टाउन प्लानिङस्थित बायो फुड्स नेपाल प्रालिबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। उनीहरूलाई विभिन्न मितिमा पक्राउपछि बिहीबार ब्युरोले सार्वजनिक गरेको हो। उनीहरूले यार्सागुम्बासहित सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको भन्दै लामो समयदेखि बजारमा नक्कली औषधी बिक्री-वितरण गर्ने गरेको पाइएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

उक्त सामग्री हिमाली जडिबुटी रहेको, त्यसले यौन क्षमता बढाउने, शक्ति बढाउने र स्टामिना बढाउने भन्दै तिनै जनाले बजारमा बिक्री गरिरहेको पाइएको छ। तर, ती सामग्री परीक्षण गर्दा नक्कली रहेको पुष्टि भएपछि प्रहरीले कारबाही थालेको बोगटीले बताए। उनीहरूले शिखर यार्सा पावर, हिमाली यार्सा प्लस, यार्सागुम्बा गोल्ड, यार्सा किङ, हिमाली यार्सागुम्बा, यार्सागुम्बा किङ, यार्सागुम्बा किङ प्लस, यार्सागुम्बा प्रिमियम, सुगर कन्ट्रोलर गाइम्निमा, पायल्स निको आयल, चाचरी आयल, बिउटी सुपरबा हर्बल आयल लगायत विभिन्न नामका बट्टामा त्यस्ता सामग्री बेचबिखन गर्ने गरेका थिए।

‘ती सामग्रीका क्याप्सुल देखाएर फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ बोगटीले भने, ‘बृद्वदेखि युवा समेतले खाना मिल्ने, कुनै साइड इफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरेर सर्वसाधारणमा भ्रम सिर्जना गरेको पाइएको छ।’ उनीहरूले एक बट्टाको दुई हजारदेखि पच्चीस सय रुपैयाँसम्म मूल्य राखेका थिए। उनीहरूले गठ्ठाघरमा एउटा घर भाडामा लिएर स्टोर नै सञ्चालन गरिरहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?