जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जाडो याममा बाथ रोगका बिरामीले ध्यान दिनुपर्ने ५ कुरा

काठमाडौँ- चिसो मौसम शुरु भएसँगै धेरै स्वास्थ्य समस्याले सताउने गर्छ । यस कारण जाडो महिनामा हामीले आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनुपर्छ । अन्य रोगहरूले ग्रसित भएका बिरामीहरूलाई त झनै चिसोले समस्यामा पार्छ । विशेष गरी युरिक एसिड, बाथ रोग लगायतका बिरामीहरूलाई चिसोले सताउने गर्छ ।

बाथ रोग एक प्रकारको अटो इम्युन डिजिज (रोग) हो । अटो इम्युन भन्नाले आफ्नै शरीरको रोग प्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोशिकाहरूको क्षमता गुमाउँछ । जसले गर्दा जोर्नीलाई बिगार्छ र बाथ रोग देखा पर्न सक्छ । यसमा शरीरका जोर्नीहरू दुख्ने वा सुन्निने जस्ता लक्षण देखा पर्छ ।

साथै कम्मर दुख्ने, ढाड दुख्ने, हातका औँला दुख्ने वा सुन्निने, बिहान उठ्ने बेलामा हातखुट्टा अररो हुने, गोली गाँठो दुख्ने वा सुनिने, ढाड दुख्ने वा अररो हुने, बिहान ढाड कडा हुने, पिँडौला दुख्ने वा करकर खाने, खुट्टाका बूढी औँला र औँला वरिपरि रातो भएर टेक्न असजिलो हुने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने, हात, खुट्टा वा जीउ अररो हुने, घुँडा सुन्निने वा दुख्नेजस्ता लक्षण देखापर्छ ।

जाडो याममा किन बढ्छ बाथको समस्या ?

सामान्यतया बाथ रोगको प्रकोप जाडो याममा बढी हुन्छ । चिसोले गर्दा दुखाइ बढी अनुभव हुन्छ । दुखाइ थाहा पाउने अङ्ग बढी संवेदनशील हुन्छ । जाडो याममा प्रोटिनयुक्त खानेकुरा र मदिराको समेत अधिक उपभोग हुने गर्छ । जसबाट शरीरको तौल वृद्धि र प्रोटिनको मात्रा उच्च हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरै हुँदा गाउटी आथ्र्राइटिस अर्थात् युरिक एसिडका कारण हुने बाथको जोखिम पनि  बढ्छ । यस्तै जाडो याममा नसा खुम्चिएर रक्त प्रवाह कम हुने, मांसपेशी खुम्चिने लगायतको समस्या हुने गर्छ । त्यसबाट पनि शरीरमा अत्यधिक पीडा हुन्छ । बाथका बिरामीलाई जाडोमा धेरै गाह्रो भएको पाइएको छ । त्यसैले जाडोमा समस्या बढ्न नदिन बाथका बिरामीले केही कुरामा ध्यान दिनुपर्छ ।

अपनाउनुपर्ने सावधानी

शरीरलाई न्यानो राख्ने
जाडोमा शरीरलाई न्यानो राख्नु निकै जरुरी हुन्छ । शरीरलाई न्यानो राख्न बाक्लो कपडा लगाउने, चिसो पानीको प्रयोग नगर्ने, हट वाटर ब्यागले सेक्ने र कोठालाई पनि न्यानो बनाइ राख्नुपर्छ ।

नियमित व्यायाम गर्ने
नियमित रूपमा हल्का व्यायाम गर्नाले जोर्नीको चाल बढ्छ र दुखाइ कम हुन्छ । एकै समयमा पौडी खेल्ने, योग र हिँड्ने जस्ता व्यायाम बाथ रोगीका लागि धेरै लाभदायक हुन्छ ।

सन्तुलित आहार लिने
सन्तुलित आहारले शरीरलाई आवश्यक पोषक तत्त्व प्रदान गर्छ । जसले जोर्नीहरूलाई बलियो बनाउन मद्दत गर्छ । माछा, अण्डा र ओखर जस्ता ओमेगा-३ फाटी एसिडले भरपुर खानेकुराले जोर्नी सुन्निने समस्या पनि कम गर्छ ।

समयमा औषधि सेवन गर्ने
बाथको समस्यालाई बढ्न नदिन डाक्टरले तोकेको औषधि समयमै सेवन गर्नु अति आवश्यक हुन्छ । यी औषधिले बाथको दुखाइ कम गर्नुका साथै जोर्नी सुन्निएको पनि कम गर्छ । नियमित रूपमा औषधि सेवन गर्नाले बाथको लक्षण सुधार गर्न र दैनिक दिनचर्यालाई सजिलो बनाउन सकिन्छ ।

तनाव व्यवस्थापन गर्ने
जब धेरै तनाव हुन्छ, जोर्नी दुखाइ बढ्न सक्छ, विशेष गरी यदि पहिले नै बाथको समस्या छ भने दुखाइ झन् बढ्न सक्छ । योग, ध्यान र ब्रिथिङ एक्सरसाइज गरेर तनावलाई कम गर्न सकिन्छ । तनाव कम हुँदा यसले हाम्रो शरीरमा सुन्निने समस्या पनि कम गर्छ, जस कारण जोर्नी दुख्ने समस्या कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?