जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बादलमाथिको मानुङकोट

काठमाडौं- तनहुँको व्यास नगरपालिका ५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पछिल्लो समय भीड लाग्न थालेको छ। जाडो मौसम लागेसँगै मानुङकोट एकाबिहानै भीड बढ्न थालेको हो।

प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ। डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुलेसँगै धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता हिमश्रृङ्खला देख्न सकिन्छ।

दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।

काठमाडौंदेखि १६० किलो मिटर र पोखरादेखि ५५ किलो मिटर दुरीमा पर्ने मानुङकोट पुग्न तनहुँ सदरमुकाम दमौलीदेखि १० किलोमिटर बाटोमा कतै पिच कतै कच्ची बाटो छिचोल्नुपर्छ।

गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदल यात्रुले भने दमौलीदेखि करिब एक घण्टा हिँड्नुपर्छ। विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र पाँच हजारभन्दा बढी पर्यटक पुग्ने गरेको होटेल संचालक बताउँछन्।

खानेपानीको अभावमा विसं २०५२ साल तिर स्थानीयवासीले त्यो ठाउँ छाडेका थिए। अहिलेसमेत खाने पानीको अभाव उस्तै छ। तर ट्याङ्करको पानीले मानुङकोटमा पानीको विकल्प दिइरहेको छ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। पर्यटकीय क्षेत्र भएकाले पछिल्लो समय बस्न र खानको लागि होटेल र खाजा घर प्रशस्त छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?