जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बेलुन नेपालले पायो साविकभन्दा तीन गुणा बढी उचाइमा उड्ने अनुमति

काठमाडौँ–  ‘बेलुन नेपाल’ कम्पनीले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साबिकको तुलनामा तीन गुणा बढी हो भने ‘बेलुन नेपाल’ हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एक मात्र कम्पनी हो । 

योसँगै एयर बेलुनबाट अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाइने बेलुन नेपाल अध्यक्ष विक्रम बाडेले बताए ।

पोखरा लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टावर फ्रिक्वेन्सी निरन्तर अनुगमन गरी उडान गर्न मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अधिकृत मुकेश डङ्गोललाई उद्धृत गर्दै कम्पनीले जनाएको छ ।

उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुन उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको बाडेले बताएका छन् । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान हुँदै आएको थियो । 

तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । बेलुन आकारमा देखिने यसको ‘इनभेलप’ भित्र पंखाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ ।

तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित हुन्छ । बास्केटमा आठ जनाले एकै पटक यात्रा गर्न सक्छन् ।

आधा घण्टा उडान गर्न नेपालीले ९ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क राष्ट्रका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?