जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

राजमार्ग छेउमा मकै पोलेरै जिविका चलाउदै सुस्मिता

बेलबारी – यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आएका छन् ।

मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आएका उनले भने, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।” उनका अनुसार हाल रु २५ प्रतिघोगा किनेको हरियो मकै रु ४० प्रतिघोगाले बिक्री हुन्छ ।

बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आएको छ । घरमै होटल व्यवसाय सञ्चालन गरेका उनले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेको हो । हाल यो पेसाप्रति सन्तुष्ट रहेको उनले बताए । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका बेला पोलेको मकै किनेर खाने गर्छन् ।

कानेपोखरी गाउँपालिका–५ बाट मकै पोल्न आउने गरेकी  ५४ वर्षीया सुस्मिता राईले छोरीको सहयोगमा विगत चार वर्षदेखि मकै पोल्दै आएकी छिन् । कानेपोखरी–५ की दुर्गा तामाङ पनि दुई वर्षदेखि सोही स्थानमा मकै पोलेर बेच्दै आएकी छिन् । दैनिक एक सय घोगा पोलेको मकै बिक्री हुने उनी बताउछिन् । जाडोमा मकै पोल्न सजिलो भएपनि गर्मीमा गाह्रो हुने उनीहरु बताउँछन् । 

यात्रुहरु र सवारी चालकले पनि यहाँ पोलेको मकै देखेपछि गाडी रोकेरै खाने गरेका छन् । “यो राजमार्गमा यात्रा गर्दा यहाँ पोलेको मकै नखाई चित्तै बुझ्दैन,” ट्रक चालक रामु चौधरीले भने, “मकै खाँदै यहाँ आराम गर्दा थकाइ पनि मेटिने, मकै पनि स्वादिलो हुने भएकाले बानी नै परिसकियो ।”

चिसाङ खोला छेउमा पोलेको मकै रुचाउने मानिसहरुको भीड लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरुको खाजा खाने नयाँ गन्तव्यका रुपमा यो ठाउँ विकास भइरहेको छ । कोभिड–१९ को महामारीदेखि यहाँ वैकल्पिक व्यवसायका रुपमा मकै पोल्न सुरु भएको हो । यहाँ २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेशा गर्दै आएका छन् ।

वन कार्यालयले पहिलेदेखि यहाँबाट मकै पोल्नेलाई हटाउन कोसिस गरिरहेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार अतिक्रमण नियन्त्रण गर्न वन क्षेत्रमा पर्ने उक्त स्थान खाली गर्न लागिएको हो । 

सर्वसाधारणको जिविका चलिरहेको यहाँबाट विस्थापित गर्न खोजिएपछि उचित व्यवस्थापनका लागि बेलबारी नगरपालिकाले बेलबारी–१० स्थित भाउन्ने चोक पुर्वपट्टि स्थायी रुपले व्यवसाय गर्ने ठाउँको व्यवस्थापन गर्ने योजना बनाएको नगरप्रमुख दिलप्रसाद राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?