जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म

एक सय दिन मनाउन सफल यी नेपाली फिल्म

काठमाडौं– निर्देशक उपेन्द्र सुब्बा र दीपाश्री निरौला ‘डेब्यू’ फिल्मका मामलामा भाग्यशाली निर्देशक हुन् । भाग्यशाली किन पनि हुन् भने यी दुई निर्देशकको डेब्यू फिल्मले नै हलमा सय दिनको उत्सव मनाउने सौभाग्य पायो ।

उपेन्द्र सुब्बाको फिल्म ‘जारी’ले राजधानीको क्युएफएक्स चेनको सिभिल मल, बिग मुभिज र एफक्यूबमा रिलिजको सय दिन पूरा गरेको थियो ।

दीपाश्रीको ‘डेब्यू’ फिल्म ‘छक्का पन्जा’ ले थिएटरमा रिलिजको एक सय २८ दिन पूरा गरेको थियो । दीपाका अनुसार फिल्मले सय दिन कटाउँदा निर्माण समूह नै छक्क परेका थिए ।

‘जारी’ र ‘छक्का पन्जा’ फिल्म हलमा सय दिन कटाउने प्रतिनिधि फिल्म हुन् ।

आफूभन्दा अग्रजले कनिष्ठलाई आशीर्वाद दिँदा प्रयोग गर्ने वाक्य हो–दीर्घजीवि भवः ।

जसको अर्थ हुन्छ, ‘लामो समयसम्म बाँच्नू, अर्थात् लामो आयु होस् ।’

जोकोही नयाँ काम शुरुवात गर्दा आफ्नो कामको आयु लामो नै होस् भन्ने चाहन्छन् । अझ फिल्मको कुरा गर्दा फिल्मका निर्माता र निर्देशक आफ्नो सिर्जना लामो समयसम्म दर्शकले हेर्न पाउन भन्ने कामनासहित फिल्म निर्माणको सुरुवात गर्छन् । यसमा कति सफल हुन्छन् त कति असफल ।

सामान्यतया कुनै पनि फिल्मको आयु रिलिजको दिनदेखि कति दिनसम्म हलमा रह्यो भन्ने कुराले निर्धारण गर्छ । कति फिल्म रिलिजको दुई दिनमै उत्रन्छन्, त कतिपय फिल्म रिलिजको सय दिन बढी समयसम्म थिएटरमै रहिरहन्छन् ।

नेपाली फिल्मको उमेर आधा शताब्दीदेखि उकालो लागिसकेको छ । यो समयावधिमा कति फिल्महरु दर्शकको मानसपटलमा रहिरहे भने कति फिल्म आए, गए उनीहरुले सम्झिएका पनि छैनन् ।

फिल्मले थिएटरमा सय दिन मनाउनु दुर्लभ अवसर नै हुन् । ५१ दिन चाहिँ प्रायः धेरै फिल्मले मनाइसकेका छन् । विगतदेखि वर्तमानसम्मको फिल्मको इतिहासलाई हेर्दा ५१ दिनका उदाहरण प्रशस्त छन् । फिल्मको विगत हेर्दा डिजिटलभन्दा सेलुलोइड प्रविधिबाट बनेका फिल्मले ५१ र १०० दिन मनाएको इतिहास लामो छ ।

५१ दिन मनाउन सफल फिल्म

फिल्म ‘दाल भात तरकारी’ काठमाडौंको गोपीकृष्ण, गुण सिनेमाज र अष्टनारायण हलमा ५१ दिनसम्म चल्यो । फिल्म ‘ए मेरो हजुर ३’ ले पनि गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमाजमा ५१ दिन मनाएको थियो । ५१ दिन मनाउने फिल्ममा ‘नाइँ नभन्नु ल २’, ‘झोला’, ‘रिदम’, ‘लुट’, ‘शायद’, ‘देउता’ लगायत पर्छन् ।

फिल्म ‘झोला’ले सन् २०१३ मा ललितपुरको ग्वार्कोस्थित गुण सिनेमाज र काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजमा ५१ औं दिन मनाएको थियो । फिल्मका निर्देशक यादव भट्टराईलाई त्यो क्षणलाई ‘अकल्पनीय’ मान्छन् ।

‘हाम्रो फिल्म यी दुई थिएटरमा ७० दिनसम्म प्रदर्शन भएको थियो । फिल्म रिलिज भएको दिनदेखि पाएको माउथ पब्लिसिटीले गर्दा फिल्मले लामो समय दर्शकको साथ पायो’, उनी भन्छन्, ‘नेपालको सती प्रथालाई चित्रण गरिएकाले पनि विशेषत महिला दर्शकलाई फिल्मले हलसम्म तान्यो ।’

सुखद् सय दिन

गत वैशाख १ गतेबाट रिलिज फिल्म ‘जारी’ले साउन ६ गते शनिबार प्रदर्शनको सय दिन मनायो । लेखक उपेन्द्र सुब्बाको निर्देशकीय डेब्यू फिल्मले क्युएफएक्स चेनको सिभिल, बिग मुभिज र एफक्यूबमा सय दिन मनाएको थियो ।

फिल्म ‘जारी’ अघि २०७५ सालमा निर्देशक प्रदीप भट्टराईको फिल्म ‘शत्रु गते’ ले चाबहिलको गोपीकृष्ण हल र ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा रिलिजको सय दिन पूरा गरेको थियो ।

लिम्बु परम्परामा आधारित फिल्म ‘जारी’मा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार फिल्म निर्माण कम्पनी बाँसुरी फिल्मस्का लागि यो पहिलो रेकर्ड हो ।

‘हामीले निर्माण गरेको कबड्डी ७४ औं दिनसम्म रिलिज भएको थियो । ‘जारी’ सफलताले हामीलाई थप जिम्मेवार बनाएको छ’, उनी भन्छन् ।

निर्देशक दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा’ थिएटरमा १ सय २८ दिनसम्म रिलिज भएको थियो । दीपाका अनुसार फिल्मले सय दिन कटाउँदा निर्माण टिम नै ‘छक्क’परेका थिए ।

निर्देशक तुलसी घिमिरेका फिल्म ‘चिनो’, ‘लाहुरे’, ‘दर्पण छायाँ’, ‘कुसुमे रुमाल’ जस्ता फिल्मले रिलिजको सय दिन पार गरेका छन् । फिल्म ‘दर्पणछायाँ’ले एकसाथ १२ वटा हलमा सय दिन मनाएको थियो ।

तुलसीको अनुभवमा फिल्मले सय दिन मनाउँदा उसबेला उत्सव नै हुन्थ्यो । ‘दर्शकसँगको भेटघाट र अन्तरक्रियाले हामीमा नयाँ उर्जा पैदा हुन्थ्यो । राम्रो कथावस्तुमा फिल्म बनाउन सकियो भने दर्शकले मन पराउँछन् भन्ने त्यो उदाहरण पनि थियो’, तुलसी सम्झन्छन् ।

निर्देशक शोभित बस्नेतका फिल्म ‘कर्णवीर’, ‘अग्नीपथ’, ‘दुर्गा’ र ‘आर्मी’ले पनि रिलिजको सय दिन मनाएको रेकर्ड छ । उनका दुई फिल्म ‘कर्णवीर’ र ‘अग्नीपथ’ले एकसाथ २५ वटा हलमा सय दिन मनाएको थियो ।

त्यस्तै निर्माता, अभिनेता तथा निर्देशक अशोक शर्माका फिल्म ‘ट्रक ड्राइभर’ र ‘अल्लारे’ले पनि सय दिन मनाए । अशोकका अनुसार त्यस समयमा वर्षमा दुईदेखि चारवटासम्म फिल्मले सय दिन मनाउँथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?