जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नाटक समीक्षा

‘बिन्ती देखाइदेऊ घर फर्किनेलाई बाटो’

सशस्त्र विद्रोहले छोडेका युद्धका डोब

काठमाडौँ– २०५८ साल फागुन १३ गते विद्यालय हिँडेकी  कञ्चनपुरकी १५ वर्षकी परलोटी चौधरी अझै घर फर्केकी छैनन् ।

आमा लक्ष्मीदेवी अझै छोरी आउने बाटो हेरिरहेकी छिन् । अर्काेतिर एक नीजि विद्यालयमा पढाउने बाग्लुङ गलकोट नरेठाँटीका ढकबहादुर बस्नेतलाई सेनाले लगेको २२ वर्ष बित्यो । श्रीमती छमकुमारी २२ वर्षदेखि श्रीमान्को खोजीमै छिन् । सशस्त्र विद्रोहको रुप शान्ति प्रक्रियामा रुपान्तरण भएको डेढ दशकभन्दा बढी भयो ।

हिजो जङ्गलमा विद्रोहको आगो सल्काएर ताप्न बोलाउनेहरु आज सत्ताका दरवारहरुमा विराजमान छन् । अनि खोइ त परलोटी अनि ढकबहादुरहरु ? सशस्त्र विद्रोहमा बेपत्ता पारिएका परिवारहरुको सवालमा जवाफ दिन सत्ताले अझै जरुरी ठानेकै छैन । फलस्वरुप सशस्त्र विद्रोहले छोडेका युद्धका डोब र घाउहरुलाई मलमपट्टी दिनलाई उही सवालहरु नै उठान गरेर कला सिर्जनाका स्वरुपहरुमा आइरहेका छन् ।

तिनै सिर्जनाका स्वरुपहरुमध्ये अहिले ‘हरि हजुरबा’ नाटकको रुपमा आएको छ ।

थापागाउँस्थित मण्डला थिएटरमा जारी नाटकले सशस्त्र विद्रोहले पारिदिएको पारिवारिक विछोड, विखण्डनसँगै युद्धको घाउलाई मुटुमा बोकी बस्ने तमाम नागरिकका हृदयविदारक अवस्थालाई जीवन्त रुपमा प्रस्तुत गरेको छ । सशस्त्र विद्रोहको नेतृत्वकर्ताहरु सत्ताको सिंहासनमा बसिसक्दा पनि तिनैले छोपी लगेकाहरु अझै घर फर्केका छैनन् । गएकाहरुलाई कुरेर बस्नेहरुले आफ्नाहरु घर फिर्ती आउने आश मारेका छैनन् ।

कुर्दाकुर्दै गाउँ रित्तो भो, घर रित्तो भो, त्यसपछि मनै रित्तो भएर कुर्नेहरुले सास छोडेर गए । ‘अझै राज्य सत्ता कति मौन बस्छौ ?’ नाटकले सशस्त्र विद्रोहका नेतृत्वकर्ताहरुलाई प्रश्न चिन्ह खडा गरेको छ ।

नाटकमा परलोटी जस्तै: कोपिला बेपत्ता छिन् । सशस्त्र जनयुद्धकै ताका प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी कोपिलालाई विद्रोहको विगुल फुक्ने नाममा जङ्गल लगियो । वृद्ध हजुरबाको हारगुहार, विलौना केही चलेन । हजुरबा एक्लै परे । उनको भागमा केवल नातिनीको सम्झना, रातो स्विटर, रित्तो गाउँ र उही झुप्रो घर मात्र रहे ।

सशस्त्र विद्रोहकै टोलीले हरिलाई जङ्गल पुर्‍याए । यद्यपि उनी घरसम्म आउन सफल भए । तर घर रित्तो थियो । घरको पिँढीमा उही बा बासुको कोट र आमाको धागो झुण्डिएको थियो । हुलाकी बासुलाई जङ्गलमा चिठी पुर्‍याएकै निहुमा खाँदाखाँदैको भात छुट्टाएर ढकबहादुरलाई जसरी नै सल्लाह गर्न चोकतिर लगियो । उनलाई खोज्दै आमा उतै लागिन् । त्यसपछि दुवै चोकतिरै बेपत्ता भए । त्यसपछि हरि पनि एक्लो भए । यता हजुरबा, उता हरि दुवै आफ्नैहरुको पर्खाइमै भए ।

हजुरबाले नातिनी कोपिला र हरिले बाआमा गुमाएको वियोगलाई खेपेको उस्ताउस्तै पीडाहरु बोकेका यी दुई पात्रहरुको भोगाइहरुकै क्रममा भेट हुन्छ । चिठी पुर्‍याउन विकासपुर हिँडेका हरि र नातिनी पर्खिबसेका हजुरबाबिचको भेटपछिको आत्मियता, प्रेम र फेरि बिछोडकै कथासम्म पुगेर नाटकले बिट मारेको छ । आफ्नो बाको अधुरै हुलाकी जागीरलाई पूरा गर्न हुलाकी बनेका हरिको पुकार छ,

‘ए जङ्गल फिर्दा दे हजुरबाको नातिनी

ए चोक फिर्दा दे मेरा बाआमा !’

हजुरबाकी नातिनी, हरिका बाआमा जस्तैः थुप्रै जङ्गल र चोकहरुमा हराए । हराएकाहरु तिनै थिए, जो आम नागरिकका रुपमा थिए । नाटकले भनेजस्तै, ‘मान्छे जङ्गलले लगे नि चोकले लगेनि चेप्टिनीहरु त हामी नै रहेछौं ।’ जो बेपत्ता भए, जो हराएकाहरुको सूचीमा छन्, ति सबै आम जनता छन्, भने आएकाहरु सत्तामा उदाएका छन् । तिनै सत्तामा उदाएकाहरुप्रति नाटकले बुलन्द स्वरमा बोलेको छ,

‘मेरो हराएको बोली फिर्दा दे

मेरो हराएको छोरी फिर्दा दे !’ 

हुन त सशस्त्र जनयुद्ध यो समयका लागि इतिहास बनिसकेको छ र यो बनिरहनेछ । यसले लामो समयक्रम फड्को मारेर अगाडि बढिसकेको छ । र पनि यसको त्रासदी र यसका बाछिटाहरुले अझै छोडिसकेको छैन । युद्धका घाउ बोकेर बस्नेहरुको पीडालाई नियाल्ने हो भने नाटकले उठान गरेको विषय ताजा झै लाग्छ ।

कविता हुँदै कथा र नाटकको स्वरुपमा ल्याउन नाटकका लेखक तथा निर्देशक नाजिरले भरपुर प्रयास गरेका छन् । रङ्गमञ्चबाटै उदाएका उनी लामो समयपछि घर फर्कदा घरकाहरुलाई मात्र होइन, घरमा आउने पाहुनाहरुलाई ‘हरि हजुरबा’जस्तो स्वादिलो कोसेली बोकेर फर्केका छन् ।

कविताको स्वरुपबाट जन्मेको नाटकले कविताकै मीठो लय र शब्दहरु पछ्याएको छ । घरि युद्धको घाउ घरि हरि हजुरबाको हाँसीमजाकले दर्शकलाई बाँधिराख्छ । एक्लो हजुरबा, हजुरबाको झुप्रो घर, सेता मुकुण्डोहरु, रित्ता रुखमा एउटा पात, रातो स्विटर, कंकाल जस्ता नाटकमा प्रयुक्त सम्पूर्ण चिजबिजहरुको बिम्वले नाटकलाई ओझिलो बनाएको छ ।

नाटकका प्रयुक्त कोरस, सङ्गीतका लय र नृत्यका दृश्यहरुले सशस्त्र युद्ध, त्रासदी, त्यसका बाछिटा र भोगाइहरुलाई समेट्ने जमर्को गरिएको छ । हरि पात्रका रुपमा देखिएका नाजिर र हजुरबा पात्र विजय बराललाई नाटकका दृश्यहरुमा नियाल्दै गर्दा सायद नाट्यप्रेमीहरुको मन फुरुङ्ग हुन्छ । सिनेमा संसारको क्यानभासमा रङ्गिएका यी दुवै जना आफ्नै घर फिर्ती भएर घर नफर्केकाहरुलाई खोजेका छन् । अनि कुरिबसेकाहरु लयमा लय मिलाउँदै भनिरहेका छन्,

‘बिन्ती फिर्ता पठाइदेऊ तिमीहरुले लुकाइराखेको एक मुठी सास एक चोटी फेर्नुछ मलाई !

ए खोला ! ए पहाड ! ए ढुङ्गा ! ए माटो !

बिन्ती देखाइदेऊ घर फर्किनेलाई बाटो ।’  

मञ्चमा
विजय बराल, नाजिर हुसेन, रि ह्युल साङ्, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे, रिसु राउत ।
मञ्च परिकल्पना/शब्द/सङ्गीत/कोरियोग्राफी : नाजिर हुसेन
प्रकाश परिकल्पना/परिचालक : उमेश तामाङ
मञ्च कला निर्माण : उमेश चौधरी, प्रतीक चौधरी, सञ्जय चौधरी, रोहित चौधरी, कृष्ण राना
निर्माता : दयाहाङ राई/बुद्धि तामाङ
भेषभुषा : कुशुम बुटिक
ग्राफिक्स डिजाइनर : इँगिहोपो कोँइच सुनुवार(ममा आर्ट्स)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?