जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

धादिङमा पहिलोपटक ‘लोक सांस्कृतिक महोत्सव’ हुने, एक लाख दर्शक आउने अपेक्षा

मलेखु– मौलिक लोक संस्कृतिको प्रवर्द्धन गर्न यही माघ १० देखि २० गतेसम्म धादिङमा पहिलोपटक लोक सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।

जिल्लाको परम्परागत मौलिक लोक संस्कृतिको प्रवर्द्धन, सांस्कृतिक पहिचानको प्रवर्द्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

कलाकारहरूको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवर्द्धन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको महोत्सव मूल आयोजक समितिका संयोजक दीपक कोइरालाले बताए ।

मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमाया, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाकादेखि खैजडी भजन, नौमती र झ्याउरे गीतलगायत प्रचलित सांस्कृतिक पहिचान र प्रतिभा हेर्न पाइनेछ ।

यो महोत्सवबाट जुट्ने आर्थिक स्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङमार्फत परिचालन हुनेगरी ‘कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने लक्ष्य राखिएको उनले बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र सामुदायिक सञ्चार तथा विकास केन्द्रले आयोजना गरेको महोत्सवमा अन्तरपालिका लोक दोहोरी प्रतियोगिता प्रमुख आकर्षण बन्नेछ । मौलिक र जातिय पहिचानको झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको प्रतिष्ठानका अध्यक्ष कमला गैरेले जानकारी दिइन् ।

एक सयवटा स्टल राखिने महोत्सवबाट रु तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने आँकलन गरिएको छ ।

‘लोकसंस्कृति प्रवर्द्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारासहित महोत्सव हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?